तीनकुने सुरक्षा चुक : जनधन जोगाउन बल प्रयोग गरेको प्रहरी दाबी, तर घर जले, पत्रकार मारिए, निर्दोषलाई गोली लाग्यो

तीनकुने सुरक्षा चुक : जनधन जोगाउन बल प्रयोग गरेको प्रहरी दाबी, तर घर जले, पत्रकार मारिए, निर्दोषलाई गोली लाग्यो

काठमाडौँ : तीनकुनेमा चैत १५ मा भएको आन्दोलनमा सुरक्षा संगठनको कमजोरी र अधिक बल प्रयोगबारे आलोचना बढेपछि बुधवार एकाएक प्रहरी प्रधान कार्यालयले पत्रकार सम्मेलन गरेर त्यसको खण्डनको प्रयास गर्यो।

काठमाडौँका एसपी अपिलराज बोहोरासहितलाई सँगै राखेर केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले तीनकुनेमा गोली चलाउनु पर्नाको कारणका सूची सार्वजनिक गरे तर भएका सुरक्षा चुक, औपचारिक कार्यक्रम सुरु हुनु अगाडि नै मञ्चमा भएको टियरग्याँस प्रहार, सुरक्षा रणनीतिमा देखिएको असफलता र प्रहरी घेराबाट सहजै दुर्गा प्रसाँई उम्कनुको कारणबारे आलटाले जवाफ दिए।

तीनकुनेमा सुरक्षा संगठनबाट जस्तो व्यवहार भयो त्यो जायज थियो भन्ने पुष्टि गर्न उनले विभिन्न मिडियामा आएका फुटेज अनि प्रहरीको क्लोज सर्किट टेलिभिजनमा कैद भएका सीमित दृश्यहरू देखाए। तर प्रहरीले देखाएका दृष्यभन्दा धेरै दृश्यहरू त सामाजिक सञ्जालतिर सहजै भेटिन्छन्।

देखाइएका दृश्य र सार्वजनिक गरिएको टाइमलाइन प्रहरीको कमजोरी छोप्न पर्याप्त थिएन। उल्टो ह्वाङ्ग भयो सुरक्षा संगठनको कमजोरी।

-किन तीनकुने छानेको ?

डीआइजी आचार्यले कार्यक्रमको आयोजकहरूले कार्यक्रम शान्तिपूर्ण हुने वाचा गरेकाले जिल्ला सुरक्षा समितिले विश्वास गरेर तीनकुनेमा कार्यक्रम आयोजना गर्न दिएको तर आयोजकले समूह-समूह बनाएर आपराधिक गतिविधि गरेको दाबी गरे।

कार्यक्रमस्थलको चयन गर्दा सुरक्षा जोखिमको विश्लेषण र मुल्यांकन हुन्छ नै। तीनकुने उच्च जोखिम क्षेत्र हुँदाहुँदै स्थानीय प्रशासनले प्रसाँई समूहलाई त्यहाँ कार्यक्रम गर्न अनुमति दिएको थियो। उनले यसबारे धेरै टिप्पणी गर्न चाहेनन्। भोलिका दिनमा कार्यक्रम स्थलको अनुमति दिँदा यस बारेमा विचार गर्ने बताए।

- आयोजकले जे भन्यो त्यो पत्यायो प्रहरीले !

आयोजकले शान्तिपूर्ण प्रदर्शन गर्छु भनेर पछि आपराधिक गतिविधि गरेको प्रहरीको तर्क छ। प्रहरीको दाबीले कार्यक्रम आयोजनाको घोषणापछि स्थान चयनका लागि सुरक्षा सङ्गठनले अपनाउने गुप्त सूचना सङ्कलन, विश्लेषण, आयोजकको भित्री तयारी सुरक्षा चुनौतीको आकलन लगायतबारे केही नगरेको पुष्टि भयो।

डीआइजी आचार्यले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार कार्यक्रम आयोजकहरूको शैली र पृष्ठभूमि सार्वजनिक नै विषय भए पनि प्रहरीले ‘शान्तिपूर्ण हुन्छ’ भनेकाले अनुमति दिएको बताए। आयोजकले जे भन्यो त्यही सुरक्षा निकायले पत्याएको अपत्यारिलो तर्क गरे उनले।

‘आयोजकले राजनीतिक प्रकृतिको शान्तिपूर्ण कार्यक्रम हो भनेका थिए। तर समूह समूह बनाएर आपराधिक गतिविधि गरे,’ डिआइजी आचार्यले भने ‘जब त्यो ठाउँमा आइपुगेपछि राजनीतिक व्यक्तित्व भन्दा पनि हुलदङ्गा गर्ने व्यक्तिहरूले मञ्च कब्जा गरेर व्यक्तिगत सम्पत्ति तोडफोड गर्ने कल्पना बाहिरको विषय हो।’

यसले कार्यक्रम आयोजक दुर्गा प्रसाँई लगायतका उनको समूहमा रहेका अराजक पृष्ठभूमि भएकाहरूको गतिविधि सुरक्षा राडारभन्दा बाहिरै रहेको देखियो। सुरक्षा संगठनको गुप्तचरी संयन्त्र पूरै असफल देखियो।

-कार्यक्रम सुरु नहुँदै मञ्चमा टियरग्याँस

प्रहरीले सार्वजनिक गरेको टाइमलाइन अनुसार १२:५० मै प्रहरीले अश्रुग्यास हानेको देखिन्छ। औपचारिक कार्यक्रम करिब साढे एक बजे राखिएको थियो।

कार्यक्रम सुरु गर्न आयोजक समितिका नवराज सुवेदी, धवल शमशेर राणा, रवीन्द्र मिश्रहरू मञ्चमा भएको बेलामा मञ्चमा अश्रुग्याँस झरेको भिडियो भाइरल भएको थियो। 

त्यो भिडियोमा राष्ट्रगान गणतान्त्रिक बजाइएको थियो। राजावादीहरूले आफ्नो औपचारिक कार्यक्रममा गणतान्त्रिक ‘सयौँ थुंगा फुलका हामी’ बजाउने गरेको सुनिएको थिएन।

यसले शङ्का बढाए पनि बुधवार डीआइजी आचार्यले औपचारिक कार्यक्रम सुरु हुनु अगाडि नै मञ्चमा अश्रुग्याँस पुगेको अस्वीकार गरेनन्। उनले मञ्चमा राष्ट्रगान बजेको भिडियो डीपफेक भएको दाबी गरे।

मञ्चमा अश्रुग्याँस हानेको बारे उनको स्पष्टीकरण थियो ‘इन्टेन्शन्ली (जानाजान) हानेको हैन। कहिलेकाहीँ एकातिर हान्दा अर्कोतिर जान सक्छ। तर राष्ट्रगान बजाएको डिपफेक हो।’

कार्यक्रम सुरु नहुँदै किन अश्रुग्याँस हानेको भन्ने जिज्ञासामा उनले भने ‘कार्यक्रमै सुरु भएको छैन त कसरी राष्ट्रिय गान बज्छ? न नेता बसेको अवस्था छ न कार्यक्रम सुरु भएको अवस्था थियो।’

नेताहरू आएर कार्यक्रम सुरु गर्नु अगाडि नै मञ्चमा गएका केही व्यक्तिले ‘ अब हामी बानेश्वर कब्जा गर्न जानुपर्छ यहाँ बस्ने हैन’ भनेर भड्काएपछि अश्रुग्यास प्रयोग भएको उनले बताए। त्यहीमध्येको कुनै अश्रुग्याँस मञ्चमा पुगेको हुनसक्ने उनले बताए।

-तथ्यांकले देखाउँछ बल प्रयोगको अवस्था

प्रहरीले सार्वजनिक गरेको टाइमलाइन अनुसार ११:४५ देखि ६:११ बजेसम्म तीनकुनेमा प्रहरी सक्रिय देखिन्छ। २:४५ देखि ३: ९ बजेबाट गोली चलाउन थालिएको उनले बताए।

अश्रुग्याँस हान्न सुरु भएको समय १२:५० मा उल्लेख गर्यो प्रहरीले अनि यो बिचमा प्रहरीले ७ सय ४६ राउन्ड अश्रुग्याँस हान्यो, ५८ राउन्ड गोली प्रहार भयो। यसमा लाठी चार्ज गरेको सङ्ख्या, पानीको फोहरा प्रयोग लगायतको विवरण छैन। सशस्त्रको तथ्यांक पनि हैन यो।

करिब पाँच हजारको सङ्ख्यामा रहेका प्रदर्शनकारीमाथि सात सय ४६ राउन्ड अश्रुग्याँस हान्नु भनेको सामान्य अवस्था हैन। त्यसमा ५८ राउन्ड गोली चलेको छ। त्यही गोली लागेर २० जना घाइते भए। घाइतेमध्ये एक जनाको ज्यान गयो।

प्रदर्शनस्थलमा अधिक बल प्रयोग भएको तथ्य यही अश्रुग्याँस र चलेको गोलीको सङ्ख्याले देखाउँदैन र!

-५८ राउन्ड गोली हान्नुको कारण

पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रहरीले पहिलो पटक गोली चलाएको समय थियो २:४५ देखि ३:०९ सम्म। डीआइजी आचार्यले प्रहरीले जनधनको जोखिम नभई गोली नचलाउने दाबी समेत गरे।

पत्रकार सम्मेलनका दिइएको जानकारी अनुसार ३ बजेर ५ मिनेट जाँदा प्रदर्शनकारीहरूले लागुऔषध नियन्त्रण ब्यूरोको गाडीहरू जलाए। ब्यूरोको भवन पनि जलाउने कोसिस गरे। त्यहाँ सुरक्षा खतरा भयो भनेर प्रहरीलाई बारम्बार सहयोगको लागि फोन आइरहेको थियो। त्यही समयको नजिक भाटभटेनीमा तोडफोड भयो। प्रहरीको खाजा समेत लुटपाट गरेर प्रहरीलाई मार्नेसम्मको  अवस्था भएपछि प्रहरीले गोली चलायो।

तीनकुनेमा भएको प्रहरीले लागुऔषधका प्रहरी अनि कोटेश्वर,जडिबुटीमा भएको प्रहरीलाई रेस्क्यू नगरेको भए ती व्यक्तिहरूलाई पनि हत्या हुने शङ्का भएको र तत्काल प्रहरी तीनकुनेबाट अगाडि बढेर गोली चलाएको डीआइजी आचार्यले दाबी गरे।

कोटेश्वरबाट तीनकुने जाने बेलामा ३ बजेर ९ मिनेटमा एउटा गोली चलेको र त्यही सविन महर्जन घाइते भएको उनले बताए। पछि उनको मृत्यु भयो। अरूलाई पनि त्यही क्षेत्रमा गोली लागेको उनले खुलाए।कोठामा जान हिँडिरहेका रेविका र दिनेश खत्रीको खुट्टामा गोली लागेको पनि उनले स्विकारे।

उनले प्रहरी नै मारिने र स्थानीयको जनधनको क्षति हुने जोखिम बढेकाले गोली चलाएको दाबी गरे। तर गोली कसलाई लाग्यो?  रेविका, दिनेश जस्तालाई लाग्यो जसको आन्दोलनमा कुनै सम्बन्ध देखिएको छैन। मारिएका सविन पनि आन्दोलनकारी थिए भनेर आधार खुलाउन सकेको छैन प्रहरीले। गोली लागेर अस्पतालमा उपचार भइरहेका १३ जनाको राजावादी आन्दोलनसँगको सम्बन्ध के हो खुल्दैन।

-अराजक प्रसाईँलाई उन्मुक्ति किन?

विरोध प्रदर्शनस्थलमा सबैभन्दा अराजक देखिए दुर्गा प्रसाँई। भक्तपुरबाट कार्यक्रममा सहभागी हुन करिब साढे १ बजे तीनकुने आएका उनी कार्यक्रमस्थलमै नगइ सिधै गाडी हुइँक्याएर प्रहरी किच्न गएका थिए।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको मानव ब्यारिकेट तोडेर अगाडि बढ्दासम्म पनि प्रहरीले उनलाई रोक्नै सकेन। यस्तो अवस्थामा व्यक्तिमाथि समेत गोली चल्न सक्छ। तर प्रहरीले प्रसाईँको टायरमा गोली हानेर गाडीको गति रोक्ने प्रयास समेत गरेनन्।

जब गाडी रोकियो प्रहरीले उनलाई गाडीबाट ओराल्यो। उनी बिस्तारै पुलतिर आए। समूहमा मिसिए अनि तीनकुनेको मञ्चमा पुगे।

प्रहरीले नियन्त्रण मुक्त गरेपछि यूट्युवरहरुलाई अन्तर्वार्ता दिँदै दुर्गा प्रसाईँ।प्रदर्शनकारीहरूलाई उक्साए र निरन्तर अश्रुग्याँस हानेपछि माइक धवलशम्शेरलाई थमाएर अलप भए। यतिसम्मको हर्कत गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ समेत किन गरेन? किन छाड्यो?

डीआइजी आचार्यले प्रसाईँले आपराधिक गतिविधि गरेको पनि स्विकारे। उनलाई प्रहरीले नियन्त्रणमा लिएको पनि स्विकारे। तर उनी कसरी फुत्किए भन्ने पक्षमा भने अपत्यारिलो तर्क गरे।

उनको तर्क थियो ‘उनलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालय लैजाने प्रयास गर्दा भिडमा मिसिएर उम्किए।’

जबकि प्रसाँई अगाडि गएर मजाले मिडियाहरूलाई अन्तर्वार्ता दिइरहेका थिए। त्यो बेला उनको अगाडि-पछाडि ठूलो भिड पनि देखिँदैन। न प्रहरी नै देखिन्छ। यसले प्रहरीले सो समयमा प्रसाईँलाई नियोजित रूपमै नियन्त्रण मुक्त गरेको देखिँदैन र?

-जनधन जोगाउन बल प्रयोगको कुतर्क

प्रहरीको बाक्लो उपस्थिति भएकै ठाउँमा सर्वसाधारणको घर तोडफोड सुरु हुँदा प्रहरीले जोगाउन सकेन। उल्टो प्रदर्शनकारीले घरमै आगो लगाइदिए। जलेर पत्रकार मारिए।

एकीकृत समाजवादीको पार्टी कार्यालय जोगाउन गएको टोली भाग्यो। पछि कार्यालयमा आगो लाग्यो। सशस्त्र प्रहरीकै अगाडि कान्तिपुर टेलिभिजनको भवनमा ढुङ्गा हानियो। प्रहरी रमिते बने। भाटभटेनी लुटियो। जडीबुटी कारखाना प्रालिमा दनदन आगो लाग्यो।

घरमा लागेको आगोमा परेर पत्रकार मारिए। एक पत्रकारको खुट्टा भाँचिदिए प्रदर्शनकारीले।  प्रहरीले त्यो हदमा प्रयोग गरेको बलले जोगायो चैं के?

प्रहरीतर्फ घाइते नभएका हैनन् छन्। केही अझै उपचाररत पनि छन्। तर प्रहरीको गोली लागेर एक जना मारिए, २० जनालाई गोली लागेकामध्ये अझै केही अवस्था गम्भीर छ।

तीनकुनेमा त्यो दिन न जनको ज्यानको सुरक्षा भएको देखियो न धनको।

सम्बन्धित समाचार

चैत २१, २०८१ बिहीबार ००:३५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।