४८ हजार तलब नपाएको भन्दै आवासीय चिकित्सक सडकमा

काठमाडौं : जोरपाटीमा रहेको नेपाल मेडिकल कलेज प्रशासनले १९ हजार मात्रै पारिश्रमिक दिएको भन्दै आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। आइतबार श्रम शोषणविरुद्ध उनीहरूले काठमाडौँको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिए।
मन्त्रीपरिषद्बाट आवासीय चिकित्सकहरूको पारिश्रमिक ४८ हजार हुने निर्णय गरिसकेको छ। तर जोरपाटीको एनएमसी कलेजले १९ हजार मात्रै दिएको भन्दै चिकित्सहरु आन्दोलनमा उत्रिएका हुन्।
आन्दोलनरत डा.राजु चौधरीले मन्त्रिपरिषद्बाट निर्णय नै भइसके पनि तोकिएको पारिश्रमिक नपाएको बताए।
‘मन्त्रिपरिषद्बाट नै पास भइसकेका कुरा अर्थात् न्यूनतम तलब ४८ हजार निजी मेडिकलहरूले लागू गरिरहेका छैनन्। त्यसैका विरुद्धमा हाम्रो शान्तिपूर्ण विरोध हो,’ उनले भने ‘अस्पतालमा बिरामीको उपचार गर्नुपर्ने ठाउँमा सडकमा आएर आफ्नो कुराहरू राख्ने परिस्थिति छ। यसले हामीलाई चिन्तित बनाएको छ। सरकारले निर्णय गरेर पठाएको कुरा पनि कार्यान्वयन नहुने भनेको सरकारले केही गर्न सक्दैन भनेजस्तो भयो। माग सम्बोधन नभएसम्म हामीले सडकमै हुनेछौँ।’
डा.अनुशासन थापाले सरकार र चिकित्सा शिक्षा आयोगबाट तलब तोकिसक्दा पनि अझैसम्म मेडिकल कलेजहरूले कार्यान्वयन गरेको बताइन्।
‘आन्दोलनको मुख्य विषय सरकार र आयोगबाट ४८ हजार तलब दिनुपर्ने भनेर निर्णय भइसक्यो। तर हामीले पाएका छैनौँ,’ उनले भने।
चैत २४, २०८१ आइतबार २०:३४:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।