काठमाडौंका तीन ठाउँमा प्रदर्शन, सहजताका लागि यी रुट प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह

काठमाडौं : काठमाडौंमा आज हुने छुट्टाछुट्टै प्रदर्शनका कारण ट्राफिक व्यवस्थापनमा समस्या हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।
आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बल्खुमा गर्ने सभामा विभिन्न ठाउँबाट र्याली निकाल्दैछ भने शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन आज पनि जारी रहनेछ। यसका साथै सहकारी पीडितहरूकाे प्रदर्शन पनि आजै छ।
बल्खुमा हुने राप्रपाको प्रदर्शनलाई ध्यान दिँदै ट्राफिक प्रहरीले विभिन्न ट्राफिक डाइभर्सन गर्ने भएको छ। प्रहरीले खसीबजार-मकालु-कलङ्की चोक-बाफलमा डाइभसर्नको एउटा रुट तय गरिएको छ। यस्तै बल्खु चोक-कुलेश्वर-कालिमाटी चोक हुँदै टेकुमा अर्को डाइभर्सन मिलाइएको प्रहरीले जनाएको छ।
कीर्तिपुर-सुन्दरीघाट-सानेपा हुँदै एकान्तकुनामा अर्को डाइभर्सन तोकिएको छ भने त्रिवि गेटदेखि चोभार सडक, सानेपा करिडोर सडक (दुवैतर्फ) र चोभार सुक्खा बन्दरगाहमा पार्किङको व्यवस्था मिलाइएको छ।
नयाँबसपार्क र सीतापाइला-बाफल सडकखण्डमा एक लाइन पार्किङको व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ।
त्यस्तै नेपाल शिक्षक महासङ्घले माइतीघर मण्डलामा भेला भइ बानेश्वर र माइतीघर सडक खण्डको बीचमा तथा सहकारी र लघुवित्त पीडितले शान्तिबाटिकामा कार्यक्रम गर्ने भएकाले ती ठाउँमा पनि आवश्यकता अनुसार डाइभर्सन मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ।
चैत २६, २०८१ मंगलबार ०९:२६:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।