सविनको पोस्टमार्टम : दाहिने पाखुराबाट गोली छिरेर फोक्सो- मुटु छेड्दै देब्रे छातीबाट निस्कियो

सविनको पोस्टमार्टम : दाहिने पाखुराबाट गोली छिरेर फोक्सो- मुटु छेड्दै देब्रे छातीबाट निस्कियो

काठमाडौं : तीनकुनेमा शुक्रवार भएको राजावादी समूहको प्रदर्शनमा गोली लागेर मारिएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्युको कारण फोक्सो र मुटु छेडिनु देखिएको छ।

महाराजगन्ज चिकित्सा क्याम्पसको फरेन्सिक विभागले मंगलबार गरेको पोस्टमार्टममा उनको दाहिने पाखुराबाट गोली छिरेर फोक्सो-मुटु छेड्दै देब्रे छातीबाट निस्किएको उल्लेख छ।

पोस्टमार्टममा सविनको दाहिने पाखुरामा गोली लागेर देब्रे छातीबाट निस्किएको देखिएको महाराजगन्ज चिकित्सा क्याम्पसको फरेन्सिक विभाग प्रमुख डा. गोपालकुमार चौधरीले उकेरालाई जानकारी दिए।

‘सविन महर्जनको दाहिने पाखुरामा गोली लागेर त्यसले भित्रभित्रै छाती, फोक्सो र मुटु छेडेर देब्रे छातीको अगाडि पट्टीबाट गोली बाहिर निस्किएको थियो,’डा. चौधरीले भने,‘गोली थ्रु एन्ड थ्रु (वारपार) भएको थियो।’

गोली छिरेको दाहिने पाखुरादेखि फोक्सो, मुटु र गोली निस्किएको देब्रे छातीसम्म गोलीले छेडेको प्वाल रहेको डा चौधरीले जानकारी दिए। शुक्रवार मारिएका उनको मंगलबार पोस्टमार्टम भएको थियो।

पोस्टमार्टम गर्न करिब दुई घण्टा लागेको र पोस्टमार्टमपछि मंगलबार बेलुकी करिब साढे चार बजेतिर महर्जनको शव आफन्तलाई बुझाएको उनले बताए।

एक्स-रे नहुँदा सुरेशको पोस्टमार्टम भोलि

शुक्रवारै राजावादीको प्रदर्शनका क्रममा आगलागीमा परेर मारिएका एभिन्युजका पत्रकार सुरेश रजकको पोस्टमार्टम मंगलबार भएन। उनको शवको पोस्टमार्टम बुधवार हुने फरेन्सिक विभागले जानकारी दियो।

पत्रकार सुरेशको शवको पोस्टमार्टम गर्न एक्स-रे गरेर हेर्नुपर्ने भएकाले त्रिवि शिक्षण अस्पताल प्रशासनमा पोर्टेबल एक्स-रे मेसिन मागिएको फरेन्सिक विभागका प्रमुख डा. चौधरीले जानकारी दिए।

‘सुरेश रजकको शवको पोस्टमार्टम हुनै बाँकी छ,’उनले भने,‘सुरेशको शवको एक्स-रे गरेर हेर्नुपर्ने भएकाले हामीले अस्पतालसँग पोर्टेवल एक्स–रे मेसिन मागेका छौँ।’

चौधरीका अनुसार जलेको शवको पोस्टमार्टममा प्रोटोकल अनुसार प्राय एक्स–रे गर्नुपर्ने रहेकाले उनको पोस्टमार्टम रोकिएको हो।

'एक्स-रेबाट शरीर भित्र के भएको छ भन्ने धेरै कुरा थाहा हुन्छ, अनि बल्ल शव चिर्छौँ’ उनले भने।

आफन्त, सरकार पक्षबीच सहमति भएपछि दुवैको पोस्टमार्टमको प्रक्रिया अगाडि बढेको हो।

प्रहरीले फरेन्सिक विभागलाई पोस्टमार्टमका लागि मंगलबार अनुमति दिएकाले महर्जनको पोस्टमार्टम गरिएको र पत्रकार रजकको पनि पोस्टमार्टम गर्ने तयारी रहेको डा. चौधरीले जानकारी दिए। 

यो पनि 

चैत १९, २०८१ मंगलबार १८:२८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।