देउडासँगै व्यापार : पञ्चपुरी हाटबजारले फेरिएको किसानको बोली- ‘पहिले कुहिन्थ्यो, अब बेचिन्छ’

देउडासँगै व्यापार : पञ्चपुरी हाटबजारले फेरिएको किसानको बोली- ‘पहिले कुहिन्थ्यो, अब बेचिन्छ’

सुर्खेत : पञ्चपुरी नगरपालिका-६ की चन्द्रा विकले आफ्नो बारीमा उत्पादन गरेको तरकारी हरेक स्थानीय हाटबजारमा बिक्री गर्न थालेको १० वर्ष भयो।

पञ्चपुरी नगरपालिका-५ स्थित बाबियाचौरमा हरेक शनिबार लाग्ने हाटबजारमा उनीले आफ्ना कृषि उपज लैजान्छिन्। त्यहाँ एक हजार रुपैयाँसम्मको उत्पादन बिक्री गर्छिन् र त्यसैले घरखर्च चलाउँछिन्।

‘बारीमा लगाएको तरकारी आफूलाई खान पनि भइहाल्छ। हरेक शनिबार एक हजारको तरकारी बेच्छु। चार शनिबार चार हजार बनाउँछु। त्यसले घरखर्च चलेको छ’, उनले भनिन्।

चन्द्राले साग, गोलभेडा, प्याज र लसुन जस्ता उत्पादनहरू हाटबजारमा बेच्दै आएकी छन्। केही वर्ष अघिसम्म घरमा खपत गरेपछि छिमेकीलाई बाँड्दै सकिने गरेकोमा अचेल स्थानीयहरू हाटबजारसम्म आफ्ना उत्पादन लगेर बेच्छन्।

आफैँ खाएर अनि छिमेकीलाई बाँड्दा पनि तरकारी बारीमै कुहिएको तीतो अनुभव छ अर्की किसान अम्बकला विकको पनि।

‘पहिला आफैँले मात्रै खाइन्थ्यो। कोही छिमेकीलाई दिइन्थ्यो त कोही बारीमै कुहिन्थ्यो,’ अम्बकला भन्छिन्, ‘आजभोलि त जे उत्पादन गरे पनि हाट बजारमै पुर्याएर बेच्छु। नाफा धेरै नभए पनि नगद हातमा आउँछ।’

चन्द्रा र अम्बकला मात्रै होइन, हरेक शनिबार पञ्चपुरी नगरपालिका-५ स्थित हाटबजार कृषकहरूका लागि सयौं कृषकलाई स्थानीय उत्पादन बेच्ने थलो बनेको छ। २० वर्षदेखि उक्त हाटबजार चलिरहेको छ। फलफूल, साग सब्जीदेखि बाख्रा, खसी बेच्ने कृषकहरू शनिबार बिहानैदेखि हाटबजारमा तैनाथ हुन्छन्।

सुर्खेत, कैलाली र अछामसम्मका व्यापारीहरू खरिद बिक्रीका लागि बाबियाचौर हाटबजारमा आउने गरेका छन्। हाटबजारकै कारण किसानले आफ्नो उत्पादन बढाएका छन् भने आफैँले तोकेको मूल्यसमेत पाएका छन्।

पञ्चपुरी नगरपालिका-४ का स्थानीय शेरबहादुर बुढा भन्छन्, ‘पहिले बजारसम्म पुर्याउन टाढा थियो। मूल्य पनि राम्रो पाइन्थेन। अहिले दुई रोपनीमा तरकारी लगाएको छु। हाटबजारले गर्दा सिधै उपभोक्तालाई नै बेच्छु।’

बजारमा स्थानीय उत्पादनको राम्रो माग भएको उनको भनाइ छ। काँक्रो, गोलभेँडा, सागसब्जी सबै सजिलै बिक्री हुँदा स्थानीय किसानको आयआर्जन पनि बढेको शेरबहादुर बताउँछन्।

‘उपभोक्ताहरू पनि ताजा र विषादी रहित तरकारी पाएपछि बाहिरको विषादी हालेको तरकारी लिँदैनन्,’ उनले भने, ‘त्यसैले अर्को पेशा गर्न परेको छैन। वार्षिक तीन लाखसम्म नाफा कमाएकै छु।’

पञ्चपुरी नगरपालिकाले स्थानीय हाटबजार व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७८ मार्फत हाट बजार चलाउँदै आएको छ। हाटबजारले स्थानीय अर्थतन्त्रलाई मजबुद बनाउनुका साथै कृषक र उपभोक्ताबीच पुलको काम गरेको पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालबीर भण्डारी बताउँछन्।

‘हाट बजारले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाइरहेको छ। हामीले स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति लिएका छौँ,’ उनले भने, ‘हाट बजारले कृषकलाई उत्पादनको उचित मूल्य दिलाउने, स्थानीय व्यापारलाई प्रवर्द्धन गर्ने र उपभोक्तालाई ताजा उत्पादन उपलब्ध गराउने अवसर सिर्जना गरेको छ।’

हाटबजार गाउँ-घरका किसानहरूलाई आफ्नो उत्पादन सिधै उपभोक्तालाई बेच्ने माध्यम बनेको उनको भनाइ छ। यसले किसान र उपभोक्ता विचौलियाको मारमा नपर्ने उनी बताउँछन्।

शनिबारी हाटबजारमा व्यापारिक गतिविधिसँगै स्थानीय कला तथा संस्कृतिको जगेर्नाका लागि देउडा खेल, ठाडी भाका लगायतका सांस्कृतिक गतिविधि समेत गरिँदै आएको छ।

चैत २५, २०८१ सोमबार १०:१७:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।