सांसद पद निलम्बन फुकुवा गर्न रविको आग्रह, सभामुखले भने- ‘मिल्दैन’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गरेका छन्।
मंगलबार बिहान सभामुख घिमिरेलाई भेटेर सभापति लामिछानेले यस्तो माग गरेका हुन्। यसअघि पनि निलम्बन फुकुवाका लागि सभामुखलाई भेटेका उनले एकपटक फेरि यस्तो आग्रह गरेका हुन्।
गत कात्तिक २ गते पक्राउ परेका लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता भएपछि गत पुस ८ गते उनको सांसद पद निलम्बन भएको थियो।
लामिछानेको आग्रहमा सभामुख घिमिरेले कानूनभन्दा माथि कोही नभएको भन्दै निलम्बन फुकुवा गर्न नमिल्ने जवाफ दिए।
सभामुख घिमिरेले रविलाई भने, ‘तपाईँसहितको संसद भएको भए राम्रो हुन्थ्यो। तर, मैले नियमावली हेरेर कानूनअनुसार गरेको हुँ। कानूनभन्दा माथि कोही छैन। मैले निलम्बन फुकुवा गर्न सक्दिनँ भन्ने कुरा बुझिदिनुपर्यो।’
चैत १९, २०८१ मंगलबार १३:४१:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।