सवारी साधनमा खराबी हो कि चालकमा? अब सोच्ने बेला भयो : राजेश हमाल

काठमाडौं : एक समय अभिनेता राजेश हमाल राजनीतिमा आउने चर्चा थियो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेटेका थिए उनले।
राजनीतिमा आउने इच्छा व्यक्त गरेका बेला नेताहरूलाई भेटेपछि धेरैले त्यसलाई अर्थपूर्ण रूपमा हेरेका पनि थिए। एक कार्यक्रमबाट फर्कँदै गर्दा उनले गाडीमा ‘मेयर बन्दिऊँ कि क्या हो?’ भनेर भिडियो बनाएर सञ्जालमा पोस्ट पनि गरे।
उक्त भिडियोले लामै समय रङ्ग क्षेत्र गर्माएको थियो। तर, त्यो त्यत्तिकै सेलायो।
अहिले पनि देशमा राजतन्त्र र गणतन्त्रको पक्षमा बहस भइरहेको छ। सोमबार आफू अभिनित फिल्म ‘नरसिंहा : अवतार’को पोस्टर रिलिज कार्यक्रममा उनले केही सञ्चारकर्मीसँग कुरा गर्दै राजनीतिमा आउने इच्छा नभएको बताए।
‘मलाई राजनीतिमा आउनु छैन। तर म चाहन्छु कि देशमा सही नेतृत्व निर्वाह गर्नसक्ने व्यक्ति आओस् र देशको विकास गरोस्। देशमा करप्सन नहोस्,’ उनले भने, ‘आज हामी कतिसम्म निराशाको स्थितिमा पुगिसकेका छौँ भने पदमा पुगेका मान्छेहरूले जे गर्नुपर्ने हो त्यो गर्दा नै अत्यन्त खुशी हुन्छौँ।’
नेपालमा आएको परिवर्तनमा राजनीतिक दलका नेताहरूमै खराबी रहेको आरोप लगाउँदै उनले त्यही कारण पछिल्लो समय राजतन्त्रको नारा चर्किएको हुनसक्ने बताए। देशलाई सवारी साधनसँग तुलना गर्दै उनले गाडी राम्रै भए पनि चालकमा खराबी भएको बताए।
उनले थपे, ‘जनताले हाम्रो सवारी साधनमा खराबी हो कि चालकमा भन्नेबारे सोच्नुपर्ने बेला भयो अब।’
चैत १९, २०८१ मंगलबार १४:०४:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।