म्यानमारमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो, २७० जना अझै बेपत्ता

एजेन्सी : म्यानमारमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार ५६ पुगेको छ। ३९ सय भन्दा बढी मानिस घाइते भएको त्यहाँको सैन्य सरकारले जानकारी दिएको छ।
सैन्य सरकारका अनुसार त्यहाँ अझै २७० जना बेपत्ता छन्। भूकम्पपछि सोमबारबाट त्यहाँको सरकारले सात दिने राष्ट्रिय शोक घोषणा गरिएको छ।
दुर्घटनामा ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली अर्पण गर्न अप्रिल ६ सम्म देशभर राष्ट्रिय झण्डा आधा झुकाइने सैन्य सरकारका प्रवक्ताले बताए।
मार्च २८ मा म्यानमार र थाइल्याण्डमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो। यो २०० वर्षमा सबैभन्दा ठूलो भूकम्प भएको बताइएको छ।
संयुक्त राज्य भूगर्भ सर्वेक्षणले मृत्यु हुनेको संख्या १० हजार नाघ्न सक्ने आशंका व्यक्त गरेको छ।
म्यानमारको सबैभन्दा बढी भूकम्प प्रभावित क्षेत्र मन्डले हो। यो देशको दोस्रो ठूलो शहर हो, जसको जनसंख्या १७ लाखभन्दा बढी छ।
रिपोर्टका अनुसार, अधिकांश मानिसहरूका घरहरू ध्वस्त भएकाले धेरैजसो मानिसहरूले लगातार तेस्रो रात सडकमा रात बिताए। भूकम्पपछि आउने पराकम्पनहरूबाट मानिसहरू त्रासमा छन्।
चिनियाँ मिडिया र पेरिस विदेश मन्त्रालयका अनुसार भूकम्पमा मारिनेहरूमा ३ चिनियाँ र २ फ्रान्सेली नागरिक पनि छन्।
म्यानमारका धेरैजसो भागहरूमा सञ्चार अझै पनि अवरुद्ध भएकाले क्षतिको पूर्ण विवरण अझै थाहा हुन सकेको छैन।
चैत १९, २०८१ मंगलबार १२:३२:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।