तीनकुनेमा मारिएका पत्रकारको परिवार भेटेर प्रधानमन्त्रीले दाहसंस्कार गर्न गरे आग्रह

काठमाडौं : राजावादीहरूको प्रदर्शनमा भएको आगलागीमा परेर मारिएका पत्रकार सुरेश रजकको परिवारका सदस्यसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेका छन्।
चैत १५ मा तीनकुने क्षेत्रमा भएको प्रदर्शनमा प्रदर्शनकारीले एक स्थानीयको घरमा गरेको आगलागीमा परेर उनको मृत्यु भएको थियो।
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवासमा रजकका परिवारका सदस्यहरूसँग भेट गरेका हुन्। भेटमा प्रधानमन्त्री ओलीले घटनाको छानबिन गरेर दोषीमाथि कडा कारबाही गरिने बताएका थिए।
रजकको परिवारले घटनाको छानबिनसहितको माग गर्दै पोस्टमार्टमका लागि समेत सहमत भएका छैनन्। पोस्टमार्टम नहुँदा दाहसंस्कार समेत भएको छैन।
प्रधानमन्त्री ओलीले मृतकको दाहसंस्कार गर्न परिवारजनलाई आग्रह गर्दै सुरेशकी श्रीमती सुजन रजकलाई रोजगारीलगायत आवश्यक पर्ने अन्य व्यवस्थाका लागि सरकारले काम गर्ने बताए।
सोमबार नै नेपाल पत्रकार महासंघको टोलीले गृहमन्त्री रमेश लेखकसँग भेटेर पत्रकारको मृत्यु घटनाको अनुसन्धान गरी दोषीमाथि कार्वाहीको माग गरेको थियो।
चैत १८, २०८१ सोमबार १९:०७:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।