तीनकुने प्रतिवेदनमा जे देखियो : लाठी हान्ने प्रहरी आक्रामक, गोली हान्ने अर्ध सैनिक बल रक्षात्मक

काठमाडौँ : तीनकुनेमा राजावादी समूहबाट भएको हिंसात्मक प्रदर्शनमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरी आक्रामक र दंगा नियन्त्रणको जिम्मेवारी पाएको अर्ध सैनिक बल सशस्त्र प्रहरी रक्षात्मक देखियो। चैत १५ को प्रदर्शनबारे गृह मन्त्रालयमा पुगेको प्रतिवेदनले बल प्रयोग लगायतको चरणमा सशस्त्रले कम शक्ति प्रयोग गरेको देखिन्छ, तर प्रहरीले अधिक।
कानुनले तोकेको भिड नियन्त्रणको विधिमा पहिलो जिम्मेवार निकाय नेपाल प्रहरी हो। प्रहरीले नसकेको अवस्थामा अर्ध सैनिक बल संरचनाको सशस्त्र प्रहरी परिचालित हुनुपर्ने हो। भिड नियन्त्रणको सबै विधि पुरा गरेर प्रहरी घुँडामुनी गोली हान्ने चरणमा पुग्दा पनि नियन्त्रण नभए सशस्त्र परिचालित हुने भएकाले बल प्रयोगमा प्रहरी भन्दा सशस्त्रकै संख्या बढि हुन्छ। हतियारको प्रकार नि फरक हुनुपर्ने हो। तर त्यस्तो देखिएन तीनकुने घटनाबारे गृहमा पुगेको प्रतिवेदनमा।
प्रतिवेदनले नेपाल प्रहरीले अधिक बल प्रयोग गरेको मात्रै देखिन्न, भिडमा घातक ठूला हतियार चलाएको समेत पुष्टि गर्छ। त्यसको ठिक उल्टो सशस्त्रबाट भने ठूला हतियार अधिक प्रयोग भएको देखिन्न। प्रहरीले ठूलो हतियारसहित अधिक बल प्रयोग गर्ने तर अर्ध सैनिक बल भने लाठी र ढाला लिएर भिडमा मिसिने अनौठो दृष्य र तथ्यांक देखायो तीनकुने घटना सम्बन्धी सुरक्षा विवरणले।
तथ्यांक अनुसार कि नेपाल प्रहरीले अधिक बल प्रयोग गरेको देखिन्छ। यदि सो हदसम्मको बल प्रयोग गर्नैपर्ने अवस्था हो भने अवस्थाको मुल्यांकन र निर्णयमा सशस्त्र प्रहरी बल पूर्ण असफल देखिन्छ।
भिड नियन्त्रण सुरक्षा विधि अपनाइएन
भिड नियन्त्रणका लागि स्थानीय प्रशासनले तोकेको विधि अनुसार प्रदर्शन शान्तिपूर्ण भएको अवस्थामा सुरक्षाकर्मीको भूमिका सामान्य उपस्थिति मात्रै हो। तीनकुनेमा नियमित भइरहने प्रदर्शनमा जसरी छेउमा उभिएर हेरिरहेका हुन्छन्, विधि त्यही हो।
प्रदर्शन अनियन्त्रित भएको अवस्थामा बल्ल बल प्रयोगको चरणमा प्रवेश गर्ने हो। यसको जिम्मेवारी प्रहरीको हो। त्यसमा पहिलो चरणमा प्रदर्शनको नेतृत्वकर्तामध्येसँग संवाद गरेर अनुरोध गर्ने, माइकिङ गरेर सचेत गराउने नै हो।
यो चरणले काम नगरे वाटरक्यानन उपलब्ध भएको अवस्थामा पानीको फोहरा हान्ने, त्यसले पनि नियन्त्रणमा नआए अश्रुग्याँस प्रहार गर्ने, त्यसले पनि नियन्त्रणमा नआए हवाई फायर गरेर भिडलाई तितरबितर गराउने प्रयास गर्ने हो।
यी सबै चरणले पनि भिड नियन्त्रित नभएको अवस्थामा चेतावनी दिने अनि घुँडामुनि गोली हान्ने। यसमा प्रमुख जिल्ला अधिकारीको भुमिका महत्वपूर्ण हुन्छ। यी सबै चरणमा संलग्न हुने/हुनुपर्ने जनशक्ति नेपाल प्रहरीकै हुन्। जब नेपाल प्रहरीले यी सबै चरण पार गर्दा पनि भिड नियन्त्रणमा आउँदैन अनि कानुनी रुपमा भूमिका आउँछ सशस्त्र प्रहरीको।
जब सशस्त्र प्रहरी प्रहरीको सहयोगीबाट फिल्ड कमान्डको पहिलो घेरामा आउँछ त्यसपछि मैदान सम्हाल्ने उसैले हो। तर सशस्त्र यस्तो अवस्थामा पनि आफैँ खटिन पाउँदैन प्रहरी जसरी। यसका लागि प्रमुख जिल्ला अधिकारीको आदेश चाहिन्छ।
स्थानीय प्रशासन ऐनमा यसको पनि प्रस्ट कानुनी विधि उल्लेख छ। ऐनको दफा ६ अनुसार आफ्नो अधिकार क्षेत्रभित्रको कुनै ठाउँमा गम्भीर अशान्ति भएको छ वा हुने सम्भावना छ र सो ठाउँमा भइरहेको अशान्ति रोक्न वा अशान्ति हुन नदिन अन्य प्रहरीको मद्दतबाट मात्र सम्भव छैन भन्ने यस सम्बन्धी कारण तथा आधार खुलाई स्थानीय वा नजिकको सशस्त्र प्रहरी वा अवस्था अनुसार नेपाली सेनाको मद्दत माग्न सक्ने प्रबन्ध गरेको छ।
त्यसरी सशस्त्र प्रहरी वा नेपाली सेनाको मद्दत मागेकोमा मन्त्रालयलाई २४ घण्टाभित्र सबैभन्दा छिटो साधनद्वारा सूचना दिनु पर्ने कानुनी प्रावधानले पनि सशस्त्र प्रहरी बल नेपाल प्रहरी जस्तो दैनिक शान्ति सुरक्षा व्यवस्थापनमा खटिने फोर्स हैन भन्ने देखाउँछ नै।
जब सशस्त्र प्रहरी खटिन्छ त्यसपछि प्रहरी सहयोगीको भूमिकामा हुन्छ। कमान्ड सशस्त्रले लिन्छ। सशस्त्रले भिड नियन्त्रणका लागि प्रहरीले अपनाएको विधि अपनाउनु पर्दैन। प्रहरीले घुँडामुनि गोली हानिसकेको चरणपछि मात्र उसको भूमिका देखिने भएकाले उसले बल प्रयोग गर्दा अपनाउने विधि सिधै हतियारको प्रयोग हो।
सशस्त्रले समेत अवस्था नियन्त्रणमा लिन नसकेको अवस्थामा सेना परिचालनको चरणमा प्रवेश गर्छ। जब सेना परिचालन हुन्छ सशस्त्रको कमान्ड समेत स्वतः सेनामा सर्छ। तीन सङ्गठनका सदस्य परिचालन र चेनअफ कमान्डको कानुनी विधि यही नै हो।
कानुनले तोकेको शान्ति सुरक्षा कायम गर्ने यही विधिलाई अब चैत १५ गते तीनकुनेमा भएको विरोध प्रदर्शन, त्यसले लिएको हिंसात्मक स्वरूप र त्यसलाई नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट भएको बल प्रयोगको ‘सरकारी विवरण’सँग दाँज्ने हो भने प्रहरीबाट अत्याधिक बल प्रयोग भएको पुष्टि हुन्छ।
यसको पुष्टि गर्ने सबैभन्दा महत्त्वपूर्ण तथ्य चैत १५ का दिनमा के-के भयो भनेर सुरक्षा संगठनले तयार पारेको विवरण नै हो। यस्तो विवरण सम्बन्धित जिल्ला प्रहरी कार्यालयले तयार पार्छ र माथिल्लो निकायमा पठाउँछ। माथिल्लो निकायबाट गृह मन्त्रालय पुग्छ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंले उपत्यका प्रहरी कार्यालय हुँदै प्रहरी प्रधान कार्यालय र प्रहरी प्रधान कार्यालयबाट गृह मन्त्रालयमा पुगेको सो विवरणमा बल प्रयोगको प्रवृत्ति र प्रकृतिमा चुक भएको प्रस्ट देखिन्छ। योबारे प्रहरी महानिरीक्षक दीपक थापा अनि गृहमन्त्री रमेश लेखक दुवै जानकार भए पनि संसदीय समिति र सार्वजनिक मञ्चहरूमा उनीहरूले सो तथ्य लुकाइरहेका छन्।
गृह स्रोतबाट उकेराले पाएको विवरणमा प्रहरीबाट तीनकुने क्षेत्रमा प्रयोग भएको बलको अवस्था हेर्ने हो भने सशस्त्रले नेपाल प्रहरीले गर्नुपर्ने काम गरेको अनि प्रहरीले सशस्त्रले गर्नुपर्ने काम गरेको प्रस्ट देखिन्छ। विवरणमा उल्लेख भएका तथ्याङ्कले सशस्त्रले कम हतियार चलाएको देखिन्छ, प्रहरीले अत्याधिक।
तीनकुनेमा सो दिन दुवै सुरक्षा संगठनबाट लाइभ राउन्ड, कार्टिज, रबर छर्रा र पेस्तोलबाट २ सय ८७ राउन्ड गोली चलेको देखिन्छ। यो विवरण पहिलो पटक हिमालखबरले सार्वजनिक गरेको थियो। उकेराले स्रोतमार्फत पाएको विवरणमा पनि सोही संख्या उल्लेख छ।
सो विवरण अनुसार प्रहरीतर्फ २०१ रबर छर्रा, ८१ वटा लाइभ राउन्ड, ३ कार्टिज र दुई राउन्ड पेस्तोलको गोली खर्च भएको उल्लेख छ। खर्च भएको अर्थ प्रहार भएको नै हो। अश्रुग्याँसको संख्या त अकल्पनीय नै छ। तीनकुनेमा प्रहरीले ८ सय ८६ सेल अश्रुग्याँस प्रहार गरेको देखिन्छ। यो भनेको कति होला?
उकेराले एक जानकार प्रहरी अधिकृतसँग जिज्ञासा राख्दा उनले भने ‘एक मिनी ट्रक’। सम्भवतः ६२/०६३ को आन्दोलनमा पनि प्रहरीले एकै ठाउँमा यति धेरै सङ्ख्यामा अश्रुग्याँस नहानेको उनको दाबी छ।
गृहमा पुगेको विवरण अनुसार त्यो दिन तीनकुने क्षेत्रमा एससएपी प्रमुख हुने जिल्लादेखि प्रहरी निरीक्षक प्रमुख हुने प्रभागसम्मको गरेर प्रहरीबाट २० वटा टोली खटिएको देखिन्छ। त्यसमा नगर प्रहरी कार्यालयसँगै प्रहरी प्रधान कार्यालय मातहतको एक नम्बर र दुई नम्बर गणको जनशक्ति समेत परिचालित छन्।
एक नम्बर र दुई नम्बर गण भनेको विशेष प्रकृतिको अवस्थामा शान्ति सुरक्षाका लागि खटिने प्रहरी जनशक्ति हो। यसमा उच्च तालिम प्राप्त स्पेसल टाक्स फोर्सको जनशक्ति समेत हुन्छन् जो अत्याधुनिक हतियार चलाउन पोख्न हुन्छन्। तर तीनकुनेमा गोली चलाएको युनिटमा यी दुवै गणको जनशक्ति संलग्न देखिन्नन्। यसमा देखियो नगर प्रहरी कार्यालय।
काठमाडौँ उपत्यकाको शान्ति सुरक्षा कायम गर्न यसका जनशक्ति परिचालन गरिन्छ। विवरण अनुसार तीनकुनेमा नगर प्रहरीको जनशक्तिले एसएलआरबाट ५१ राउन्ड गोली चलाए। एक सय ४६ राउन्ड रबरको छर्रा र ३ सय ४६ सेल अश्रुग्याँस प्रहार गरेका थिए।
गोली चलाउने अर्को जनशक्ति देखियो जिल्ला प्रहरी परिसर काठमाडौँ र मालीगाउँ वृत्तको प्रहरीले। उनीहरूले एसएलआरबाट १४-१४ राउन्ड गोली हानेको देखियो। सर्टगनबाट बानेश्वर वृत्तले तीन राउन्ड गोली हानेको देखिन्छ।
अर्को आधुनिक हतियार इन्सासबाट समेत गोली चलेको देखियो। कतै एक नम्बर वा दुई नम्बर गणको जनशक्तिले हान्यो कि भनेर विवरण हेर्दा त्यो त वृत्तको जनशक्तिले हानेको देखियो।
प्रदर्शनस्थलमा खटिएको बौद्ध वृत्तको जनशक्तिले इन्सासबाट ६ राउन्ड गोली हानेका थिए। पेस्तोलबाट दुई राउन्ड गोली कसले हान्यो? त्यो गृहमा पुगेको विवरणमा पनि उल्लेख छैन।
अश्रुग्याँस प्राय सबै प्रहरी युनिटका जनशक्तिले हानेको देखियो। नगर प्रहरीपछि प्रदर्शनस्थल कार्यक्षेत्र रहेको बानेश्वर वृत्तले एक सय ६१ सेल अश्रुग्याँस हानेको विवरणमा उल्लेख छ।
अब सशस्त्रको विवरण हेरौँ।
सशस्त्रको विवरण हेर्दा न्यूनतम् बल प्रयोग भएको देखिन्छ। सशस्त्रको तर्फबाट ७.६२ एमएमको १८ राउन्ड गोली चलेको छ। ब्ल्याक राउन्ड जम्मा ७ मात्र प्रयोग भएको छ।
सशस्त्र अर्ध सैनिक बल संरचनाको संगठन भएकाले लाठी चार्ज गर्ने वा अश्रुग्याँस प्रहार गर्ने प्रकृतिको बल प्रयोगमा उसको संलग्नता नहुनुपर्ने हो। तर उसले पनि एक सय सात सेल अश्रुग्याँस भने हानेको छ।
घाइतेमा सशस्त्रका गम्भीर
सशस्त्रको एक महिला प्रहरीमाथि प्रदर्शनकारीले ज्यानै लिने गरी भइरहेको आक्रमणको भिडियो भाइरल छ अहिले। सो भिडियोमा अन्य प्रहरीले ढालाले सुरक्षाको प्रयास गरिरहेका छन्। एक सशस्त्र महिला प्रहरी थचक्क बसेर ‘मलाई बचाउ’ भन्दै हारगुहार गरिरहेकी छिन्।
यसरी नै प्रदर्शनकारीबाट भएको ढुंगा प्रहारका कारण प्रदर्शनस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैको जनशक्ति घाइते भए। घाइतेको सङ्ख्यामा प्रहरीको बढी छन्। तर चोटपटकको प्रकार हेर्ने हो भने सशस्त्रका गम्भीर घाइते भएका छन्।
गृहमा पुगेको विवरण अनुसार प्रहरीतर्फ ५५ जना घाइते भए। जसमा हात,खुट्टादेखि अण्ड कोषमा चोट लागेकोसम्म उल्लेख छ।
उता सशस्त्रमा २५ जना घाइते भए। घाइतेको विवरणमा एक जनाको हात भाँचिएको छ। अर्को एक जनाको नाकको हड्डी भाँचिएको लगायत उल्लेख छ। बाँकी सामान्य चोटपटक लागेको देखिन्छ।
अधिक गोली तर कम्मर मुनी
प्रहरीबाट प्रहार भएको गोलीको सङ्ख्याले तीनकुनेमा मानवीय क्षति र घाइते संख्या उच्च हुने देखाउँछ। तर संख्या कम छन्। त्यसको कारण देखियो गोली लागेको स्थान।
स्थानीय प्रशासन कानुनले घुँडामुनि गोली हान्ने भनेको छ। गोली लागेका घाइतेहरूको अवस्था हेर्दा कम्मर मुनी धेरैलाई गोली लागेको छ। कम्मरमाथि जो जसलाई गोली लागेको छ उनीहरूको हात अनि पेटमा गोली लागेकाले घाइते भए पनि ज्यान भने जोगियो।
तीनकुने प्रदर्शनमा गोली लागेर एक जनाको ज्यान गयो। २० जना घाइते भए। पोस्टमार्टम रिपोर्टमा गोली लागेका व्यक्तिको मृत्युको कारण दाहिने कुमबाट छिरेर कोख हुँदै देब्रे छातीबाट निस्किएको देखियो। प्रहरी विवरणमा उनलाई कुन स्थानमा गोली लागेको भन्ने खुलाइएको छैन।
उकेराले घाइतेहरू उपचाररत अस्पताल गएर उनीहरूको अवस्थाबारे विशेष रिपोर्टिङ गरेको थियो। त्यसमा खुलेको चोटको प्रकार र गृहमा पुगेको घाइतेको विवरण मिल्छन्।
घाइतेहरूलाई दाहिने खुट्टाको पैतालामा गोली, बायाँ हात, दाहिने खुट्टाको घुँडामुनि, देब्रे गाला र देब्रे कानमा गोली, पेटको छेउमा, हातमा, बायाँ तिघ्रामा, दाहिने खुट्टाको नली हड्डीमा छर्रा लागेको देखिएको थियो। विवरणमा पनि त्यही छ।
अन्यमा देब्रे खुट्टाको पिँडुला, पुट्ठा, घुँडा, तिघ्रा, कुम र पाखुरा, मेरुदण्डमा गोली लागेको देखिन्छ। यसले अत्याधिक गोली चले पनि गोली चलाउँदा प्रहरीबाट संयमता अपनाएको भने देखिन्छ। जसले मानवीय क्षति धेरै भएन।
जडीबुटी क्षेत्रमा अत्याधिक गोली
उकेराले गृहबाट पाएको विवरणमा उल्लेख भए अनुसार पहिलो गोली दुई बजे रोयल व्याङक्वेट अगाडि चलेको थियो। त्यो रबर बुलेट २५ वर्षका सुमन गुरुङलाई लाग्यो। गोलीको पोजिशन टाउको नै देखियो। तर उनी भाग्यमानी देखिए। गोलीले उनको कान हुँदै गालामा चोट लाग्यो।
अन्तिम गोली पाँच बजे चल्यो कोटेश्वरको भाटभटेनी अगाडि। गोली लाग्यो रेविका खत्रीलाई। उनको दायाँ तिघ्रामा छर्रा लागेको थियो। उनी गम्भीर घाइते भइन्। सँगै रहेका उनको दाइ पनि घाइते भए।
अधिकांश गोली जडीबुटी क्षेत्रमा चलेको देखिन्छ जहाँ प्रदर्शनकारीले जडीबुटी प्रशोधन प्रालिको कार्यालयमा विध्वंस मच्चाएका थिए। अन्यमा लुटपाट भएको भाटभटेनी क्षेत्र, र कोटेश्वर क्षेत्र देखिन्छ। प्रदर्शनकारी र प्रहरीबीच झडप भएको तीनकुनेबाट बानेश्वर आउने क्षेत्र र घर आगलागी भएको क्षेत्रमा गोली चलेको देखिएन।
गोली चलेका अन्य स्थानहरूमा तीनकुने चोक, तीनकुनेबाट कोटेश्वर जाने बाटो, कोटेश्वरबाट भाटभटेनी जाने बाटो, जडीबुटी, सन्चो कार्यालय अगाडि, तीनकुनेमा आयोजकको मञ्च पछाडि, सिनामंगल नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालय अगाडि, जडिबुटीको पुल रहेका छन्।
लाठी बोक्ने हातमा बन्दुक, बन्दुक बोक्ने हातमा लाठी
प्रहरी नाम राखिए पनि सशस्त्र अर्ध सैनिक बल संरचनाको संगठन हो। कानुनले यसलाई सामान्य शान्ति सुरक्षामा खटाउने अनुमति दिन्न। तर अहिले यसको परिचालनको शैली नेपाल प्रहरीको भन्दा भिन्न देखिन्न।
यो ब्यारेक पद्धतिको संगठन भएकाले यसको परिचालनको न्यूनतम् विन्दु पनि दंगा नियन्त्रण हो। सशस्त्र प्रहरी ऐन अनुसार कहिँकतै सशस्त्र सङ्घर्ष भएमा, पृथकतावादी गतिविधि भएमा, आतङ्ककारी गतिविधि भएमा, दंगा हुनसक्ने वा भएमा, दैवीप्रकोप वा महामारी, अपहरण, सीमा सुरक्षा, व्यक्ति वा संस्थाको सुरक्षा यसको जिम्मेवारी हो।
यसको सङ्गठनात्मक संरचना, पदीय नामकरण सबै नेपाल प्रहरीबाट कपिपेस्ट गरियो नै। ऐनमा ‘नेपाल सरकारले समय समयमा तोके बमोजिम काम गर्ने’ भन्ने बुँदामा टेकेर अहिले यसका सदस्यहरूलाई सामान्य शान्ति सुरक्षा कायम गर्ने प्रहरी संगठन जस्तै गरी हातमा लाठी बोकाएर सडकमा खटाइन्छ।
जसले गर्दा कुनै पनि गतिविधि नियन्त्रणमा प्रहरी खटिनु र सशस्त्र प्रहरी खटिनुबीच भिन्नता नै देखिन्न। सशस्त्र प्रहरीको कार्यशैली अर्ध सैनिकबाट पुरै अर्ध प्रहरी बनिसक्यो। अपराध अनुसन्धानको जिम्मा पायो भने यो पुरै प्रहरी संगठनै बन्छ। अनि यसको नेतृत्व पनि अर्ध सैनिक संरचनामा बस्नुभन्दा प्रहरी जस्तै हुनुमै रमाइरहेका देखिन्छन्।
चैत २५, २०८१ सोमबार १७:३८:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।