जारी आईपीएलमा मुम्बईको पहिलो जित, डेब्यु खेलमै अश्विनीले लिए चार विकेट

एजेन्सी : आईपीएल २०२५ मा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै पहिलो खेल जितेको छ।
टोलीले १२.५ ओभरमा ११७ रनको लक्ष्य पछ्यायो। रायन रिकेल्टन ६२ र सूर्यकुमार यादव २७ रनमा अविजित रहे। रोहित शर्माले १३ र विल ज्याक्सले १६ रन बनाए। दुवैलाई आन्द्रे रसेलले आउट गरे।
सोमबार, मुम्बईले वानखेडे स्टेडियममा टस जितेर बलिङ गर्ने निर्णय गर्यो। कोलकाता नाइट राइडर्सको टोली १६.२ ओभरमा ११६ रनमा अलआउट भयो।
एमआईका लागि डेब्यू गर्दै आएका अश्विनी कुमारले ३ ओभरमा ४ विकेट लिए। उनी आफ्नो डेब्यू आईपीएल खेलमा ४ विकेट लिने पहिलो भारतीय बने।
अश्विनी बाहेक दीपक चाहरले २ विकेट लिए। ट्रेन्ट बोल्ट, हार्दिक पाण्ड्या, विग्नेश पुथुर र मिचेल सान्टनरले एक-एक विकेट लिए।
कोलकाताका लागि अंगक्रिश रघुवंशीले सर्वाधिक २६ र रमनदीप सिंहले २२ रन बनाए।
अश्विनी आफ्नो आईपीएल डेब्यू खेलको पहिलो बलमा विकेट लिने मुम्बईका तेस्रो खेलाडी हुन्। यसअघि मुम्बईबाट खेलेका अल्जारी जोसेफ र डेवाल्ड ब्रेविसले डेब्यु खेलमा विकेट लिएका थिए।
चैत १९, २०८१ मंगलबार ०७:५७:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।