प्रतिनिधि सभा पाँचौँ अधिवेशनको उपलब्धि : पाँच विधेयक मात्र पारित

काठमाडौँ : प्रतिनिधिसभाको पाँचौँ अधिवेशन पाँच विधेयक पारित भएर सकियो। माघ १८ देखि सुरु भएको अधिवेशनमा १२ वटा सरकारी र एउटा गैरसरकारी विधेयक दर्ता भएका थिए।
त्यसमध्ये पाँच वटा विधेयक मात्रै सङ्घीय संसद्का दुवै सभाबाट पारित भए। चार वटा विधेयक समितिमा विचाराधीन रहे। तीन वटा विधेयक सदनसमक्ष प्रस्तुत मात्र भयो।
अधिवेशनको प्रारम्भमा प्रतिनिधिसभामा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ पारित भए।
‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ पनि पारित भए।
‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ पेस मात्र भयो। ‘जाति, रङ्ग, क्षेत्र, वेशभूषा, राष्ट्रियता वा उत्पत्तिमा आधारित भेदभाव (कसुर र सजाय)’ सम्बन्धी गैरसरकारी विधेयक दर्ता मात्र भयो।
सभाको पहिलो, दोस्रो, तेस्रो र चौथो अधिवेशनबाट सरकारी र गैरसरकारी गरी पेस भएका १३ वटा विधेयकमध्ये ‘संवैधानिक परिषद् (काम, कर्तव्य र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक’ प्रतिनिधिसभाबाट पारित भयो।
‘जलस्रोत विधेयक’सम्बन्धी समितिको प्रतिवेदन सभामा प्रस्तुत भयो। ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक’ राष्ट्रियसभाबाट फिर्ता भई प्रतिनिधिसभामा टेबुल मात्र भयो। आठ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन छन्।
चालू अधिवेशनमा राष्ट्रियसभामा उत्पत्ति भएका चार वटा विधेयक सभामा प्राप्त भएका थिए। त्यसमा दुई वटा सम्बन्धित समितिमा पठाइयो।
‘नेपाल कानून व्यवसायी परिषद् (पहिलो संशोधन) विधेयक’ माथिको सैद्धान्तिक छलफल टुङ्गिएको छ भने ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक’ प्रस्तुत भयो।
अघिल्ला अधिवेशनमा सात वटा विधेयक राष्ट्रियसभाबाट आएकामा तीमध्ये चार वटा पारित भए। ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’सम्बन्धी समितिको प्रतिवेदन सदनमा पेस भयो।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक’ सम्बन्धित समितिमा विचाराधीन छ। ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक’ प्रस्तुत मात्र भयो।
चैत १९, २०८१ मंगलबार १९:०७:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।