निलम ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी

निलम ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी

काठमाडौं : अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन्।

महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि नेतृत्वविहीन बनेको राष्ट्र बैंकका काम कारबाही नियमित गर्न अर्थमन्त्री पौडेलले उनलाई जिम्मेवारी दिएका हुन्। ढुंगाना हालसम्म राष्ट्र बैंकको नीतिगत तथा नियामकीय पक्षमा सक्रिय रहँदै आइरहेकी छिन्।

राष्ट्र बैंकको गभर्नरका लागि भनेर सरकारले उमेर हदसमेत हटाइसकेपछि गभर्नर नियुक्तिको प्रक्रिया झनै पेचिलो बनेको छ।

राष्ट्र बैंक ऐनअनुसार बाहलवाला गभर्नरको पद सकिनुभन्दा १ महिनाअघि नै भावी गभर्नर नियुक्ति गर्नुपर्ने भए पनि यो व्यवस्था कागजमा मात्रै सीमित भएको छ। निवर्तमान गभर्नरको कार्यकाल सकिंदा पनि सरकारले नयाँ गभर्नर नियुक्ति गर्न सकेको छैन।

चैत २५, २०८१ सोमबार १३:५६:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।