वडाध्यक्ष सुमित्राको प्रसव पीडा र खुसी : अरु कराउँदै थिए, म त जति गाह्रो भए पनि सहेर बसेँ

सुमित्रा त्रिपाठी पाण्डे बुढानीलकण्ठ नगरपालिकाकी एक मात्र महिला वडा अध्यक्ष हुन्। वडा नम्बर ९ मा २०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित उनी यसअघि यही वडाकी वडा सदस्य थिइन्। वडा सदस्य हुँदा नै उनी तीन वर्ष कार्यवाहक वडा अध्यक्ष भइन्। यसले वडाध्यक्षमा निर्वाचित हुन सहज भएको उनको अनुभव रहेछ।
वडा सदस्य मात्र हुँदा नगरपालिकाको कार्यपालिका सदस्य थिइन् उनी। नगरपालिकाले गर्ने सम्पूर्ण तालिमको संयोजन उनैले गर्दै आएकी थिइन्। सुरुमा 'महिला' भनेर कम विश्वास गरे पनि काम गर्दै गएपछि 'म्याडम नै चाहिन्छ' भन्नेसम्मको छवि बनाउन सफल भइन्।
वडामा पनि उनी बाहेक अन्य सदस्य फरक पार्टीका छन्। पार्टी फरक हुँदा विचार र सिद्धान्त फरक भए पनि काम गर्न भने सहज भएको उनी बताउँछिन्। पारिवारिक पृष्ठभूमि राजनीति हैन उनको। उनी ०७२ सालको भूकम्पपछि राजनीतिमा लागिन्। उनै वडाध्यक्ष सुमित्राले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी सुनाइन् :
OOO
काभ्रेपलान्चोक हो मेरो घर। परिवारकै जेठो सन्तान भएकाले भाइबहिनीहरुको जिम्मेवारी लिनुपर्यो। जेठो भएर पनि होला, घरको हरेक सल्लाहमा मलाई पनि सामेल गराउनुहुन्थ्यो। मेरो सल्लाहलाई पनि प्राथमिकतामा राख्नुहुन्थ्यो घरमा। त्यै भएर एक हिसाबले नेतृत्व गर्ने बानी घरबाटै सुरू भइसकेको रहेछ मेरो।
बिहे पछि पनि ठूलै परिवारमा भित्रिएँ। श्रीमानको दाजुभाइ पाँच जना। घरमा पनि जेठी बुहारी म। घरमा पनि मेरो कुराहरू सुन्नुहुन्थ्यो। बिहे भएपछि म टोल कमिटीको पदाधिकारी भएर काम गरेँ। महिला संगठनको अध्यक्ष समेत भएँ। भूकम्पपछि डेटा कलेक्सन गर्ने प्रतिनिधिको रूपमा काम गरेँ। यसले समाजमा चिनिँदै गएँ।
०७४ को निर्वाचनमै मलाई सबैले वडा अध्यक्षमा जानुस् भनेका थिए। तर मलाई आफैँ अनुभवी जस्तो लागेन। त्यै भएर सदस्य भएँ। संयोग त्यही कार्यकालमा मैले वडा अध्यक्षको जिम्मेवारी निभाउन पाएँ।
एसएलसी पास गरे सँगै बिहेको दबाब आएको मलाई। तर मानिन। मैले गर्दा चार जना भाइबहिनीको विवाह समेत रोकेको जस्तो भएपछि स्नातक पढ्दै गर्दा मागी विवाहको लागि मन्जुरी दिएँ। मेरो र पूर्व राजाको छोरी श्रुतिको बिहे एकै दिन भएको हो। त्यही भएर गुह्येश्वरीमा आउन एकदम डिस्टर्ब भएको थियो।
घरबाट एकदम माया पाएँ। तर व्यावहारिक जिम्मेवारी पनि काँधमा आउने नै भयो। सुरुको दिनहरूमा त म निकै अलमलमा परेँ जस्तो भएको थियो। पढाइलाई अगाडि लाने कि घर व्यवहार, बच्चालाई हेर्ने भन्ने भयो। परिवार भित्रै 'परिवारको इज्जत, संस्कारी बुहारी' भन्ने जस्तो कुरा आएपछि मैले पढाइलाई धेरै माथि लान सकिनँ।
मेरो दुई जना सन्तान छन्। दुवैबीच तीन वर्षको उमेर अन्तर छ। पहिलो त बिना योजनै भयो। बिहे गरेको अर्को वर्ष नै सन्तान भइहाल्यो। त्यसपछि हामीले दोस्रो सन्तान छिट्टै नजन्माउने सल्लाह गर्यौँ।
फेरि पढाइ पनि अघि बढिरहेको थिएन। बाहिरी काममा पनि जोडिएको थिइन। अनि दोस्रो सन्तान जन्मायौँ। पहिलो सन्तानकै लागि भए पनि दोस्रो चाहिन्छ भन्ने पहिला नै सोचेका थियौँ। दश/पन्ध्र वर्ष मजाले घर परिवारलाई दिएँ।
गर्भवती भएको कुरा कसैलाई भन्नुहुन्न, लुकाउनु पर्छ भन्ने लाग्थ्यो। फेरि त्यो बेला महिनावारीकै कुरा पनि खासै गरिँदैनथ्यो। बिसन्चो हुँदा त कमजोर भएर होला भन्ने सोच्थेँ।
गर्भावस्थाको लक्षणको बारेमा समेत केही थाहा थिएन। त्यै भएर गर्भवती भएको सुरुको महिना निकै गाह्रो हुँदा पनि गर्भवती भएकाले गाह्रो भएको भन्ने दिमागमै आएन। गर्भवती भएको थाहा पाउँदा पनि खुसी हुनेभन्दा पनि यति छिटै भन्ने नै लागेको थियो।
स्नातकोत्तर त गर्नुपर्छ भन्ने थियो। त्यसले पनि अलि नमजा लागेको थियो। अब पढाई रोकिएला भन्ने लागेको थियो। परिवारमा त चाँडै सन्तान भए हुने भन्ने लागेको रहेछ। गर्भ बसेको थाहा पाएपछि उहाँहरू धेरै खुसी हुनुभएको थियो।
नानी जन्मिनु भन्दा २/४ दिन अघिसम्म पनि मेरो पेट कसैले नदेखे हुन्थ्यो भन्ने लाग्थ्यो। मेरो खासै तौल पनि बढेको थिएन। १२ गते सानो दुर्घटनामा परेँ। हेर्न आउँदा धेरैले गर्भ रहेको थाहा पाए। माघ १९ गते नानी जन्मिइन्।
श्रीमानले भ्याएसम्म मेरो स्याहार गर्न खोज्नुहुन्थ्यो। तर ठुलो परिवारमा एउटालाई मात्र हेर्ने, स्याहार्ने भन्ने कुरा अलि गाह्रो नै हुने रहेछ। बच्चा हुँदा पानी बग्छ भनेर मलाई डाक्टरले समेत भन्नु भएन। मलाई कसरी पिसाब गइराखेको छ, के भइरहेको छ भन्ने लाग्थ्यो। धन्न बच्चालाई पानीको कमी भएन।
प्रसव व्यथाको समयमा रातभर पानी बगेपछि घरमा बिहान साधारण रूपमै भान्साको कामहरू गरेको थिएँ। अनि बिहान आठ बजेतिर श्रीमानको बाइकमा बसेर बच्चा जन्माउन हिँडेको। त्यतिबेला अम्रेला कुर्था सुरुवाल, क्लोज सुज लगाएको थिएँ। सकेसम्म सहेरै बसेको थिएँ। मलाई गाह्रो भइरहेको समेत कसैलाई थाहा दिइन।
श्रीमानको गोंगबुमा काम थियो। पहिला त्यताको काम सक्काएर मात्र प्रसूति गृह गयौँ। डाक्टरले त हेर्ने बित्तिकै 'यति गाह्रो हुँदा पनि किन सहेको' भन्नुभयो। हामीले त औषधी दिएर पठाउँछ होला भन्ने सोचेका थियौँ। नानी जन्मिने मिति अझै दश दिन जति बाँकी नै थियो।
घरहरू खुलिसकेको रहेछ। त्यही बेला भर्ना गरियो। बेलुकातिर अलि बढी दुख्न थाल्यो। मध्ये रातको १ बजे नानु जन्मिएको। म सानै थिएँ। अरू कराइरहेका थिए। 'यति सानो मान्छेले खुरुखुरु बल गरिरहेको छ। तपाईँहरू कति कराउनु भएको' भनेर डाक्टरले अरूलाई भनेको सुनिरहेको थिएँ।
सानो उमेर अनि सानो ज्यानको मान्छेले साढे दुई केजीको नानुलाई जन्म दिएँ। भोलिपल्ट सासूले 'लु पौरख गरियो' भन्नुहुँदा मलाई लाज लागेको थियो। अगाडि देखिनै जति गाह्रो भए पनि सहन पर्छ, एक पटक त मरेरै फर्केको जस्तो हुन्छ भन्ने सुनेको थिएँ। त्यही भएर जति दुख्दा पनि मलाई अझै गाह्रो हुनु नै छ भन्ने लाग्थ्यो, अनि सहेरै बसिएछ।
नानुलाई देखे पछि अब बल्ल आमा भए भन्ने लागेको थियो। नत्र पेटमा हुँदासम्म मलाई खासै केही अनुभूति भएको थिएन। नानु जन्मिएपछि त मलाई एकदम आनन्द भयो। त्यो सानो अनुहार म सँग मिलेको जस्तो लागेको थियो। मलाई फेरी मेरो नानी नै होस् भन्ने लागेको थियो।
मेरो आमाले छोरीहरूलाई गरेको माया देख्दा मलाई पनि छोरी होस्, उनीहरूलाई पनि यसरी नै माया गर्छु भन्ने लाग्थ्यो। नानुलाई छातीमा टसाउँदा त निकै भावुक भएकी थिएँ।
नानु गर्भमा हुँदा कमजोरी भइराख्थ्यो। भित्रैदेखि शिथिल भएको जस्तो लाग्यो। तर कामले गर्दा त्यता ध्यान पनि भएन। कहिलेकहीँ गह्रुङ्गो सामान उठाउँदा बच्चा चलेको जस्तो हुन्थ्यो। मैले हातले सार्ने गर्थे। परिवारमा पाँच जना भन्दा बढी सन्तान जन्मिएको घर। गर्भवती हुनु ठूलो कुरै मानिएन घरमा।
दोस्रो सन्तान हुँदा उमेरले पनि परिपक्व भइयो। अनि आफूले आफ्नै स्याहार गर्न पनि पाएँ। अगाडि देखि नै हाम्रो तयारी थियो। नानु पनि सानै थिई, म नहुँदा उसलाई मेरो आवश्यकता पर्न सक्छ भनेर सबै तयारी गरेकी थिएँ। त्यै भएर पनि होला दोस्रो पटक गर्भवती हुँदा म झन् बढी स्वस्थ भएँ।
मेरो तौल पनि बढेछ। बाबु जन्मिँदा पनि ठुलै जन्मिएको थ्यो। उ गर्भमा रहँदा पनि मैले कसैलाई थाहा दिएको थिइन। कसैले महिनावारी किन भएन भनेर सोध्दा मैले मेरो गडबड हुने नै हो भन्थेँ। दोस्रोमा मलाई पहिलाकोमा भन्दा सहज भयो। गर्भावस्थामा आफ्नो ख्याल गर्नु र नगर्नुमा फरक हुने रहेछ भन्ने अनुभव भयो।
बाबुलाई पनि मैले प्राकृतिक रूपमै जन्म दिएको हुँ। सबै घरको काम सकेर हस्पिटल गएको। उ दिउँसोको एक बजेतिर जन्मिएको। त्यै भएर एउटा आमा बन्दा सबै प्रक्रिया अनुभव गरेँ। नयाँ आमाहरूलाई पनि सकेसम्म आफैँ जन्माउनुपर्ने सल्लाह दिन्छु।
दोस्रो सन्तानको समयमा छोरा/छोरी के छ हेर्ने कि भन्ने नि भएको थियो। तर अर्को छोरी भए पनि केही फरक पर्दैन, छोरा भए पनि केही फरक पर्दैन भनेर हेरेनौँ।
दोस्रो बच्चा योजना बनाएर भएकाले हामी अलि बढी उत्साहित भयौँ। बाबु जन्मिँदा उसको ब्लड समूह ओ नेगेटिभ छ भनेर थाहा पाउँदा अलिपछि केही भइहाल्यो भने गाह्रो होला भन्ने लागेको थियो।
बाबु जन्मिए पछि मलाई एकदम भोक लागेको थियो। तर सबले ‘कस्तो राम्रो, कृष्णजी जस्तो नाति’ भनिरहनुभएको थियो। श्रीमानले थुक्पा जस्तो बाहिरको खाना लिएर आउनु भएछ। मैले हेरे मात्र, खाइन। मलाई भने कसले खाना ल्याइदिन्छ भन्ने लागिरहेको थियो। भोलिपल्टदेखि मलाई स्याहार गर्नुभयो।
सुरुमा दुई जना सन्तानलाई सँगै हुर्काउन अलि गाह्रो पनि भयो। बाबु भएपछि नानुलाई कम समय दिएको जस्तो लाग्यो। उ एकदम चिटचिट हुन्थी। सबैसँग रिसाउने, रोइदिइहाल्ने। खाना फिटिक्कै खाँदैनथ्यो।
आफूले पाइरहेको माया बाँढिएको उसले अनुभव गरेछ। हामीले त उसलाई सन्चो भएन होला भन्ने मात्र सोच्यौँ। थाहा पाएपछि उसलाई बढी समय दियौँ।
तर उमेर सँगसँगै हुँदा फेरी सजिलो जस्तो पनि भयो। हरेक खेल्ने कुरा पनि नानी कै बाबुलाई पनि हुने। स्कुल र कलेज पनि सँगै पठाउन पायौँ। एउटाको लागि अलग भनेर सोच्नै परेन।
अहिले दुवैले सिभिल इन्जिनियरिङ गरेका छन्। सँगै हुर्किँदै गर्दा एउटाले अर्कोलाई पढाउने, साथी हुने पनि भयो। त्यसबेला फेरी मैले बाहिरी काम पनि गरेको थिएन। अनि उनीहरूलाई एकदम धेरै समय दिन पाएँ।
चैत २४, २०८१ आइतबार २३:०२:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।