पूर्व उपराष्ट्रपतिको सुविधा लिएर सक्रिय राजनीतिमा फर्किए पासाङ

पूर्व उपराष्ट्रपतिको सुविधा लिएर सक्रिय राजनीतिमा फर्किए पासाङ
फोटो एआइबाट बनाइएको हो।

काठमाडौँ : उपराष्ट्रपति भइसकेका नन्दबहादुर पुन 'पासाङ' सक्रिय राजनीतिमा फर्कँदै माओवादी केन्द्रको उपाध्यक्षमा मनोनीत भएका छन्। विद्यादेवी भण्डारीसँगै उपराष्ट्रपति भएका पुनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्षमा मनोनीत गर्दै सक्रिय राजनीतिमा फर्काएका हुन्।

उनलाई पहिला केन्द्रीय सदस्य र स्थायी समिति सदस्यमा मनोनयन गरिएको थियो। त्यसपछि उनलाई आइतबार उपाध्यक्ष बनाइएको माओवादीका एक नेताले जानकारी दिए। यस अगाडि नै उनले पार्टीबाट आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज बनेका थिए।

माओवादी विद्रोहताका डेपुटी कमान्डर भएका उनी शान्ति प्रक्रियासँगै नेपाली सेनामा समायोजनमा नगएर राजनीतिमा लागेर २०७२ मा उपराष्ट्रपति भएका थिए।

सक्रिय राजनीतिमा रहँदा पासाङ माओवादी केन्द्रबाट सबैभन्दा कम राजनीतिक लाभ पाउने नेतामध्येका पर्छन्। उनी सांसद हुन नसकेका थोरै माओवादी नेतामध्येमा पर्छन्। उनी २०६९ सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका थिए। तर नेपाली कांग्रेसका उम्मेदवार गगन थापासँग पराजित भए।

सक्रिय राजनीतिमा रहँदा उनी विवादमा पनि तानिएनन्। तर उपराष्ट्रपतिको कार्यकालमा उनका छोराहरूका कारण उनी विवादमा तानिइरहे। मुख्य गरी दीपेश पुनका शङ्कास्पद गतिविधिले पासाङलाई विवादमा तानिइरह्यो। सुन तस्करीदेखि सहकारी ठगीसम्म जोडिए दीपेश। उनको अर्को छोरा र बुहारी समेत सुन तस्करीमा तानिए। दीपेश र उनको श्रीमती सहकारी ठगीमा तानिए।

चैत २५, २०८१ सोमबार ००:०२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।