लगातार १० पटकभन्दा बढी अनुपस्थित हुनेमा देउवासहितका कांग्रेस सांसदको बाहुल्यता

लगातार १० पटकभन्दा बढी अनुपस्थित हुनेमा देउवासहितका कांग्रेस सांसदको बाहुल्यता

काठमाडौं : प्रतिनिधि सभाको चालु अधिवेशनमा कांग्रेस सांसद मनोरमा शेरचन र राप्रपा सांसद गीता बस्नेत सबैभन्दा बढी लगातार २७ वटा बैठकमा उपस्थित नभएको पाइएको छ।

सभामुख देवराज घिमिरेले आज प्रतिनिधि सभाको बैठकमा राखेको विवरणअनुसार मनोरमा र गीता सबैभन्दा धेरै २७ वटा संसद बैठकमा लगातार अनुपस्थित रहेको देखिएको हो। उनीहरू दुवैले स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसकेको जानकारी गराएका छन्।

यस्तै, आज विहान मृत्यु भएका राप्रपा सांसद दीपक बोहरा स्वास्थ्य उपचारकै लागि लगातार २१ दिनदेखि प्रतिनिधि सभाको बैठकमा उपस्थित हुन सकेनन् भने कांग्रेस सांसद लिलादेवी बोखिम लिम्बू बेलायत जानुपरेकाले लगातार १४ वटा बैठकमा उपस्थित भइनन्।

साथै, कांग्रेस सांसद सरस्वती बजीमय देश बाहिर रहनुपरेकाले ११ दिन लगातार संसद बैठकमा उपस्थित भइनन् भने सोही कारण अर्का कांग्रेस सांसद रमेश रिजाल पनि १२ दिनदेखि लगातार बैठकमा अनुपस्थित छन्।

कांग्रेसका पार्टी सभापति तथा सांसद शेरबहादुर देउवा पनि पार्टीको कामका लागि भन्दै लगातार ११ दिन प्रतिनिधि सभा बैठकमा उपस्थित नभएको सभामुख घिमिरेले जानकारी दिए।

अनुपस्थितिको सूचनालाई सांसदहरूले स्वीकृति गरे। अधिवेशन अन्त्य हुने दिन सांसदहरुको अनुपस्थितिको बारेमा सदनलाई जानकारी दिँदै सांसदहरुबाट स्वीकृत गराउने कानूनी व्यवस्था छ।

चैत १९, २०८१ मंगलबार १३:१३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।