राजावादीको प्रर्दशनले पञ्चायतकालीन मण्डले प्रवृत्ति झल्को दियो : झलनाथ खनाल

राजावादीको प्रर्दशनले पञ्चायतकालीन मण्डले प्रवृत्ति झल्को दियो : झलनाथ खनाल

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पूर्वप्रधानमन्त्री हुन्। केपी शर्मा ओली नेतृत्वको सरकारको कडा आलोचक खनाल आफ्नै दल आबद्ध रहेको समाजवादी मोर्चाप्रति पनि सन्तुष्ट छैनन्। पछिल्लो समय भएको राजावादी र समाजवादीको मोर्चालाई नजिकबाट नियालेका उनले प्रदर्शनबाट नेपालमा राजा आउने सम्भावना नरहेको दाबी गर्छन्। आफ्नै पार्टी समावेश समाजवादी मोर्चाको नामबाट असन्तुष्ट उनी केपी ओली नेतृत्वको सरकारबाट झन् सन्तुष्ट हुने कुरै भएन। उनले वर्तमान सरकार काम गर्नको लागि नभएर गफ गर्नको लागि मात्र बनेको आरोप लगाउन भ्याए। उनै खनालसँग पछिल्लो राजनीतिक अवस्था, राजावादीको प्रदर्शन र पार्टीको भन्डाफोर नीतिबारे गरिएको कुराकानीको सम्पादित अंशः

दुई ठूला राजनीतिक दलको सरकार छ। यो सरकारको काम कारबाहीलाई कसरी हेरिरहनुभएको छ?
सरकार यथास्थिति वादको बाटोमा हिँडेको छ। देशमा संविधान जारी भइसकेपछि आमूल परिवर्तन गर्नुपर्छ भन्ने आम जनआकांक्षा थियो। तर सत्तामा पुगेपछि वामपन्थी साथीहरू यथास्थितिको बाटोमा हिँड्नुभयो। सडक बनाएको कुरा प्रचारमा अल्झनुभयो। मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्ने कुराहरूमा केही पनि गर्न सक्नुभएन।

भूमि सुधार गर्नुपर्छ, कृषि क्रान्तिका कार्यक्रमहरू ल्याउनुपर्छ भनेर हामीले आवाज उठाइरह्यौ, कृषिलाई आधुनिकीकरण गर्नुपर्यो, यन्त्रिकीकरण गर्नुपर्यो भनिरहेका छौं। हरेक किसानले जे उत्पादन गर्छ त्यसको मूल्य पाउनुपर्ने, उत्पादित वस्तुले बजारको ग्यारेन्टी पाउनुपर्ने भनिरहेका छौं। त्यसको व्यवस्था सरकारले गर्नुपर्छ तर केही गर्न सकिरहेको छैन।

स्थानीय वडाका बजारदेखि लिएर पालिका, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारको समन्वय गर्ने काम राज्यको हो। यसमा आवाज उठाइरहेका छौं। मुलुकमा राष्ट्रिय औद्योगिकरण गर्नुपर्छ भनेर आवाज उठायौँ तर यो सरकारले केही गरेन। सरकार यथास्थिति वादको बाटोमा हिँडेकाले पुनरुत्थान वादीहरू जुर्मुराएका हुन्।

सरकार त संविधान संशोधन सबै समस्याको हल गर्ने भनिरहेको छ त?
यो सबै गफ हो। सरकारसँग केही हुती नै छैन। संविधान संशोधनका लागि विज्ञ, संविधानविद् विभिन्न क्षेत्रका विज्ञ वा प्राज्ञहरूसँग छलफल गर्नुपर्यो नि! आजसम्म त्यो छलफल भएको मैले थाहा पाएको छैन।

हामीले अहिले जुन संरचना बनाएका छौँ, त्यो त अत्यन्तै खर्चिलो भइरहेको छ। विकास बजेट कर्मचारी र नेतालाई तलब भत्ता दिनै खर्च भइरहेको छ। त्यसैले यी सबै विषयवस्तुमा केन्द्रित भएर सिंहावलोकन गर्नुपर्छ।

कस्तो प्रशासन र जनप्रतिनिधिहरू सहितको संरचना बनाउँदा राम्रो हुन्छ, त्यसले विकास निर्माणमा योगदान पुर्याउन सक्छ भन्ने कुरालाई ध्यानमा राखेर संविधान संशोधन गर्नुपर्छ।

निर्वाचन प्रणालीमा पनि सुधार गर्नुपर्नेछ। सम्भावना विना नै संविधान संशोधन गर्छु भन्नेहरूलाई फेदका कुरा थाहा छैन, टुप्पाका कुरा मात्र गरेर हुन्छ?

केपी ओली र तपाईँबीच लामो समय सहकार्य भयो, सँगै राजनीतिमा आउनुभयो। उहाँको कार्यशैली र भिजनबारे जानकार हुनुहुन्छ। तर ओलीकै नेतृत्व सरकारप्रति किन यति धेरै अविश्वास?
कमरेड ओली मेरो २०२७ सालदेखिको साथी हो। साथीका रूपमा म उहाँलाई सम्मान गर्छु। देशको प्रधानमन्त्री तीन पटक बनिसक्नुभयो। तर देश, जनता र राष्ट्रको निम्ति गर्नुपर्ने काम गर्न सक्नुभएन। यो कुरामा चाहिँ म असाध्यै असन्तुष्ट छु।

संविधान संशोधनको कुरा उहाँले ल्याउनुभयो, त्यसका लागि सात बुँदे सहमति गरेको भन्ने सुन्छु। कहाँ गरेको थियो, के गरेको थियो, कति बुँदा थिए, त्यसमा के लेखिएको थियो जनताले हेर्न पनि पाएको छैनन्। संविधान संशोधन किन र के-के विषयमा गर्ने केही प्रष्ट छैन। अनि उहाँलाई विश्वास गर्नुपर्ने आधार चाहिँ के छ र?

अब प्रसङ्ग बदलौँ, पछिल्लो समय राजावादीहरू सडकमा आइरहेका छन्। राजतन्त्र पुनर्स्थापनाको माग चर्किरहेको छ, यो कत्तिको सान्दर्भिक छ?
गणतन्त्र मास्नुपर्छ, राजतन्त्र ल्याउनुपर्छ, हिन्दु राष्ट्र बनाउनुपर्छ भनेर राजावादीहरू भनिरहेका छन्। यिनीहरू सबै संविधान विरोधी कुराहरू हुन्। स्वभाविक होइनन्। १५ गतेको वामपन्थी र राजावादीहरूको दुवै प्रदर्शनका गतिविधिहरू सुरु देखिनै ठूलो भिन्नता देखिन्छ। राजावादीहरू सुरु देखिनै हिंस्रक देखिएका थिए। त्यही गतिविधिका बीच अश्रुग्यास खसेको देखिन्छ। त्यसपछि अराजक र अराजनीतिक भीड बढ्दै गएको देखिन्छ। योजनाबद्ध तरिकाले पेट्रोल बम पनि बोकेर हिँडेको देखिन्छन्। त्यो पूरै गुण्डागर्दी शैलीको छ। पञ्चायत कालमा मण्डलेहरूले गरेको जस्तो गतिविधि देखियो।

आन्दोलनको नेतृत्व दुर्गा प्रसाईं मात्र होइन अन्य नेताहरूले पनि गर्नुभएको थियो नि! थाहा छ हजुरलाई?
डा.प्रकाशचन्द्र लोहनी पनि त्यो प्रदर्शनमा थिए। नवराज सुवेदीलाई भने कसैले बोकेर लगेको देखेको थिएँ। तर, उनीहरूले त्यो मासलाई शान्त पार्न एक शब्द पनि बोलेनन्। धवल शम्शेरको धवल कहाँ पुग्यो कुन्नि थाहा पाइएन। बीबीसीका पूर्वपत्रकारले पनि केही गर्न सकेनन् अझ आक्रोश पैदा गरे।

दुर्गा प्रसाईंले त झन् प्रहरीहरू भएको ठाँउमा गाडी लगेर किच्न गएजस्तो देखिएको छ। उनी कसरी कमान्डर भए बुझ्न सकिएको छैन। उनीहरूमा सामान्य लोकतन्त्रको अभ्यास, शिक्षा, आचरण, स्वभाव सम्बन्धी ज्ञानको अभाव देखियो। गुन्डागर्दीको पक्षमा लाग्ने, जसले पैसा दिन्छ त्यसको पछाडि लाग्ने जस्ता विभिन्न स्वार्थी मानिसहरू त्यहाँ आएको स्पष्ट देखिन्छ।

त्यसोभए त्यो आन्दोलनको जिम्मेवारी कसले लिनुपर्छ ? 
राजनीतिक रूपले भन्नुपर्दा घटनाको मुख्य जिम्मेवार भनेको पूर्वराजा ज्ञानेन्द्र शाह नै हुन्। फागुन ६ गतेको अभिव्यक्ति र २५ गते जुन खालको स्वागत समारोह गर्न लगाए त्यही क्रियाकलाप परिणाम हो। त्यसैले सम्पूर्ण घटनाक्रमको मुख्य जिम्मेवार पूर्वराजा नै हुन्।

१८ वर्ष अघिसम्म नेपालमा राजतन्त्र थियो, त्यो राजतन्त्रको अन्तिम राजा ज्ञानेन्द्र थिए। अब नेपालमा राजतन्त्र छैन्, राजा छैनन्। यो गणतन्त्र मुलुक हो। त्यसकारण अब राजा नेपालमा समाप्त भइसके। कसैले राजा फर्काउँछु भनेर फर्किन सक्दैन।

अनि राजावादीको माग सम्बोधन चाहिँ कसले गर्ने त?
यसलाई सम्बोधन गर्ने भनेको त संविधानले नै हो। संविधानले सम्बोधन गर्छ। यदि कसैलाई राजा चाहिएको हो भने ‘राजा चाइयो’ भन्ने पार्टी बनाएर आउनुहोला अनि त्यो पार्टीले चुनावबाट दुई तिहाई बहुमत ल्याउनुपर्छ र संविधान संशोधन गरेर राजा राख्ने व्यवस्था गर्नुहोला।  त्यो संवैधानिक हकको कुरा हो। त्यो बाहेक अर्को बाटोबाट नेपालमा राजा आउने सम्भावना छैन।

पूर्वराजा ज्ञानेन्द्र स्वयंले राजगद्दी सम्हाल्छु भन्नुभएको छ भन्ने सुनिन्छ नि!
इच्छा राख्न पाए। दुई चार जनाले उहाँलाई साथ दिनु सामान्य कुरा हो। जति बेला देशमा क्रान्ति हुन्छ त्यो क्रान्तिपछि प्रतिक्रान्तिको काल आउँछ भन्ने गरिन्छ। क्रान्ति भएपछि नेतृत्व निर्माण हुन्छ त्यो नेतृत्वले क्रान्तिको वास्तविकता, तात्पर्य, उद्देश्य र सारलाई बुझेर समाजलाई रुपान्तरण गर्न सकेन भने प्रतिक्रान्तिको एउटा क्षण आउँछ। मलाइ लाग्छ अहिले यस्तै भएको हो र प्रतिक्रान्ति गर्न खोजिएको हो।

नेपाली जनता सचेत छन्। त्यसैले हामीले यतिबेला जनतालाई अझ राम्ररी संगठित गर्नतिर लाग्नुपर्छ। अहिले नेपालमा विभिन्न प्रवृत्तिहरू देखा परिरहेका छन्। एउटा पुर्नउत्थान प्रवृत्ति, अर्को यथास्थिति प्रवृत्ति हो त्यो सत्ताधारीहरूमा देखिन्छ र अर्काे आमूल परिवर्तन गर्नुपर्छ भन्ने क्रान्तिकारी जनताहरूको प्रवृत्ति हो। हामीले जनताको आमूल परिवर्तन गर्ने प्रवृत्तिलाई मलजल गर्नुपर्छ।

यहीबेला एकीकृत समाजवादी पार्टीले देशव्यापी भण्डाफोर अभियान गर्दैछ, यसको उद्देश्य के हो?
अब पुनर्उत्थानवादीको भण्डाफोर गरेर मात्र हुँदैन, भण्डाफोर राजनीतिक अभियान मात्र हो। यथास्थितिवादीले ठिक ढङ्गको नीति लिएर जनता र राष्ट्रको निम्ति काम गर्न नसक्नुको कारणले पुनर्उत्थानवादीहरूको उत्पत्ति भएको हो। यथास्थितिवादीहरूका विरुद्ध नै हो हाम्रो लडाइँ।

क्रान्तिकारी जनताले आमूल परिवर्तन हुनुपर्छ भन्ने चाहेका छन्। खासगरी वामपन्थी शक्तिहरू, क्रान्तिकारी, समाजवादी शक्तिहरू अब समाजवाद नै विकल्प हो भनेर भनिरहेका छन्। त्यसैले उनीहरू सबै उठ्नुपर्छ। सारा वर्गीय शोषणहरूलाई अन्त्य गर्ने एक मात्र विकल्प समाजवाद हो, सामाजिक विभेदहरूलाई अन्त्य गर्ने विकल्प समाजवाद हो, भ्रष्टाचारलाई अन्त्य गर्ने, कृषि क्रान्ति, भूमि सुधार, औद्योगीकरण गर्ने एक मात्र विकल्प भनेको समाजवाद नै हो।

त्यसैले जनताको हित गर्ने शक्तिहरूलाई विजय गराई राज्य सत्तामा ल्याएमात्र मुलुक समाजवादतर्फ जान्छ। यसमा जनतालाई व्यापक शिक्षित गर्नुपर्ने छ। भण्डाफोर अभियान त्यही शिक्षाका लागि पनि हो। पुनर्उत्थानवादी प्रवृत्तिबाट केही हुनेवाला छैन, सर्तक रहौँ। यो यथास्थितिवादी सरकार वा सत्ताबाट पनि केही भइरहेको छैन त्यसको विकल्प खोजौँ। दुई पार्टी मिलेर जे गरिरहेका छन्, यिनीहरू अकर्मण्य र नीतिहीन छन्।

तर पार्टीभित्रै अन्तरविरोध र बेमेल देखिन्छ। यस्तो अवस्थामा भण्डाफोर अभियान प्रभावकारी होला र?
कम्युनिस्ट पार्टीहरूमा पनि दक्षिणपन्थी अवसरवाद छ। कोही कांग्रेसको पुच्छर बन्दै छन्, कोही कांग्रेसको बुई चढेर मात्र केही गर्न सकिन्छ भन्ने किसिमका छन्।

कोही कांग्रेसको पकेटमा छिरेर भएपनि सत्तामा एउटा/एउटा मन्त्री लिएर भए पनि बसौँ भन्ने छन्। यी सबै दक्षिणपन्थी अवसरवादी हुन्। त्यस्ताहरूलाई जनताले बडार्नुपर्छ र पार्टी भित्रै भएका त्यस्ता तत्वलाई पन्छाउनुपर्छ।

पार्टीभित्रका क्रान्तिकारी तत्व, नेता, कार्यकर्ताहरू बीच गोलबन्द भएर अगाडि बढ्नुपर्छ। प्रभाव बढाउनुपर्छ र त्यस्ता पार्टीहरूबीच एकता हुनपर्छ। त्यसैले सम्पूर्ण क्रान्तिकारी वामपन्थीहरूबीच व्यापक एकता बनाएर वामपन्थी मोर्चा चुनावमा क्रान्तिकारी हस्तक्षेपको साथमा राष्ट्रव्यापी उमेद्वार उठाएर अगाडि बढ्नुपर्छ। 

समाजवादी मोर्चा छँदैछ, वामपन्थी मोर्चा किन चाहियो?
साथीहरू समाजवादी मोर्चा भन्नुहुन्छ। म समाजवादी मोर्चा देख्दिनँ। त्यो वामपन्थी कार्यगत एकता हो। बेकारमा समाजवादी मोर्चा आदी इत्यादी भनेर मुख दुखाउने काम गर्नुहुन्छ। यो मुख दुखाउने र गफ गर्ने बाहेक अरु केही पनि होइन।

अस्ति प्रदर्शनी मार्गमा भएको सभा पनि चारवटा वामपन्थी समूहहरूले मिलेर गरेको कार्यगत एकता हो। मार्चा भन्नु बेकार छ। एकता हो त्यो, बरु यस्तो एकता अरु सबै वामपन्थीहरू बीचमा विस्तार गरेर व्यापक बनाएर लानसके त्यसले चाहीँ फल निकाल्न सक्छ।

युवराज गौतम/नेपाल न्यूज बैंक

चैत २२, २०८१ शुक्रबार ११:१६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।