काठमाडौंका सामुदायिक विद्यालयका कक्षा कोठामा स्मार्ट बोर्ड

काठमाडौं : काठमाडौं महानगरपालिकाले रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड जडान गर्यो। शनिवार कक्षा १० सेक्सन ए मा स्मार्ट बोर्ड जडान गरिएको हो।
शिक्षण क्रियाकलाप र सिकाइमा लगानी बढाएर नतिजा सुधार गर्ने कार्यक्रमअन्तर्गत महानगरपालिकाको शिक्षा विभागले स्मार्ट बोर्ड जडान गरेको हो।
विभागले सार्वजनिक खरिद प्रक्रियामार्फत ल्याएका ३ सय १३ वटा वोर्डहरु सूचना प्रविधि विभागबाट बोलपत्रको स्पेशिफिकेसन सम्बन्धी प्राविधिक जाँच गरेर विद्यालयका कक्षा कोठामा जडान सुरु गरेको हो।
‘प्रमाणमा आधारित विद्यालयको पूर्वाधार विकास, सिकाइमा टुल्स एन्ड टेक्नोलोजी (प्रविधि र उपकरण), मानव पुँजी विकासअन्तर्गत शिक्षक तालिम, सुशासन, व्यवस्थापन तथा दिगोपना’का लागि महानगरपालिकाले लगानी बढाएको छ ’शहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले भने, ‘विद्यालयमा स्मार्ट बोर्ड उपयोग गर्ने स्थान, शिक्षकको तत्परता र क्षमताका आधारमा बोर्ड जडान गर्दै जानेछौँ । क्रमशः सबै कक्षामा राख्नेछौँ ।’
महानगर गौरव योजनाअन्तर्गत गरीखाने शिक्षा, महानगरको इच्छा कार्यक्रमअन्तर्गत सूचना प्रविधिमैत्री विद्यालय, डिजिटल शिक्षण सिकाइ कार्यक्रमका लागि चालु र क्रमगत गरेर करिब २० करोड रुपैयाँ विनियोजित रहेको निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले जानकारी दिए।
कक्षा कोठामा जडान भएका बोर्डहरूको डिस्प्ले क्षमता ५० हजार घण्टा हो। सामान्य ठक्करबाट स्क्रिन चर्किने वा नफुट्ने महानगरको दाबी छ।
चैत २३, २०८१ शनिबार १६:११:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।