‘राजावादी’ तह लगाउन सरकारले तीनकुनेमा हानेको गोलीका गैर ‘राजावादी’ घाइते

काठमाडौं : स्नातक तह दोस्रो वर्षका विशाल निरौलालाई पशुपति बहुमुखी क्याम्पसले एसइई परीक्षाको गार्डका रूपमा भक्तपुरको परीक्षा केन्द्रमा खटाएको थियो।
चैत १५ मा राजा फर्काउन तीनकुनेमा आन्दोलनको कार्यक्रम रहेकोबारे जानकार थिए उनी। त्यो दिन परीक्षा पनि थियो। उनी चाबहिलबाट भक्तपुर आए। परीक्षा सकिएपछि भक्तपुरबाट चाबहिल फर्किन मूल सडकै प्रयोग गरे।
भक्तपुरबाट चाबहिल आउने भित्री बाटो छ। तर उनलाई थाहा रहेनछ। मूलबाटोबाटै चाबहिल हिँडे। जडीबुटी आइनपुग्दै आँखै हेर्न नसक्नेगरी पोल्यो। पिरो भयो। जसोतसो जडीबुटी पारेर गरेर तीनकुने आइपुगे।
तीनकुनेमा प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको देखेपछि भाग्न खोजे। केही पड्केको आवाज आइरहेकै थियो। तीनकुने कट्न छिटो-छिटो हिँड्दै थिए हातमा रगत देखे। आँखा खोल्दा त उनी काठमाडौं मेडिकल कलेजको अस्पतालको बेडमा थिए।
उनको देब्रे हातमा मात्र तीन वटा गोली लाग्यो। एउटा गोली कोखामा छोएर बाहिर निस्कियो। अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।
‘हातमा रगत देखेपछि गोली हानेको रहेछ भन्ने लाग्यो,’ २२ वर्षका उनले अस्पतालको बेडबाटै उकेरासँग भने, ‘गाडी थिएन, पठाओ पाइएन। तीनकुने आइपुग्दा त मान्छे ढलेको देखेँ। जसरी नि पार गर्छु भनेर आत्तिएर भागेको थिएँ, उठ्दा त हस्पिटल पुगेछु।’
विशाल आफ्नो बाबासँग बसेर काठमाडौंमा पढ्दै छन्। अस्पतालमा छोरा कुरेर बसेकी उनकी आमा सोलुखुम्बुमै बस्छिन्। जिल्ला अदालतकी कर्मचारी हुन् उनी।
छोरालाई गोली लागेको थाहा पाएपछि अतालिँदै काठमाडौं आएकी उनी आन्दोलनमा सरोकारै नभएको छोरोलाई गोली लागेकोमा रिसाएकी छिन्। तर, अब नागरिक रिसाए भनेर कसले वास्ता गर्छ र!
सरकार राजावादी आन्दोलन तुहियो भनेर मक्ख छ। आन्दोलनका कमान्डर प्रहरीले फेला पार्ला भनेर लुकेका छन्। सुरक्षा निकायलाई आन्दोलनमा भएको दमन लुकाउँदैमा फुर्सद छैन।
OOO
डिल्लीप्रसाद लुइँटेल चैत १५ को बिहानभर कोटेश्वरमा रहेको टिकट काउन्टरमा बसे। दिउँसोतिर साथीहरू आएर ‘राजा फर्काउने आन्दोलन हेर्न जाऊँ’ भने। उनी काउन्टर बन्द गरेर साथीहरूसँग हिँड्दै तीनकुने आइपुगे।
उनी पुग्दा प्रहरी-प्रदर्शनकारीबीच झडप भइरहेको थियो। तीनकुने चौरपारी घर जलेको देखे। प्रदर्शनमा गडबड भइसकेको भेउ पाएर कोटेश्वरतिरै भागे। सडकपेटी हुँदै मुनिभैरव नजिकै पुग्दा ड्याम्म पड्केको आवाज आयो। पेटमा केही लागेको अनुभव भयो। एकै छिनमा सहनै नसक्ने गरि दुख्न थालेपछि चिच्याए, रोए। आँखा धमिलो भयो।
कोही दौडिएर नजिक आएकोसम्म याद छ उनलाई। उनले ‘साहुलाई फोन गर्दिनु’सम्म भन्न भ्याएछन्। त्यसपछि आँखा खुल्दा उनी ट्रमा अस्पतालको बेडमा थिए।
करिब तीन बजेर ४५ मिनेटमा ट्रमाको आकस्मिक कक्षमा पुर्याइएको लुइँटेलको अवस्था गम्भीर रहेकाले तुरुन्तै शल्यक्रिया गरियो। लुइँटेलको दायाँतर्फको पेटमा गोली लागेर ठूलो आन्द्रा दुई ठाउँमा छेडेको रहेछ। अनि त्यो गोली बायाँतर्फको हिपको हड्डी छेडेर बाहिरियो।
ट्रमा सेन्टरको शल्य चिकित्सक टिमले शल्यक्रिया गरेर लुइँटेलको क्षति भएको आन्द्रा काट्यो। करिब तीन घण्टाको शल्यक्रिया सफल भएपछि उनलाई अहिले आईसीयूमा राखिएको छ। अहिले त्यो काटिएको आन्द्रालाई पेटमा प्वाल बनाएर दिसा गर्न बाहिर निकालिदिएका छन् चिकित्सकले।
बिहीबार दिउँसो उकेराकर्मी राष्ट्रिय ट्रमा सेन्टरको दोस्रो तलामा पुग्दा भोजपुरको ट्याम्केमैयुङ गाउँपालिकाका २७ वर्षका उनी आइसियुको बेड नम्बर ‘२०१’ मा बोल्न सक्ने अवस्थामा भेटिए।
पेटमा पट्टी लागेको थियो। कुर्न भाइ बसेका थिए। उनको उपचार सकिएको छैन। अब करिब ६ हप्तापछि अर्को शल्यक्रिया गरेर आन्द्रालाई पेट भित्र राख्दै जोड्न बाँकी रहेको राष्ट्रिय ट्रमा सेन्टरका शल्य चिकित्सक तथा जनरल सर्जरी विभागका प्रमुख डा. घनश्याम थापाले जानकारी दिए।
सुरूमा नै आन्द्रा जोड्दा जोखिम हुने भएकाले तत्काल नजोडिएको उनले उकेरालाई बताए। घाइते लुइँटेलको स्वास्थ्यमा सुधार हुँदै गएको र अवस्था सामान्य नै रहे पनि कहिलेकहीँ सङ्क्रमणको जोखिम हुने डा. थापाले जानकारी दिए।
OOO
राजा फर्काउने भन्दै विवादित व्यवसायी दुर्गा प्रसाईंको कमान्डमा तीनकुनेमा राखिएको विरोध प्रदर्शन हिंसात्मक हुँदा गोली चल्यो। प्रहरीले औपचारिक रूपमै प्रदर्शनस्थलमा ५८ राउन्ड गोली चलाएको, एक जनाको मृत्यु र र २० जना घाइते भएको दाबी गर्यो।
बुधबार पत्रकार सम्मेलनमार्फत डीआईजी दिनेश आचार्यले प्रदर्शनकारीले प्रदर्शन हिंसात्मक गराएपछि नियन्त्रणमा लिन गोली चलाएको दाबी गरेका थिए।
तर घाइतेको अवस्था बुझ्न उकेराकर्मी बुधबार र बिहीबार काठमाडौंको नयाँबानेश्वरस्थित निजामती कर्मचारी, राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं मेडिकल कलेज, ललितपुरको पाटन अस्पताल र बीएण्डबी अस्पताल पुग्दा भेटिएका अधिकांश घाइतेको राजा फर्काउने आन्दोलनसँग कुनै सरोकारै देखिएन।
अधिकांश घाइते काम विशेषले तीनकुने-कोटेश्वर- जडीबुटी क्षेत्रमा पुग्दा गोली लागेर घाइते भएको खुल्यो। आन्दोलनमै गएका पनि नभेटिएका हैनन्, तर तीनको संख्या अति थोरै। यो तीनै घाइतेहरू केन्द्रित रिपोर्ट हो।
गल्ली छिर्दा फसेका आशिष्
शुभश्री कलेजमा बिबिए पढ्दै गरेका आशिष बोहरा बानेश्वरको बुद्धनगरमा बस्छन्। १६ गते बोर्ड परीक्षा भएकाले लोकन्थलीमा काम सकाएर घर फर्किँदै थिए उनी। जडीबुटीमा भिडभाड देखेपछि उनी बुद्धनगर निस्कन चोकबाट भित्री बाटोमा छिरे।
तर भित्री बाटोमा पनि भिड थियो। एक छिन बाइक साइडमा राखे अनि आफू पनि साइडमा उभिए। त्यत्तिकैमा गोली चलेको आवाज सुने। उनी आन्दोलनकारी थिएनन्। न त ढुङ्गा नै हानेका थिए। त्यसैले नडराई सडक किनारामा उभिएर बसे।
‘आन्दोलन गर्न भनेर गएको भए पो डराउनु। म बाटो क्लिएर भएपछि जाउँला भनेर उभिएको थिएँ,’ उनले अस्पतालको बेडमा उकेरालाई भने, ‘तर पछाडिपट्टि एक्कासी तातो भयो। अनि खुट्टा पनि दुखेको जस्तो भयो। आत्तिएर हिँड्दा खुट्टा दुख्यो। मर्क्यो कि भनेर बाटोमा हिँड्ने एक जना दाइलाई सोधेको त मलाई गोली लागेर पाइन्ट नै च्यातिएको रहेछ।’
उनको मलद्वार नजिकै गोली लागेको थियो। धन्न त्यो गोली शरीरभित्र गएन। अगाडि तिघ्राबाट निस्किएछ र थप क्षति हुन पाएन। उनको अप्रेसन भइसक्यो। स्वास्थ्य अवस्था सुधारिँदै गएको छ। तर भोलि केही होला कि भन्ने चिन्तामा देखिए उनी।
‘भर्खर २२ वर्षको भएँ। त्यसमाथि विद्यार्थी। मलाई यो आन्दोलन भनेकै मन पर्दैन। बेकारमा म आन्दोलनको घाइते भनेर चिनिने भएँ’, उनले भने।
विदेशिन ऋण लिन जाँदा गोली ‘उपहार’
भोजपुरकै रामप्रसाद राई गाउँपालिकाका ३० वर्षीय शम्भु दर्जी पनि ट्रमा सेन्टरकै चौथो तलामा उपचाररत छन्। अर्थोपेडिक वार्डमा उपचाररत शम्भु चैत १९ मा कतार जाने तयारीमा थिए।
म्यानपावर कम्पनीलाई पैसा बुझाउनु थियो। त्यसैले एक जना दाइसँग पैसा लिन उनी गौरीघाटबाट एयरपोर्टको पछाडिबाट हुँदै कोटेश्वर निस्किएका थिए चैत १५ मा।
उनी फर्कने बेलामा भने तीनकुने हुँदै सिनामंगलतिर आउँदै थिए, तीनकुनेमा साढे दुई बजेतिर दायाँ हातको पाखुरामा गोली लाग्यो। उनले त थाहै पाएका थिएनन्। अरूले गोली लाग्यो, गोली लाग्यो भनेको सुने। एक व्यक्तिले उनलाई मोटरसाइकलमा राखेर कुनै अस्पताल लगेछन्। कुन अस्पताल भन्नेसम्म याद छैन उनलाई।
त्यहाँ उपचार नभएपछि ट्रमा सेन्टरमा लगिदिए उनैले। उनको मोबाइलबाट कसैले दिदीलाई फोन गरिदिए। अनि दिदी ट्रमा सेन्टर आइपुगिन्। बेकारमा गोली लागेकोमा चिन्तित उनी चिकित्सकहरूले डराउनुपर्ने अवस्था नभएको बताएकाले केही ढुक्क देखिए।
‘आन्दोलनमा हिँडेको भए गोली लाग्यो भन्नु। मलाई आन्दोलनसँग सरोकारै छैन। तर गोली लाग्यो,’ उनले उकेराकर्मीसँग भने, ‘डाक्टरले अब डराउनु पर्दैन भन्नु भएकाले केही ढुक्क भएको छ।’
भित्री गल्लीमा हिँड्दा-हिँड्दै गोली
यी त भए मूल सडकमा हिँड्दै गर्दा गोली लागेकाहरू। आन्दोलन चर्किएको देखेर जोगिन भित्री गल्ली छिरेका सर्वसाधारण पनि अनाहकमा गोली लागेर घाइते भए। केही त सुधारोन्मुख अवस्थामा देखिए। स्वास्थ्यमा दीर्घकालीन असर पर्ने गरी गोली नलागेका पनि भेटिए।
तर, प्रदर्शनमा केही होला भनेर जोगिन भित्री गल्लीमा हिँडिरहेको बेलामा सुरक्षाकर्मीले हानेको गोली लागेर गम्भीर घाइते भएकाहरू पनि भेटिए। उनी हुन् २२ वर्षकी रेविका खत्री।
उकेराकर्मी बुधबार बेलुका साढे तीन बजेतिर निजामती कर्मचारी अस्पताल पुग्दा रेविका अस्पतालको आइसियु (क्याबिन-२) मा उपचाररत थिइन्। अक्सिजन लगाइएको अवस्थामा उनी आईसीयूमा विशेष किसिमको कुर्सीमा ढल्किएर बसेकी थिइन्।
केहीबेर उकेराकर्मीले उनीसँग कुरा गर्यो। उपचाररत रेविकाले सानो स्वरमा केही मिनेट उकेराकर्मीसँग कुरा गर्दै बिस्तारै मुन्टो हल्लाएर भनिन्, ‘अँ, अहिले ठिकै छ।’
कामबाट फकिँदा कोटेश्वरमा दायाँ खुट्टाको तिघ्रामा गोली लागेर ढलेकी रेविकाको १० घण्टा लामो शल्यक्रिया भएको थियो। नसामा गोलीले असर गरेको देखिएको अस्पतालका एक चिकित्सकले जानकारी दिए। शल्यक्रियापछि भेन्टिलेटर हुँदै आईसीयूमा सारिएको छ उनलाई। रेविकाको स्वास्थ्य सुधारोन्मुख देखियो।
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर-६ (सातधारे) घर भएकी रेविका कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहमा पढ्ने विद्यार्थी हुन्। ग्वार्कोमा बस्ने उनी नरेफाँटमा रहेको एक खाद्यान्न पसलमा लेखा सम्बन्धी काम गर्थिन्।
१५ गते शुक्रबार पनि उनी बेलुका काम गरेर फर्कँदै थिइन्। तर, कोटेश्वरको आकासेपुल नजिकै पुग्दा उनले राजावादीको प्रदर्शन र प्रहरीबीच झडप भइरहेको देखिन्। आन्दोलनसँग सरोकार त थिएन तर डराइन्। उनले कोटेश्वरमा बस्ने २४ वर्षका दाजु (बढाउका छोरा) दिनेश कुमार खत्रीलाई फोन गरेर लिन बोलाइन्। उनले आकाशे पुल तरिन्। अनि दाजु बहिनीको भेट भयो।
र उनीहरू गल्ली हुँदै कोटेश्वरको एसओएस नजिकै रहेको कोठातिर गइरहेका थिए। तर, कोठा पुग्नै लाग्दा गोलीको आवाज सुनियो। रेविका दाहिने खुट्टाको तिघ्रामा गोली लागेर ढलिन्। दाइ दिनेशको देब्रे खुट्टाको तिघ्रामा पनि गोली लाग्यो।
गोली लागेर ढलेकी रेविकालाई कसैले नजिकैको मेडिकलमा पुर्यायो। तर, मेडिकलमा उपचार हुनसक्ने सम्भावना थिएन। दाजु बहिनीलाई नै उपचारका लागि निजामती कर्मचारी अस्पताल पुर्याइयो।
दिनेशको एक्स-रे गरेर हेर्दा तिघ्रा छेडेरै बुलेट निस्किए पनि भित्र केही देखिएन। घाउ मात्र लागेको थियो नै। तर, रेविकाको तिघ्राको मासु नै उछिट्टिएको थियो। रगतको नसामै गम्भीर असर परेको थियो। दिनेशको फागुन १९ मा डिस्चार्ज भयो। रेविका भने उपचाररत नै छिन्।
निजामती कर्मचारी अस्पताल प्रशासनका अनुसार चैत १५ मा १० जना घाइते भर्ना भएका थिए। त्यसमा पाँच जना गोली लागेका घाइते थिए। १० मध्ये तीन जना सामान्य उपचारपछि फर्किहाले। बाँकी सात जना भर्ना भए।
दार्चुला, दुह गाउँपालिकाका ३६ वर्षीय किसन सिंह महतको अवस्था सामान्य थियो। उनी उपचारपछि त्यही दिन अस्पतालबाट डिस्चार्ज भए। जुम्ला तातोपानी गाउँपालिका-४ का ३४ वर्षीय बालकृष्ण चौलागाईंको टाउकामा चोट थियो। चौलागाईं अस्पताललाई थाहै नदिई निस्किएर हिँडे।
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-४ का १८ वर्षीय कञ्चन राईको बायाँ खुट्टामा गोलीको चोट लागेको थियो। उनी पनि भर्ना भएकै दिन ६ वटा टाँका लगाएर डिस्चार्ज भए। खोटाङकै दिक्तेल नगरपालिका-१४ का ३१ वर्षीय जानासेन राईको दायाँ खुट्टामा गोली लागेको थियो। उनी पनि चारवटा टाँका लगाएर त्यही दिन डिस्चार्ज भए।
झापा भद्रपुर नगरपालिका-४ की ४१ वर्षीय इन्द्रमाया लिम्बुको दायाँ खुट्टा (तिघ्रा)मा गोलीको छर्रा लागेको थियो। उनको पनि शल्यक्रिया गर्नु परेन। टाँका लगाएर ठिक भयो। उनी १८ गते डिस्चार्ज भइसकिन्।
‘पसल बन्द गर भन्दैथे गोली हानिसकेछ'
जडीबुटी चोकमा रहेको मोबाइल पसलमा काम गरिरहेका थिए, २६ वर्षीय रामहरि श्रेष्ठ। १५ गते जडीबुटी बिहानसम्म शान्तै थियो । केही हुने रहेनछ भनेर पसल बन्द गरेनन्। पछि त एकाएक गाडी जल्न थाल्यो। अश्रुग्यास आउन थालेपछि रामहरि पसल बन्द गर्नतिर लागे। चाबी लगाउँदा लगाउँदै प्रहरी आएर ‘बन्द गर’ भन्न थाले।
चाबी लगाएर जानै लागेका थिए प्रहरीले पानी मागे। उनी पानी दिएर बाइक राख्ने ठाउँमा पुगेका मात्र थिए गोली हानियो। हातमा गोली लाग्यो। उनी हात समातेर थचक्कै बसे। उनको दाहिने हातको पाखुराको बिचबाट गोली छिरेछ। हात नै छिनियो उनको।
‘२५/३० जना प्रहरी थिए। म झुन्डिएको हात समाएर अस्पताल खोज्दै हिँडे,’ बिएन्डबीमा भेटिएका उनले भने, ‘डक्टरले पछि ठिक हुन्छ भनेका छन्। तर हातको मुख्य नशा नै चुँडिएको छ भन्ने सुनेकाले डर लागिरहेको छ।’
बुधबार स्वास्थ्यमन्त्री प्रदीप पौडेलसहितको टोली आएर भेटेका रहेछन्। उपचारमा चिन्ता नगर्नु भनेर गएछन्। तर बित्थामा गोली लागेर घाइते हुनु परेकोमा चौपट्टै रिस उठेको छ उनलाई।
‘मैले अहिलेसम्म भोट हालेको छैन। अब सरकारले नै गोली हानेर यस्तो अवस्थामा पुर्याएपछि मैले यही हातले कसैलाई हाल्छु होला त!’, रिसाउँदै उनले भने।
मामालाई फोन गरेर भने ‘मलाई गोली लाग्यो’
बुधबारै बेलुका करिब साढे छ बजे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) पुग्दा सर्जिकल वार्डको बेड नम्बर ‘१११०’ मा २० वर्षका प्रिन्स कुमार (पोदार) भेटिए। उनलाई अप्रेसन गरेर आईसीयू हुँदै वार्डमा सारिएको थियो। उनको देब्रे हात, देब्रे खुट्टा र दाहिनेतर्फको छातीमा पट्टी लगाइएको थियो। उनी सामान्य कुराकानी गर्न सक्ने अवस्थामा थिए।
उनको बालकोटमा भाँडाकुँडा पसल छ। उनी बस्ने टेकु। उनी चैत १५ मा एक्लै पसलबाट कोठातिर हिँड्दै थिए। जडीबुटीमा आइपुग्दा उनलाई गोली लाग्यो। सबैभन्दा पहिले देब्रे हात दुख्यो उनको। अनि छातीमा रगत आएर लुगा भिज्यो। खुट्टा पनि दुख्न थाल्यो।
उनले हत्तपत्त आमालाई फोन गरे। तर, फोन लागेन। अनि मामालाई गरे। फोन लाग्यो। उनको होस हराउँदै गइरहेको थियो। अर्ध बेहोसी अवस्थामै गोली लाग्यो भन्न भ्याएछन्। कसैले उनलाई मोटरसाइकलमा राखेर अस्पताल लैजान खोजे। तर उनको ज्यान मोटरसाइकलमा अडिएन। लुलो भइसकेको थियो।
आधा घण्टाजतिमा एम्बुलेन्स आयो। अनि पाटन अस्पताल पुर्यायो। अस्पताल लाने व्यक्तिहरूले नै उनकी श्रीमतीलाई फोन गरिदिएछन्। अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख देखियो।
शान्तिनगरको जागृति मार्गमा बस्छन् विकास कुमार गौतम। अस्पतालमा अहिले भएका घाइतेमध्ये सबै भन्दा पाका उनी नै देखिए। उनी ०४५ साल देखि गाडी चलाउँछन्। चैत १५ मा उनी ग्यारेजमा सामान लिन आफ्नो सालोसँग गएका थिए।
बाहिर हुलदङ्गा देखेपछि उनी एकछिन त्यतै अलमलिए। लौ भएन भनेर घर फर्किने तयारी गर्दै थिए अश्रुग्यासले आँखा पोल्न थाल्यो। त्यहीँ देब्रे गोडामा गोली लाग्यो उनलाई।
‘म सँग साथी(सालो)ले मेरो हात समातेर आँखा देख्नै गाह्रो भयो भन्दै थियो,’ उनले भने, ‘कत्ति छिटो मेरो गोडामा गोली लागिसकेछ। हामीले ढुंगा हानेको पनि होइन। बुझ्दै नबुझी दुई जना आफ्नै सुरमा हिँडेको मान्छेलाई हानिहाल्यो। गोली लागे पछि त खुत्रुक्कै भयौँ नि।’
उनको सालो रोजन पहरी पनि त्यही अस्पतालमा भेटिए। भिनाजुलाई काममा सघाउने जाँदा गोली लागेर घाइते भए उनी। धन्न उनको बुढी औँलामा गोली लाग्यो। नङमात्र उप्किएकाले त्यही दिन डिस्चार्ज भयो।
साथी भेट्न जाँदा बाटैमा गोली
सनसिटिमा बस्ने १९ वर्षीय राजेन्द्र रावल नेपाल कमर्समा स्नातक तह पढ्दै छन्। साथीहरूले कलेजमा भेट्ने भनेकाले उनी त्यो दिन नयाँबानेश्वरबाट आएका थिए। तर कलेज नपुग्दै तीनकुनेमा उनलाई गोली लाग्यो। उनी साथीहरूसँगै थिए। उनीहरूलाई भने केही भएन।
‘मेरो साथीहरू पनि थिए। उनीहरूलाई केही भएन। मेरो चैँ देब्रे खुट्टाबाट गोली छिरेर दाहिनेसम्म पुग्यो,’ उनले भने, ‘धन्न हड्डीमा केही पनि भएन। अझै राम्रोसँग हिँड्न भने सकेको छैन।’
उनी बुधबार डिस्चार्ज भए। आन्दोलन कस्तो हुन्छ भन्ने थाहै नभए पनि गोली लागेको भन्दै उनले उकेराकर्मीसँग मोबाइलमा भने, ‘अब त म जिन्दगीभर आन्दोलनमा जान्न।’
राजा ल्याउन जाँदा घाइते भएका कुमारजंग
उकेराकर्मीले भेटेकामध्ये घाइतेमध्ये कुमारजङ्ग राना भने राजा ल्याउन आन्दोलनकै लागि तीनकुने पुगेका रहेछन्। मलेसियामा लामो समय बसेर नेपाल फर्किएका उनले सामाजिक सञ्जाल हेर्दा राजा आउँछन् जस्तो लाग्यो रे। त्यही भएर उनी चैत १५ मा धुम्बाराहीदेखि सार्वजनिक यातायात चढेर तीनकुने पुगे। त्यहीँ उनको घुँडा, कम्मर र तिघ्रामा गोली लाग्यो।
‘सुरूमा राम्रै थियो। दुर्गा प्रसाईं आएपछि के-के भयो, भयो। मलाई त गोली पो लागिसकेको रहेछ,’ उनले भने, ‘पहिला कता गोली लाग्यो भन्ने थाहै भएन। रगत आएको मात्र देखे।’
आन्दोलनमा गएको यो उनको पहिलो अनुभव रहेछ। आफूले दु:ख पाए पनि सन्तानले दु:ख नपाओस् भनेर आन्दोलनमा गएको उनले बताए।
‘मोबाइल हेर्यो भने देशको हालत कस्तो देखिन्छ। मैले जे दु:ख पाएँ मेरो सन्तानले त्यही दु:ख पाउनु भएन नि! त्यै भएर पहिलो पटक आन्दोलनमा जान्छु भनेर आएको’, उनले भने।
उनलाई भेट्न धेरै व्यक्तिहरू आए रे। तर भेट्न आउने को थिए अनि उनलाई किन भेट्न आएको केही थाहा भएन रे।
'को हो चिन्दिनँ। हामी हेर्छु भन्दै भेट्ने मान्छे आइरहेका छन्’, उनले भने।
अर्का मनमैजुका राजकुमार कार्की १५ गते बिहानसम्म घरमै थिए। सामाजिक सञ्जालमा तीनकुनेको समाचार बेस्सरी आउन थाले पछि ‘हेरौँ पनि, मोबाइलमा खिचौँ पनि’ भनेर तीनकुने आइपुगे।
जापानी भाषा पढ्दै गरेका उनी यसअघि पनि निर्मला पन्त, एमसीसी र कुलमान घिसिङको पक्षमा भएको आन्दोलनमा सहभागी भएका रहेछन्।
दुई बजे घरबाट निस्किएका उनी तीनकुने, कोटेश्वर हुँदै जडीबुटी पुगे। जडीबुटीमा प्रहरी बिट भत्काउन थाले, आगो लगाउन थाले। अब घर जान्छु भनेर फर्कने तयारी गर्दै थिए हातमा गोली लाग्यो। एक हैन, दुवै हातमा गोली लागेको छ। प्लास्टिकको गोली हातभित्र छिरेर फुटेको भन्नेसम्म थाहा पाए।
‘अरू केटाहरू पनि थिए। मलाई मात्र कहाँबाट लागेछ। अब देखि त आन्दोलनमा जान्न’, उनले भने।
रामचन्द्र बुढाथोकी गाडी राखेर आफ्नो घर जाँदै थिए। भाटभटेनीमा तोडफोड भएको देखेपछि उनी एक छिन रोकिएर हेर्न थाले। गाडी जलायो रे भन्ने सुनेपछि घरतिर आउँदै थिए हातमा प्याट्ट गोली लाग्यो। कान्छी औँला प्वाल पर्यो। तत्काल अस्पताल गए। त्यति गम्भीर अवस्था हैन रहेछ उनको। अप्रेसनका लागि आइतबार समय दिएको रहेछन् चिकित्सकले।
अस्पतालले पैसा मागेपछि घाइते फरार
शुक्रबारै आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद्ले चैत १५ को घटनाका घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गर्यो। स्वास्थ्य मन्त्रालयले चैत १७ मा विज्ञप्ति निकालेर ‘घटनामा परेर घाइते भएकाहरूको मन्त्रालयले निःशुल्क उपचारको व्यवस्था मिलाएको’ उल्लेख गरेको थियो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले उकेरासँग बिहीबार बेलुका सबै अस्पताललाई घाइतेको निःशुल्क उपचार गर्न सर्कुलर भइसकेको दाबी समेत गरे। तर, उकेराले विभिन्न अस्पतालमा यसको अनुगमन गर्दा अस्पतालले पैसा मागेपछि घाइते नै भागेको र केहीले औषधिको पैसा लिने गरेको खुल्यो।
कान हुँदै गालामा गोली लागेका सुमन गुरुङको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको थियो। उनको अस्पतालमै शल्यक्रिया गरेर गोली निकालियो। अस्पतालको इएनटी वार्डले मंगलबार डिस्चार्जको सबै तयारी गर्यो तर उनी अस्पतालमा भेटिएनन्। भागिसकेका थिए।
अस्पतालको रेकर्डमा गुरुङको उपचारमा १७ हजार दुई सय ६१ रुपैयाँ लागेको र सो तिर्न बाँकी देखिन्छ।
केएमसीमा ४२ जना घाइते आएका थिए। त्यसमध्ये अधिकांशको त्यही दिन डिस्चार्ज भयो। मंगलबारसम्म आठ जना उपचाररत रहेकोमा सात जनालाई गोली लागेको देखियो। ती सबैसँग अस्पतालले औषधीको रकम लिएको देखियो।
सरकारले घाइतेको निःशुल्क उपचार हुने भनेको छ। किन पैसा लिन खोजेको भनेर केएमसीका अस्पताल प्रशासन प्रमुख नारायण दाहाललाई सोध्दा उनले अस्पतालको निर्णय बताए। अस्पतालले विज्ञप्ति मार्फत औषधि बाहेकको शुल्क नलिने भनेको तर औषधिको शुल्क तिर्नुपर्ने दाबी गरे।
पाटन अस्पतालमा उपचाररत प्रिन्सको उपचारमा लागेको ७० हजार उनकै परिवारले तिरिरहेको खुल्यो। बिएण्डबी अस्पतालले भने बिरामीसँग पैसा लिएको देखिएन। ट्रमा र सिभिल अस्पतालले पनि घाइतेको निःशुल्क उपचार गरेको देखियो।
सम्बन्धित समाचार
चैत २२, २०८१ शुक्रबार ०३:५४:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।