साउदी अरेबियाद्वारा भारत र पाकिस्तानसहित १४ देशका नागरिकका लागि भिसा प्रतिबन्ध

एजेन्सी : साउदी अरेबियाले भारत, पाकिस्तान र बंगलादेशसहित १४ देशका लागि भिसा प्रतिबन्ध लगाएको छ।
साउदीले उमराह भिसा, व्यापार भ्रमण भिसा र पारिवारिक भ्रमण भिसालाई यी देशहरूमा अस्थायी रूपमा प्रतिबन्ध लगाएको हो।
यो प्रतिबन्ध यस वर्ष जुनको मध्यसम्म जारी रहनेछन्, जुन समय हज यात्रा समाप्त हुन्छ।
साउदी सरकारको यो कदम २०२४ मा हजको समयमा १००० भन्दा बढीको मृत्यु भएको दुखद घटनापछि उठाइएको हो।
त्यो समय धेरै अनधिकृत तीर्थयात्री साउदी प्रवेश गरेका थिए भने भीड र चर्को गर्मीले अवस्था झनै खराब थियो। चर्को घाममा हिँड्न बाध्य भएपछि उनीहरूको मृत्यु भएको थियो।
साउदी सरकार अब हजमा राम्ररी दर्ता भएका तीर्थयात्रीहरू मात्र सहभागी हुने कुरा सुनिश्चित गरेर सुरक्षा सुनिश्चित गर्न चाहन्छ।
साउदी अधिकारीहरूले भिसा निलम्बन गर्नुको उद्देश्य दर्ता नभएका व्यक्तिहरूलाई हज यात्रामा भाग लिनबाट रोक्नु रहेको बताएका छन्।
धेरै जना उमरा वा भ्रमण भिसामा साउदी अरेबिया प्रवेश गर्छन् र त्यसपछि उचित दर्ता बिना हज गर्न अवैध रूपमा देशमा बस्छन्। यो दुरुपयोग रोक्न साउदी सरकारले भिसा नियमहरू कडा बनाउने निर्णय गरेको छ।
युवराज मोहम्मद सलमान (एमबीएस)ले अधिकारीहरूलाई यी नियमहरू कडाइका साथ लागू गर्न निर्देशन दिएका छन्। नयाँ निर्देशिका अनुसार उमरा भिसा अप्रिल १३ सम्म मात्र जारी गरिनेछ।
त्यसपछि हज समाप्त नभएसम्म नयाँ उमरा भिसा दिइने छैन। भिसा निलम्बनको दायरामा रहेका देशहरूमा भारत, पाकिस्तान, बंगलादेशसहित अल्जेरिया, इजिप्ट, इथियोपिया रहेका छन्।
यसका अलावा इन्डोनेसिया, इराक, जोर्डन, नाइजेरिया, सुडान, ट्युनिसिया, यमन र मोरक्को रहेका छन्।
चैत २५, २०८१ सोमबार १३:०१:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।