तीनकुने घटनाका दुवै मृतकको पोस्टमार्टम भएन, एकको देब्रे छातीमा प्वाल, अर्को पुरै जलेको

तीनकुने घटनाका दुवै मृतकको पोस्टमार्टम भएन, एकको देब्रे छातीमा प्वाल, अर्को पुरै जलेको

काठमाडौं : शुक्रवार करिब चार बजे एक घाइते युवालाई लिएर त्रिवि शिक्षण अस्पतालमा प्रहरी टोली पुग्यो। उनीहरू सिधै अस्पतालको इमर्जेन्सी कक्षमा छिरेका थिए। चिकित्सकहरूले घाइतेलाई इमर्जेन्सीको रेडजोनमा राखेर परीक्षण सुरु गरे। उनमा जीवन बाँकी रहेको कुनै सङ्केत देखिएन। अनि त्यहीँ नै ‘मृत’ घोषणा भयो।

प्रहरीले उनी तीनकुनेमा राजावादी समूहले आयोजना गरेको प्रदर्शन स्थलका घाइते भएको जानकारी दिए। चिकित्सकहरूले उनको शारीरिक अवस्था हेरे।

देब्रेतिरको छातीबाट गोली छिरेको देखियो। तर गोली निस्किएको देखिएन। देब्रे छातीबाट गोली छिर्दा फोक्सो लगायतका स्थानमा पुग्ने क्षतिका कारण उनको मृत्यु भएको हुनसक्ने भन्दै मृत्युको कारण पहिल्याउन शव पोस्टमार्टम गृहमा पठाइयो।

‘युवकलाई अस्पताल ल्याउँदा कोल्याप्स भइसकेका थिए। त्यसैले इमर्जेन्सीमै मृत घोषणा भयो,’ अस्पतालका एक चिकित्सकले भने ‘ देब्रे छातीबाट गोली प्रवेश गरेको देखिएको थियो। तर गोली निस्किएको देखिएन। अस्पताल ल्याउने अन्य घाइतेको संख्या पनि बढ्न सक्ने  जोखिम भएकाले हामीले पोस्टमार्टमका लागि पठायौँ।’

प्रहरीले खोजबिन गर्दा उनी कीर्तिपुरका २९ वर्षीय सविन महर्जन रहेको खुल्यो। उनको साथमा रहेको मोबाइलमा आएको कलको आधारमा प्रहरीले आफन्तलाई अस्पताल बोलाएका थिए।

आफन्तले प्रहरीलाई दिएको जानकारी अनुसार महर्जन काठमाडौँ-हेटौंडा रुटमा चल्ने सुमोका चालक हुन्। सानैमा आमाको मृत्यु भएपछि बुबाले दोस्रो विवाह गरे। उनलाई हजुरआमाले हुर्काएकी थिइन्। उनको करिब आठ वर्षकी छोरी छिन्। 

परिवारका सदस्यहरुका अनुसार उनी शुक्रबार काम बन्द भएकाले गाडी बनाउने भन्दै घरबाट निस्किएका थिए। तर उनी तीनकुने गए। प्रहरी र प्रदर्शनकारीको झडपमा गोली चल्दा उनलाई लाग्यो।

प्रहरीले प्रदर्शनको क्षतिबारे सार्वजनिक गरेको विवरणमा महर्जनलाई कहाँ गोली लाग्यो भन्ने खुलाइएको छैन। तीनकुने र कोटेश्वरको बिचको क्षेत्रमा गोली लागेको दाबी मात्र सार्वजनिक भएको छ।

सोमबारसम्म महर्जनको अन्तिम संस्कार हुन सकेको छैन। घटनाको छानबिन र क्षतीपूर्तीसहित शहीद घोषणाको माग गर्दै परिवारका सदस्यले पोस्टमार्टम गर्न सहमति नदिँदा शव शुक्रवारदेखि अस्पतालको पोस्टमार्टम गृहमा राखिएको छ।

शुक्रवार बेलुका त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा अर्को शव पुग्यो। पहिचानै हुन नसक्नेगरि डढेको शव सिधै पोस्टमार्टम गृहमा पठाइयो। शरीरका अधिकांश भाग डढेको शव एभिन्युजका पत्रकार सुरेश रजकको भएको खुल्यो।

उनी झडपको दृष्य छायांकन गर्न प्रदर्शनकारीले तोडफोड गरिरहेको घरभित्र जाँदा आगलागीको ट्रयापमा परेर मारिएका थिए। सार्वजनिक भएका फुटेजहरुमा उनी माथिल्लो तलाको एक कोठामा फुटाइएको झ्यालबाट भित्र गएर बाहिर भइरहेको झडपको छायाँकन गरिरहेको, तल्लो तलामा आगो लागेर धुँवा माथिल्लो भागमा पुग्दा अन्य तल झरे पनि उनी मोवाइलबाट दृष्य छायाँकनमै लागेको देखिन्छ।

चन्द्रागिरीमा बस्दै आएका ३४ वर्षका सुरेश विवाहित थिए। उनको शव पनि महर्जनको जस्तै अहिले महाराजगन्ज चिकित्सा क्याम्पसको फरेन्सिक विभागमा छ।

पत्रकार रजकको मृत्युबारे पनि अनेक शङ्का-उपशंका सार्वजनिक भइरहेका छन्। शरीरको जति भाग जोगिएको छ त्यसको आधारमा पोस्टमार्टमबाट मृत्युको कारण खुलाउन सकिने एक अनुभवी चिकित्सकले बताए।

‘शरीरको मुख्य भाग बाँकी रहेकाले पोस्टमार्टमबाट मृत्युको कारण खुल्न सक्ने देखिन्छ,’ ती चिकित्सकले भने ‘ तर पोस्टमार्टम हुन सकेको छैन।’

उनको परिवारले पनि शहीद घोषणा लगायतका माग राख्दै शव पोस्टमार्टमका लागि राजी भएका छैनन्।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग पत्रकारका परिवारका सदस्यले भेट गरेको थियो। भेटमा प्रधानमन्त्रीले पोस्टमार्टम गराउन अन्तिम संस्कार गर्न अनुरोध गरेका थिए।

दुवै शव फरेन्सिक विभागको फ्रिजमा राखिए पनि औपचारिक रूपमा विभागलाई शव हस्तान्तरण भएको छैन। जुन कारण पोस्टमार्टम हुन सकेको छैन। शव प्रहरीकै निगरानीमा रहेको देखियो।

मृत्यु भएको घोषणापछि जति छिटो पोस्टमार्टम हुन सक्यो मृत्युको कारण पहिल्याउन त्यति नै सहज हुने एक अनुभवीले बताए। शव परीक्षण जति ढिला भयो मृत्युको कारण लगायतका अन्य प्रमाणहरू शरीरबाट हराउँदै जाने जोखिम देखियो।

पोस्टमार्टममा भएको ढिलाइबारे नेपाल प्रहरीका प्रवक्ता दिनेश कुमार आचार्यसँग जिज्ञासा राख्दा उनले केही कानुनी प्रक्रियाका पूरा नभएकाले पोस्टमार्टम हुन बाँकी रहेको दाबी गरे।

‘पोस्टमार्टमका लागि जाहेरी आउनुपर्यो,’प्रहरी प्रवक्ताले भने,‘...कानुनी प्रक्रिया पूरा भएपछि पोस्टमार्टम हुन्छ।’

चैत १८, २०८१ सोमबार २३:२५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।