शंका गर्नेलाई रविको प्रश्न ‘हामी परिवर्तन स्वीकार गरेर आएको दल हौँ, कति पटक परीक्षा दिनुपर्ने हो?’

शंका गर्नेलाई रविको प्रश्न ‘हामी परिवर्तन स्वीकार गरेर आएको दल हौँ, कति पटक परीक्षा दिनुपर्ने हो?’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान दुई तिहाइको सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जित भएको दाबी गरे। सहकारी ठगी लगायतका चार वटा मुद्दामा धरौटीमा छुटेका उनी सोमबार पार्टीको सभापति पदमा फर्कँदै सरकारको तीव्र आलोचना गरे।

रास्वपाको केन्द्रीय समितिको विशेष बैठक अगाडि बोल्दै उनले लोकतन्त्र, गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेको दाबी गर्दै त्यसको खबरदारी गर्न शरीरमा एक थोपा रगत भएसम्म पछि नहट्ने दाबी समेत गरे।

 ‘सरकारले सक्ने जति जोड बल लगाएको छ। केही नभएको भए त्यत्रो धरौटी लिन्थ्यो अदालतले भन्छन्। तिमिहरूको दुई तिहाइको सरकारले मलाई जिउँदै छोडेको छ यही नै मेरो जित हो। शरीरमा एक थोपा रगत हुन्जेलसम्म यो लुटतन्त्रको विरोधमा उभिने छु।’

उनले लोकतन्त्र, गणतन्त्रको आडमा लुटतन्त्र मच्चाई रहेकाहरूलाई खबरदारी गर्न आफू पछि नहट्ने बताए। उनले वर्तमान संविधान र व्यवस्थालाई मानेर रास्वपा आएको भन्दै प्रश्न गरे ‘कति पटक परीक्षा लिन्छौँ?’

पूर्वगृहमन्त्री समेत रहेका उनले गृह प्रशासनको आलोचना गर्दै चार हजार मान्छे सडकमा आउँदा पनि सुरक्षा प्रबन्ध गर्न नसकेको भन्दै आलोचना गरे।

अहिलेका दलहरूले लोकतन्त्रको नाममा लुटतन्त्र मच्याएको दाबी गर्दै वर्तमान दलहरू रास्वपा फुटाउन सकिन्छ कि भनेर लागिरहेको आरोप समेत लगाए।

सम्बोधनमा उनी अधिकांश समय आफ्नो व्यक्तिगत मुद्दामा केन्द्रित हुँदै सरकारप्रति आलोचक देखिएका थिए।

उनले अहिले सडकमा आएकाहरू राजावादीहरू मात्र नआएको भन्दै जो दण्डित नहुनुपर्ने हो उसलाई दण्डित गरेकोमा पनि आएको दाबी गरे।

रविमाथि विभिन्न पाँच सहकारीको बचत रकम ठगी गरेको अभियोग लागेको थियो। पोखराको सुर्यदर्शनसहित चार सहकारीको रकम अपचलनमा उनी करिब दुई करोड बढी धरौटीमा मुक्त भएका थिए।

उनले सरकारले आफ्नो टाउकोमा तरबार राखेको दाबी गर्दै यसबारे आगामी शनिवार आफू चितवन गएर जानकारी दिने बताए। रास्वपाका सभापति पदमा फर्किए पनि उनको सांसद पल भने निलम्बित छ।

चैत १८, २०८१ सोमबार १८:३७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।