पारस्परिक करबारे फेरि बोले ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै देशहरूमा लगाइएको पारस्परिक करको हालैको घोषणा तत्कालबाट लागू हुने बताएका छन्।
यसलाई ‘सुन्दर कुरा’ भन्दै ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा लेखेका छन्, ‘चीन, युरोपेली संघ र अन्य धेरै देशहरूसँग हाम्रो ठूलो वित्तीय घाटा छ। यो समस्यालाई शुल्क मार्फत मात्र समाधान गर्न सकिन्छ। यसले अमेरिकामा अर्बौं डलर ल्याइरहेको छ।’
एक दिन मानिसहरूले पारस्परिक कर अमेरिकाको लागि एकदमै सुन्दर कुरा रहेछ भन्नेबार बुझ्ने उनको भनाइ छ।
ट्रम्पले धेरै युरोपेली र एसियाली देशहरूसँग कुरा गरेको भन्दै अब यी देशहरू अमेरिकासँग ‘सम्झौता’ गर्न चाहेको दाबी समेत गरेका छन्।
अप्रिल २ मा अमेरिकाले विश्वभरका देशहरूबाट अमेरिका आउने सामानहरूमा आयात शुल्क लगाउने घोषणा गरेको थियो। धेरै विज्ञहरू अमेरिकाको यो कदमले विश्वमा ‘व्यापार युद्ध’को जोखिम बढाएको बताएका छन्।
चैत २५, २०८१ सोमबार ०८:०४:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।