वसन्त : फिल्म त बनायौ प्रकाश विना स्वादैको

वसन्त : फिल्म त बनायौ प्रकाश विना स्वादैको

रेडियो नाटक, गीति नाटक, नाटक, डकुमेन्ट्री, सर्ट फिल्म, टेलिफिल्म, फिल्म। प्रकाश सपुतको निर्देशन, कथा, लेखन अनि मुख्य अभिनय रहेको फिल्म ‘वसन्त’ लाई यी मध्ये कुन विधामा राख्ने होला?

पहिला फिल्मको कथासार र सकारात्मक पक्षतिरै लागौँ। अनि माथिको प्रश्नको उत्तर खोजौँला।

जातीय छुवाछुत र दलितका कथामा सपुतले धेरै म्युजिक भिडियो बनाएका छन्। त्यसैको निरन्तरता हो यो फिल्म। उनले समाजमा गढेको जातीय छुवाछुत, सामाजिक विभेद, लैंगिक विभेदको विपक्षमा आवाज उठाउन फिल्म ‘वसन्त’ बनाएका हुन्।

विभेदको कथा भन्न गाउँमा दुई जोडीको निर्माण गरेका छन् निर्देशकले। पहिलो जोडीमा युवा समाजले उच्च जात भनेको समूहको अनि युवती कथित दलित समुदायको। अनि अर्को जोडी ठ्याक्कै उल्टो। युवा कथित तल्लो जातको अनि युवती कथित उच्च जातको।

यी दुवै जोडी प्रेममा छन्। उनीहरू जीवनसाथी बन्न चाहन्छन्। विवाहको योजनामा छन्। अकस्मात् पहिलो जोडीले आत्महत्या गर्छन्। त्यसको आरोप लाग्छ दोस्रो जोडीका युवकमाथि। उनी प्रहरी हिरासतमा पुग्छन्।

अनि के हुन्छ? फिल्मको कथा त्यसै वरिपरि घुम्नुपर्ने हो। तर छैन। बरालिएको छ।  तै पनि यस्तै यस्तै हो फिल्मको कथा भन्नसम्म सकिन्छ।

शान्ति शर्मा अर्थात् स्वस्तिमा खड्काले एउटा पुस्तक किन्छिन् ‘समाज भर्सेस समाज’। त्यो लेखेका हुन्छन् वसन्त विक अर्थात् प्रकाश सपुतले। शान्ति पुस्तक पढ्न थाल्छिन्। फिल्मको कथा अगाडि बढ्छ। फिल्मको कथा देखाउन निर्देशकले किताब पढेर दृश्य दगुराउने यही शैली अपनाएका छन्।

वाग्लुङको एक गाउँलाई कथाको आधार क्षेत्र बनाएका छन्। त्यहीँ छन् वसन्त (प्रकाश सपुत),शान्ति शर्मा(स्वस्तिमा खड्का),प्रेम आर क्षेत्री (प्रभातपाल ठकुरी),सपना विश्वकर्मा र सत्य अर्थात् खड्ग बहादुर पुन मगर (खबपु)।

यी सबै एकै स्कुलका विद्यार्थी। अं हो क्या! विद्यार्थी नै हुन्। त्यो पनि कक्षा ९ र १० का। उनीहरूबीच प्रेम अंकुराउँछ। अब प्रेमले जातभात, धनी गरिब केही हेर्दैन भनेर लेखिरहनु त नपर्ला। तै पनि लेखि हालौँ।

यस्तै हुन्छ त्यहाँ। एकै गाउँ, एकै स्कुल। यी चार जनाबीच आपसमा प्रेम अंकुराउँछ। बिहे हुन गाह्रो छ भन्ने थाहा नभएको हैन। फिल्ममा वसन्तको अन्तर्जातीय सम्बन्ध सफल हुन सक्दैन भन्ने पक्षमा छन्। शान्ति सम्भव छ भन्ने पक्षमा। अर्थात् वसन्त आत्मसमर्पणको सोचमा छन्। शान्ति परिवर्तनको।

अर्कोतिर प्रेमआर क्षेत्री प्रेममा जात भन्ने हुन्न भन्ने पक्षमा छन्। सपना कतै विवाह सम्भव हुन्न कि भन्नेमा छिन्। जातीय आधारमा दलित समुदायका पात्र जातीय विभेदप्रति समर्पणको भावमा छन्। क्षत्री, बाहुन समुदायका पात्र परिवर्तनको पक्षमा छन्।

लैंगिक रूपमा हेर्ने हो भने एक पुरुष पात्र प्रेम अनि अर्कोतिर महिला पात्र शान्ति परिवर्तनको पक्षमा छन्। वसन्त अनि सपना समाज परिवर्तन होस् भन्ने चाहन्छन् तर संघर्ष गरिहाल्ने मनस्थितिमा छैनन्। उनीहरूबीच निर्देशक, लेखक प्रकाश सपुतले आफूलाई केन्द्रमा राखेर फिल्मको कथा अगाडि बढाउने प्रयास गर्दै मिलन अनि बिछोड पनि मिसाएका छन्।

मिलन अनि बिछोड दुवैको कारण देखाएका छन् बच्चा। वसन्त अनि शान्तिको मिलनमा पनि पेटमा भएको बच्चा नै जोडेका छन्। प्रेम अनि सपनाको बिछोडको कारण पनि पेटमा भएको बच्चा नै बनाएका छन्।

पात्रहरूको नाम राख्न लेखक प्रकाश सपुतले निकै दिमाग खियाएका छन्। जस्तो आत्महत्या गर्ने जोडीको नाम राखेका छन् प्रेम र सपना। अर्थात् असफल प्रेम। अनि आफूसहितको मूल पात्रको नाम राखिदिएका वसन्त र शान्ति।

अब फिल्मको विषय। 

स्वरूप बदलियो,  तर अझै पनि समाजमा जातीय विभेद कायम छ। हिजो कुवा र धारामा कायम विभेद अहिले कोठा र चोटामा बदलिएका मात्र हुन्। त्यसैले समाजमा कायम विभेद भत्काउन यस्ता फिल्म बन्नु र बनाउनु सकारात्मक प्रयास हो।

उनले गीत र म्युजिक भिडियोमार्फत यो प्रयास गरिरहेकै छन्। यो मानेमा फिल्ममार्फत प्रकाशले असल मनले असल कामलाई निरन्तरता दिएका छन्। र यो फिल्मको सबैभन्दा सबल पक्ष नै विभेद विरुद्धको आवाज नै हो।

निर्देशकको रूपमा सपुतले गायक सपुतको सांगीतिक चेतलाई फिल्ममा मर्न दिएका छैनन्। गीतहरू गनेर बस्न सक्ने सङ्ख्यामा त छैनन्। तर जति छन्, मीठो नै छन्।

केही कलाकारहरूको अभिनय गजब छ। त्यसमा सबैभन्दा पहिलो पङतीमा पर्छन् स्ट्याण्डअप कमेडी हुँदै अभिनयमा लागेका खबपु। वसन्तको आमाको भूमिकामा रहेकी उर्मिला लाम्गादे र सपनाको पात्रमा अभिनय गरेकी श्री शिभांसीको काम पनि राम्रो छ। प्रकाश, स्वस्तिमा लगायतका कलाकारको अभिनय मध्यम छ।

अब समीक्षाको पहिलो प्रश्नतिर फर्किऊँ है त।

रेडियो नाटक, गीति नाटक, नाटक, डकुमेन्ट्री, सर्ट फिल्म, टेलिफिल्म, फिल्म। प्रकाश सपुतको निर्देशन, कथा, लेखन अनि मुख्य अभिनय रहेको फिल्म ‘वसन्त’ लाई यी मध्ये कुन विधामा राख्ने होला?

हलमा फिल्म हेरिँरहँदाको यही प्रश्नमा मनमा आयो। हेर्न आएको फिल्म थियो तर गीति नाटक जस्तो छ। भयो चैं के? अनि यी दुई विधाको भिन्नता र समानता केलाउनतिर लागियो।

फिल्म क्यामेरा र भिजुअल इफेक्ट्सको माध्यमबाट बनाइन्छ, जबकि गीति नाटक मञ्चमा प्रस्तुति दिइने प्रदर्शनकारी कला हो। वसन्तमा यो भिजुअल माध्यम अपनाइएका छन्।

फिल्म पर्दामा प्रदर्शन गरिन्छ र एक पटक निर्माण गरिसकेपछि परिवर्तन हुँदैन। गीति नाटक भने हरेक प्रदर्शनमा अभिनय फरक हुन सक्छ। वसन्त हलमा देखाइएको छ।

गीति नाटकमा संगीत र गीत कथानक अघि बढाउने प्रमुख माध्यम हुन्छ। अधिकांश संवाद गीतमार्फत प्रस्तुत गरिन्छ। फिल्ममा संगीत आवश्यक तत्त्व भए पनि हरेक फिल्म संगीतमा आधारित हुन आवश्यक छैन। वसन्तमा टन्नै गीतहरू छन्। एकाधबाहेकले कथालाई अगाडि बढाउन सघाउँदैनन्।

फिल्म विभिन्न स्थान र समयमा छायाङ्कन गर्न सकिन्छ। गीति नाटक मञ्चको सीमामा प्रस्तुत गरिन्छ, जसमा दृश्य परिवर्तन गर्न केही सीमाहरू हुन्छन्। वसन्तको पहिलो हाफमा गीतको लोकेशन बाहेक अधिकांश सिनहरु एकै ठाउँ अनि एकै फ्रेममा घुमिरहेको देखिन्छ। दोस्रो हाफमा गाउँको ठाउँमा शहर देखिन्छ। तर फ्रेमहरु स्थिर रहन्छन्।

पछिल्लो पङ्क्तिका दर्शकले पनि देख्न र सुन्न सकून् भनेर गीति नाटकमा अभिनयको संवाद शैली अलि लाउड हुन्छन्। फिल्ममा अभिनय र संवाद सूक्ष्म र यथार्थपरक हुन्छन्। वसन्तमा मुल पात्र प्रकाश सपुत आक्रोशित छन्। लाउड छन्। तर उनको त्यो आक्रोश दृष्यभन्दा संवादमा हावी हुँदा दर्शकको मन छुँदैन।

संरचनागत आधार र फिल्मका तत्त्व हेर्दा ‘वसन्त’ फिल्म भनेर बनाइएको गीति नाटक जस्तो देखियो। यसलाई फिल्म भनेर स्विकार गर्ने हो भने निर्देशन प्रकाश सपुतले फिल्म निर्माणमा भित्र्याएको नयाँ शैली ‘गीति नाटक मूलक फिल्म’ भन्नु पर्ने हुन्छ।

किनकि यसमा दृश्य भाषा एकदम सुस्त छ। दृश्य टक्क पज हुन्छन् अनि अगाडि पात्र बोलेको बोल्यै....बोलेको बोल्यै... बोलेको बोल्यै। संवाद भाषण शैलीका छन्। त्यो बेलामा आँखा चिम्म गरेर बसे पनि हुन्छ। किनकि के भइरहेको छ भनेर बुझ्न फिल्मका दृष्य हेर्न आवश्यक छैन। सुने पनि हुन्छ। अनि बिचमा छ्यास्स गीत आइपुग्छ। कुनै प्रेमिल, कुनै क्रान्तिकारी त कुनै दुखी। ठ्याक्कै रेडियो गीति नाटक जस्तै।

उनका म्युजिक भिडियोहरू हेर्नेहरूले सहजै थाहा पाउँछन् प्रकाशले कुनै प्लट पिरको, कुनै गलबन्दीको जोडेर तन्काउँदै फिल्म बनाउने रहर गरेछन् भन्ने।

फिल्मको पहिलो हाफ पुरै स्लो मोसनमा चल्छ। लामा, साहित्यिक भावले भरिएका संवाद बेतोडले दौडन्छन्। दृश्य र पात्र जहाँको त्यहीँ। न पात्र बदलिन्छन् न परिवेश। दोस्रो हाफमा दृश्य बदलिन थाल्छन्। परिवेश पनि बदलिन्छन्। तर बदलिइरहेका एक दृश्यको अर्को दृश्यसँग कहीँ कतै सम्बन्ध नै हुन्न। 

फिल्मको केन्द्रीय सन्देश जातीय विभेद र विभेद विरुद्धको विद्रोह हो। तर त्यो विद्रोहको नेतृत्व कुनै पात्रले गर्दैनन्। उच्च जातीका प्रेम दलित समुदायकी सपनासँग विवाह गर्न चाहन्छ। तर उनीहरू आत्महत्याको चरणमा पुग्छन्। उता शान्ति वसन्तसँग विवाह गर्न चाहन्छिन्। तर प्रेम सफल बनाउन कुनै  प्रयास हुन्न। वसन्तसँगको भेटमा ‘डरपोक कामी’ भन्नु बाहेक परिवर्तनका लागि उनले कहिँकतै संघर्ष गरेको अनुभवै हुन्न।

प्रेम र सपनाको मिलनमा वसन्तबाट भएको प्रयास भनेको प्रेमपत्र लगिदिने अनि प्रेमले प्रेम गर्छ भनिदिने मात्रै हो। त्यसमा शान्तिको कुनै भूमिका छैन। वसन्त जेल पर्दा न शान्तिले संघर्ष गर्छिन् र वसन्तले। वसन्त हिरासतमा भेट्न आएका डीएसपीलाई लामा साहित्यिक र क्रान्तिकारी संवाद ( के संवाद भन्नु, भाषण भने पनि हुन्छ) सुनाएर पठाउँछन्।

डीएसपी र कक्षा १० को वसन्तको उमेर एकै देखिन्छ। तर डीएसपी भन्छन् 'उमेर भन्दा बढी नै परिपक्व रैछौँ।' प्रहरी निरीक्षकले हिरासतमा कुट्दा दलित समुदायका प्रहरी जवानले पेस्तोल निकालेर हान्ने चेतावनी दिन्छन्। त्यत्रो क्रान्तिकारी देखिएका ती प्रहरीको त्यसपछिको कथामा कुनै सम्बन्ध छैन। न त त्यो दृष्यले वसन्तलाई हिरासतमुक्त गराउन सघाउँछ।

शान्ति पुरै गायब छिन् परिवर्तनको विन्दुमा। हिरासतमुक्त हुन न वसन्तले कुनै प्रयास गरेको देखिन्छ न शान्तिले नै। बरु यसमा दलित अधिकारको पक्षमा काम गर्ने संस्थाहरू डलरका लागि काम गर्छन् भन्ने प्लट घुसाए पनि दलित टोलीकै प्रयासमा हिरासतमुक्त भएका छन्।

गाउँमा हुने विभेदलाई ढोकाको आडमा बसेर स्विकारेका छन् वसन्तले। वैदेशिक रोजगारीको क्रममा ठगिन्छन्। तर ठगको खोजी हुन्न। आत्मसमर्पण हुन्छ। किताब प्रकाशित गर्न काठमाडौँमा अनेक काम गरेका दृश्य राखिएको छ। त्यो संघर्ष जातीय विभेदको अन्त्यका लागि हैन, पुस्तक छाप्न लाग्ने खर्चको जोहो गर्न हो।

माओवादीले जनसेना बनाउन खोज्दा भाषणमा क्रान्तिकारी कुरा सुनिन्छ तर संघर्ष नगरी वसन्त लुसुक्क भागेर शहर पस्छन्। नेपालमा जातीय विभेद र त्यसको निराकरणका उपाय नामक वक्तृत्वकला प्रतियोगिताका सहभागीले रट्टा मारेर आएको जस्तो लामा लामा संवाद छन् पात्रहरूको। तर संवादको दृश्यसँग कुनै सम्बन्ध नै छैन।

अर्थात् नेतागिरी भनिन्छ नि। मञ्च पाउँदा आकाशदेखि पातालसम्मका गफ दिने, विकासका कुरामा विश्वका देशहरू सबैको उदाहरण दिन भ्याउने। यसरी हुन्छ देश विकास भनेर लामा भाषण छाँट्ने। तर व्यवहारमा शून्य प्रयत्न। हो ठ्याक्कै फिल्मको मूल पात्र वसन्त यही चरित्रमा छन्। २ घण्टा ४० मिनेटका अधिकांश भाग लामा भाषणले खाइदिन्छन्। तर विभेद मुक्तिमा कुनै प्रयास गर्दैनन्। लेखिरहन्छ मात्र। किताब लेख्नु नै संघर्ष हो जस्तो देखाएका छन्।

‘मुख भन्दा ठूलो गाँस हाले आफ्नै मुख दुख्ने हो’ भन्ने संवादले नै वसन्त पात्रमा परिवर्तनका लागि क्रान्ति गर्ने साहस छैन र उ समर्पणवादी पात्र हो भने स्थापित हुन्छ। 

कतैकतै यो पात्र अवसरवादी नि देखिन्छ। जस्तो अन्तर्जातीय विवाह अस्विकार हुने डरले प्रेम र सपनाले आत्महत्या गरेपछि जेल परेर छुटेका वसन्त शान्तिसँगको सम्बन्धलाई निरन्तरता दिने पक्षमा छैनन्। उनी वैदेशिक रोजगारीमा जाने तयारीमा छन्। तर यौन सम्बन्धको मौका छाड्दैनन्। यो जसरी दृष्यांकन भएको छ त्यसमा समर्पण भन्दा यौन स्वार्थ नै देखिन्छ पात्रको।

शान्ति शर्मा वसन्त विकसँग विवाह गर्न चाहन्छिन्। तर कुनै संघर्ष नगरी। उनको संघर्ष संवादमा मात्र सुनिन्छ। दृष्यमा देखिन्न। समाजको विभेदविरुद्ध यति लामो आदर्शवादी संवाद बोल्ने पात्र शान्ति वसन्तले धारो हुँदाहुँदै जमेको पानी खान बाध्य भएको सुनाउँदा सोध्छिन् किन? अर्थात् उनलाई दलित समुदायमाथि धारादेखि चुलोसम्म हुने विभेदै थाहा छैन। तर विवाह भने गर्नुछ।

क्रान्तिकारी चरित्र छ वसन्तको। तर उ जात काढिरहन्छन्। कतै बाहुनी भन्छन् त कतै मगर भन्दै गाली गर्छन्। जात काढेर गाली गर्ने खै कस्तो चेत हो त्यो पात्रको।

फिल्म पूर्णबहादुरको सारंगी मै प्रकाश सपुतले निभाएको पात्रको चरित्र र उनको उमेरको आलोचना भएको थियो। वसन्तमा त झन् डिजास्टर नै देखिएको छ। कदकाँठीले तैबिसेक स्वस्तिमा र खबपुको उमेर हो कि हो की जस्तो देखिन्छ। तर प्रकाश सपुत १० कक्षाका विद्यार्थी हुन् भन्ने दर्शकले कहीँ कतै सामान्य रूपमा अनुभव पनि गर्न सक्दैनन्।

छिप्पिएको ४० हारहारीको उमेरका पात्र किन कक्षा १० मा छन्? त्यसको कारण खुलाउन सकिने स्थान नभएको हैन। तर वास्ता गरेका छैनन् निर्देशकले। कक्षा १० मा पढ्दाको प्रकाश र लेखक प्रकाशबीचको उमेरको भिन्नता भनेको स्कुल ड्रेस र कोटमात्र हो। 

यो फिल्मको अर्को डिजार्टर पक्ष हो संवाद। अति क्लिष्ट अनि लामा भाषण शैलीका संवाद छन्। बादल कालो छ त, पानी पर्छ कि क्या हो भने पुग्नेमा ‘आकाशमा फनफनी चरी जसरी घुमिरहेका ती बादल कपास जस्तो सेतो हुनुको साटो अँध्यारो औँसीले छोपे जस्तो कालो छ। कतै पानीका कञ्चन थोपाहरू यो धर्तीमा झर्छन् कि क्या हो’ पाराका संवाद छन्।

वसन्त पात्र साहित्य अनुरागी हुन्। लु उनमा साहित्यको ह्याङ लास्टै रहेछ भनेर दर्शकले चित्त बुझाउन सक्लान्। तर शान्तिदेखि प्रेमसम्मले बोल्ने साहित्यिक पाराका अधिक काव्यात्मक, लयात्मक संवादको अर्थ के?  फिल्मभरि छरपस्ट छन् यही शैलीमा संवाद। प्रकाश सपुत आफैँ लेखक भएकाले यसको अपजस पनि उनकै भागमा पर्ने नै भयो।

पात्रको उमेर र चरित्र अनुसारको संवाद फिल्मको अर्को महत्त्वपूर्ण पक्ष हो। यसमा त्यो पक्ष पनि भेटिन्न। कक्षा १० का विद्यार्थी र लेखक भइसकेका पात्रको संवादमा कुनै भिन्नता छैन। युवा पात्रको निर्माण गरेका सपुतले संवाद भने निकै गह्रुँगो भिडाएका छन् पात्रहरूलाई।

स्कुलमा पत्रकारिताको प्रशिक्षण कार्यक्रमको ब्यानरमार्फत निर्देशकले यो कुन समयको कथा हो भनेर खुलाएका छन् २०६२। यो वर्ष राजनीतिक रूपमा निकै उथलपुथल भएको वर्ष हो।

तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको विरोधमा दलदेखि नागरिक समाजसम्म आन्दोलित थिए। शहरदेखि गाउँसम्म त्यसको प्रभाव थियो। फिल्ममा त्यसको कुनै संकेतसम्म छैन। वसन्त न गाउँमा हुँदा त्यसको कुनै प्रभाव देखिन्छ न उनी शहर पस्दा नै त्यसको कुनै संकेत छ।

भूमिगत रहेको विद्रोही समूह माओवादी सात दलसँग मिलेर शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन समझदारी भएको यही वर्ष त हो। तर वसन्तमा निर्देशकले त्यो बेलामा पनि माओवादी गाउँ गाउँ आएर जवरजस्ती सैन्य भर्नामा सक्रिय रहेको प्लट राखेका छन्।

शान्ति बनेकी स्वस्तिमा माओवादी लडाकु बनेको प्रसङ्ग पनि अर्थनबर्थको रूपमा प्रयोग भएको छ। यो प्लटको उद्देश्य वसन्तलाई गाउँबाट भागेर काठमाडौँ आउने बहानाका लागि मात्र राखिएको हो। माओवादीको कथा पनि राख्नै पर्ने भए २०६२ को साटो २०५८ को कथा भनेको भए के फरक पर्थ्यो? अंह केही पर्दैनथ्यो। त्यो मिति नै किन? कतै खुल्दैन।

टाइमिङकै कुरा गरौँ न। ब्यानरमा निर्देशकले मिति राखिदिएर यो २०६२ तिरको कथा हो है भन्ने संकेत गरिदिए। तर जिल्ला सभापतिको कार्यालयमा एलईडी स्क्रिन राखिदिए कम्प्युटरको। २०६२ मा एलईडी? गाउँको पसलमा करेन्ट चाउचाउको कार्टुन राखिदिएका छन्। २०६२ मै करेन्ट आइसक्याथ्यो?

यो त निर्देशकले बिर्सिए होलान् भनौँ। फिल्मको माध्यमबाट छद्मरूपमा व्यापारिक विज्ञापनहरू राख्दा पनि समयको ख्याल गरेका छैनन् निर्देशकले। गीतको छायाङ्कन गराउँदा वरपरको घरका भित्तामा कतै प्रभु बैंकका ब्यानर छन् त कतै सिमेन्टका। कतै ट्राभल्सका विज्ञापन।

२०६२ सालमा प्रभु बैंक कहाँ जन्मिएको थियो र त्यो बेलामा यसले घरको भित्तामा विज्ञापन गर्यो? यो बैंक भएकै नौ वर्ष त भयो। लगानी उठाउन फिल्ममा झुक्याएर विज्ञापन देखाउने चक्करमा रत्नपार्कको आकासे पुलमा इभी कारको विज्ञापन दर्शकको आँखै बिझाउने गरी राखेका छन् निर्देशकले। २०६२ मा इभी नै आइसकेको रहेछ नेपालमा!

दर्शकलाई हेप्नुको नि हद हुन्छ नि। आर्थिक स्वार्थमा दर्शकलाई बेवास्ता गरिएका यस्ता दृष्य पटक पटक आउँछन् फिल्ममा।

राजेश हमालदेखि करिश्मासम्म, कति अतिथि कलाकार हुन् कति। तैबिसेक राजेश हमालको प्रसङ्ग मिल्न सक्छ। तर अन्य कलाकारको कुनै अर्थ देखिन्न। ती पात्र जो भए पनि त्यसले फिल्मलाई कुनै असर गरेको देखिँदैन।

यस्ता कमजोरी त कति हो कति फिल्ममा। पुरै लेख्दा अर्को किताब ‘वसन्त भर्सेज वसन्त’ को पाण्डुलिपि नै हुनसक्छ। अब फास्ट ट्रयाकमा समीक्षा।

फिल्मका गीत ‘सांझपर्यो झमक्क’,‘हेर्दै आँखामा...’,‘स्वादै विनाको’ सम्झना लायक छन्। ‘जाने कहाँ होला’ पनि मीठो छ। अन्य गीत पनि सपुतको कला अनुसार मिठै छन्। तर एकाध बाहेक फिल्मको कथासँग गीतको सम्बन्ध भने छैन। 

फिल्मको सम्पादन अनि छायाङ्कन काम चलाऊ। ब्याकग्राउण्ड म्युजिक डिजास्टर छ। इरिटेटै गराउँछ। फिल्मको क्लोजिङ पूर्ण बहादुरको सारंगीको प्लटमा लगेर मिसाएका छन्।

प्रकाश सांगीतिक क्षेत्रमा सफल हुन्। उनी राम्रा गीतका सर्जक पनि हुन्। गीत राम्रो भयो, २० मिनेटसम्मको कथात्मक म्युजिक भिडियो बनाउन सकियो भन्दैमा साँढे २ घण्टाकै फिल्म लेखन अनि निर्देशन गर्ने काम प्रकाश सपुतको साहस हैन, दुस्साहस हो। जसको नतिजा सकारात्मक आउन सक्ने कुनै लक्षण देखिँदैन।

किनकि, प्रकाशले फिल्म त बनाए तर विना स्वादैको।

चैत २४, २०८१ आइतबार १९:५०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।