‘कमेडी नाइट वीथ च्याम्पियन’लाई दर्शकको मिश्रित प्रतिक्रिया, भने- ‘कमेडी दरबारभन्दा कमजोर’

‘कमेडी नाइट वीथ च्याम्पियन’लाई दर्शकको मिश्रित प्रतिक्रिया, भने- ‘कमेडी दरबारभन्दा कमजोर’

काठमाडौं : लामो समयको प्रतिक्षापछि आएको विशाल भण्डारी निर्देशित कमेडी रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन’को पहिलो एपिसोडबारे दर्शकको मिश्रित प्रतिक्रिया आएको छ।

डेढ वर्षपछि मंसिरबाट नै प्रसारण हुने भनिएको शो चैतको पनि दोस्रो सातामा मात्र प्रसारण भयो। लामै समय होल्ड गर्नु परेकाले पनि हुनसक्छ दर्शकलाई कार्यक्रमबाट धेरै नै अपेक्षा हुनुपर्छ। सायद, त्यही अपेक्षा पूरा गर्न नसकेर होला केही दर्शकले कार्यक्रमलाई आलोचना गरेका छन्।

दर्शकले युट्युबको कमेन्ट बक्समा अर्को रियालिटी शो ‘कमेडी दरबार’को तुलनामा ‘कमेडी नाइट विथ च्याम्पियन’ निकै कमजोर बनेको प्रतिक्रिया दिएका छन्।

त्यति मात्र होइन, कार्यक्रममा कमेन्ट गरेकी अर्की प्रयोगकर्ता रञ्जु क्षेत्रीले कहाँनेर हास्ने हो भन्ने कुरा आफुले पत्तो नपाएको उल्लेख गरेकी छन्। उनी लेख्छिन्, ‘कमेडी दरबार हेर्ने बानी परेको हुनाले होला यो कार्यक्रम निकै खल्लो लाग्यो। कहाँनिर मन खोलेर हाँस्ने थाहा नै पाइएन।’

उनको यो भनाइलाई समर्थन गर्दै २ सय २६ जनाले समर्थन जनाएका छन् भने २० जनाले जवाफ फर्काएका छन्।

त्यस्तैगरि अर्का प्रयोगकर्ता सुरेशले यो एपिसोड हेर्दा निन्द्रा लागेको भन्दै लेख्छन्, ‘ सबै कलाकार उत्कृष्ट नै छन् तर सत्य भन्नू पर्दा,कसम हेर्दा हेर्दै निन्द्रा लाग्यो। जति सोचेको थिए त्यति मज्जा आएन।’

उनको यो कमेन्टमा ४ सय ९३ जनाले समर्थन जनाएका छन् भने २१ जनाले कमेन्ट गरेका छन्।

रञ्जु, सुरेश मात्र होइन अर्का दर्शक खड्क नेपालीले सबै कलाकार क्षमतावान भए पनि विगतको तुलनामा कार्यक्रम कमजोर बनेको प्रतिक्रिया दिएका छन्।

उनले लेखेका छन्, ‘सबै कलाकारहरु क्षमतावान् हुनुहुन्छ। तर पात्र उही, शैली उही, विषयवस्तु पनि लगभग उही। विगतका सिजनमा भन्दा पनि खल्लो लाग्यो। कमेडी दरबार हेरिरहेको भएर हो कि यहाँ हाँसोभन्दा गन्थन गरेको जस्तो महसुस भयो। आउँदा एपिसोडहरूमा राम्रो होला शुभकामना छ।’

यसमा २१ जनाले समर्थन जनाएका छन्। यो समाचार तयार पार्दासम्म ३ हजार ९ सय २० जनाको कमेन्टमा अधिकांशले च्याम्पियनको प्रस्तुति मन नपरेको प्रतिक्रिया दिएका छन् भने कमेडी दरबारसँग तुलना गरेका छन्।

‘कमेडी नाइट विथ च्याम्पियन’मा पुरानै कलाकार छन्। अध्यक्षमा दीपाश्री निरौला रहँदा कमेडियनहरूमा भरतमणि पौडेल, सुमन कार्की, सुमन कोइराला, सजन श्रेष्ठ, मेक्सम गौडेल, सन्तोष थापा, कैलाश कार्की छन्।

कार्यक्रमको पहिलो एपिसोडमा दीपकराज गिरी र जितु नेपाल अतिथिको रूपमा पुगेका छन्। जितुले हाँसेको जस्तो गरे पनि दीपक खुलेर हाँस्न सकेनन्। यद्यपि मेक्सम र सुमनको बुढेलकालको गफले दर्शकको मुड केही फ्रेस गराएको थियो।

चैत २६, २०८१ मंगलबार १०:५८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।