सरकार नसुध्रिए बंगलादेश र श्रीलंकाको अवस्था जनताले ल्याउनेछन् : राप्रपा सांसद् सिंह

सरकार नसुध्रिए बंगलादेश र श्रीलंकाको अवस्था जनताले ल्याउनेछन् : राप्रपा सांसद् सिंह

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसद दीपकबहादुर सिंहले वर्तमान सरकार नसुध्रिए जनताले बंगलादेश र श्रीलंकाको अवस्था ल्याउने चेतावनी दिएका छन्।

काठमाडौंको बल्खुमा जारी प्रदर्शनको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘अहिले पनि यो सरकार सुध्रिएन भने बंगलादेश र श्रीलंकाको अवस्था जनताले ल्याउनेछ,’ उनले भने, ‘देश बचाउनका लागि जनतालाई यहीँ रोजगारी दिनका लागि राजाबाहेक अरु विकल्प छैन।’

उनले गत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा पकाउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई नि:शर्त रिहा गर्न माग गर्दै उनले त्यसो नगरिए महंगो मूल्य चुकाउनुपर्ने समेत चेतावनी दिए।

‘डा. धवलशमशेर राणा र रवीन्द्र मिश्र जो बेलायतमा पत्रकारिता गर्ने मान्छे उनी आज आतंक गर्ने मान्छे हुन्?,’ सिंहले प्रश्न गरे, ‘यी विद्धान मान्छेलाई उग्र बनाएको तपाईंहरूले हो। नि:शर्त छाड्नुपर्छ।’

चैत २६, २०८१ मंगलबार १४:११:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।