हिरो बन्ने दुर्गेशको हुटहुटी

हिरो बन्ने दुर्गेशको हुटहुटी

काठमाडौं : नेपाली सांगीतिक क्षेत्र र चलचित्र क्षेत्र एकअर्काका परिपूरक हुन्। कतिपय फिल्ममा अभिनय गर्ने कलाकारहरु गाउने रहर गर्छन् भने कतिपय गायक गायिकाले कलाकारितामा रुचि देखिन्छ।

नायिका स्वस्तिमा खड्काले पनि ‘दिमाग खराब’ फिल्मको ‘हितैको माया’ बोलको गीतबाट आफ्नो गाउने रहर पूरा गरिन् भने गायक उदित नारायण झा, यश कुमार, बाबु बोगटी, सत्यराज आचार्य लगायतका गायकहरूले चलचित्रमा हिरो भएर अभिनय गरे।

गायकबाटै उदाएर फिल्ममा अभिनय गरेका अर्का कलाकार हुन्, प्रकाश सपुत। उनकै लेखन तथा निर्देशनमा बनेको फिल्म ‘वसन्त’ अहिले प्रदर्शनमा छ।

गायकहरु नायक बन्ने क्रम चलिरहँदा पछिल्लो समय चर्चामा रहेका गायक दुर्गेश थापाले पनि हिरो बन्ने रहर गरेका छन्। फिल्म ‘कर्मा’को गीत रिलिज कार्यक्रममा उनले आफ्नो हिरो बन्ने चाहनाबारे बताउँदै आफ्नो सफलताको चुचुरो नै हिरो बन्नु रहेको बताए।

‘खास चाहीँ यहाँ मोडल, सिङ्गर बन्दा बन्दै चुचुरोमा पुग्ने भनेको नै हिरो हो। हिरो भनेर चिनिन मन छ, जसलाई पनि हुन्छ,’ उनले विपिन कार्कीतर्फ हेर्दै भने, ‘उहाँ पनि त्यही भनेर आउनु भएको हो। हिरो चाहिँ बन्नैपर्छ।’

आफूले सोचेजस्तो स्क्रिप्ट पाएको खण्डमा सिनेमाको हिरो भएर काम गर्न तयार भएको उनले बताए। तर कस्तो स्क्रिप्ट उनले ‘सोचेजस्तो’ हो भन्नेबारे चाहिँ खुलाउन सकेनन्।
 

चैत २६, २०८१ मंगलबार १३:११:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।