‘नेपाल सुपर लिग’मा यसपटक पनि लफडा, श्रम स्वीकृति नलिएका विदेशी खेलाडी मैदानमा उतार्यो

काठमाडौं : नेपाल सुपर लिग फुटबल प्रतियोगितामा श्रम स्वीकृति नलिइएका विदेशी खेलाडीलाई खेलाइएको पाइएको छ। सोही कारण मंगलबार साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनुपर्ने खेल १८ मिनेट ढिला गरी सुरु भयो।
एफसी चिवतनले श्रम स्वीकृति नभएका पाँच विदेशी खेलाडी खेलाउन लागेपछि प्रतिस्पर्धी पोखरा थन्डर्सले त्यसको विरोध गरेको थियो। तर विरोधका बावजुद पनि श्रम स्वीकृति नभएका खेलाडीलाई खेल्न आयोजकले अनुमति दिएपछि पोखराले पनि श्रम स्वीकृति नभएका विदेशी खेलाडी स्टेफन बिनोङलाई दोस्रो हाफमा मैदानमा उतार्यो।
बिनोङले सुरुवातमा वार्म अप पनि गरेका थिएनन्। उनी अन्य खेलाडीले वार्मअप गर्दा दर्शकदीर्घामा नै थिए। अधिकारिक लाइनअप सूचीमा उनको नाम वैकल्पिक खेलाडीमा भने थियो। पहिलो हाफमा १-० ले पछि परेको पोखराले उनलाई दोस्रो हाफमा मैदानमा छिरायो। उनले दोस्रो हाफ पूरै खेले। तर खेल चितवनले २-० ले जित्यो।
चितवनले श्रम स्वीकृतिको सबै प्रक्रिया गरेको भए पनि सोमबार इदको बिदाका कारण स्वीकृतिको कागजात नआइपुगेको स्वीकार्यो। युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदबाट भने पत्र ल्याएको र आयोजकलाई बुझाएको चितवनको दाबी छ।
चितवनले श्रम स्वीकृती नभएका पाँच विदेशी खेलाडीलाई खेलाएपछि आफुहरूले पनि बिनोङलाई उतारेको प्रशिक्षक सुमन श्रेष्ठले बताए। उनले प्रोटेस्टको नियम नभएको भन्ने खबरपछि बिनोङलाई खेलाएको दाबी गरे।
नेपालको कानूनले कुनै पनि विदेशी खेलाडी वा प्रशिक्षकलाई नेपालमा ल्याएर खेलाउँदा वा काम लगाउँदा अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ। त्यसविपरीत गएर नेपाल सुपर लिग आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्ट गैरकानूनी काम गरेको छ।
नेपाल सुपर लिगमा लफडा भएको यो पहिलो पटक होइन। यसअघि गतवर्षको संस्करणमा पनि लिगमा अनलाइन जुवा कम्पनी वानएक्सबेटको सरोगेट कम्पनी वानएक्सब्याट प्रयोग गरेको थियो। उक्त विषयमा उकेरामा समाचार सामग्री प्रकाशित भएपछि आयोजकले टेलिभजनको स्कोरबोर्ड र मैदानबाट उक्त कम्पनीको प्रचार हटाउन बाध्य भएको थियो।
नेपाल सुपर लिग चौधरी समूहको कम्पनीले सञ्चालन गरिरहेको छ भने एफसी चितवन फुटबल क्लबको साहु चन्द्र ढकालका छोरा सचिन हुन्।
सम्बन्धित समाचार:
चैत १९, २०८१ मंगलबार १०:४४:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।