मन्त्रीप्रति लोयल नभएपछि कुलमानलाई निकालिएको ओ‌लीको प्रष्टिकरण, मनिषले सोधे- ‘कर्मचारी मन्त्रीप्रति लोयल हुने कि देशप्रति?’

मन्त्रीप्रति लोयल नभएपछि कुलमानलाई निकालिएको ओ‌लीको प्रष्टिकरण, मनिषले सोधे- ‘कर्मचारी मन्त्रीप्रति लोयल हुने कि देशप्रति?’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधामन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङ मन्त्रीप्रति लोयल नभएकाले हटाइएको भन्ने भनाइप्रति आपत्ति जनाएका छन्।

प्रतिनिधि सभाको आजको विशेष समय बोल्दै उनले प्रधानमन्त्रीको जवाफको विरोध गरेका हुन्। उनले कर्मचारी मन्त्रीप्रति लोयल हुने कि देशप्रति भन्दै प्रश्न समेत गरेका छन्।

उनले भने, ‘एउटा कर्मचारीको सरुवा हुँदै गर्दा ऊ मन्त्रीप्रति लोयल हुने भन्नुभयो प्रधानमन्त्रीज्यूले। कर्मचारी मन्त्रीप्रति लोयल हुने कि देशप्रति? कस्तो कुरा गरेर जानुभयो उहाँले?’

उनले कर्मचारी राज्य र राज्यले उसलाई दिएको जिमेवारीप्रति लोयल हुनुपर्ने भन्दै प्रधानमन्त्रीको आशय गलत थियो कि संकार भन्दै प्रश्न गरेका छन्।

‘राज्यप्रति, राज्यले तोकेको कार्यविवरणप्रति, जे कार्यविधि लिएर आएको छ त्योप्रति, उसको संस्थाको लक्ष्यप्रति लोयल हुने कर्मचारी हामीलाई चाहिएको छ। कुनै मन्त्रीप्रति लोयल हुने होइन। त्यो गलत आशय थियो कि गलत संस्कार हो?’, उनले अगाडि प्रश्न गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई गणतन्त्रवादी कि राजतन्त्रवादी भनेर कित्ता क्लियर गर्न चुनौती आइरहेको बेला सांसद् झाले आफूहरू लोकतन्त्र मान्ने दल भएको बताएका छन्।

उनले अगाडि भने, ‘लोकतन्त्र मानुहुन्छ र गणतान्त्रिक भन्नुहुन्छ भने हामी पनि त्यहीँ छौँ, हामी पनि मान्छौँ। तर यो अवसरवाद र राजनीतिक मिटरब्याजीको अभ्यास गर्ने लोकतन्त्र र गणतन्त्र होइन, हामी निश्पक्ष, अनुशासित र संविधानले तोकेको मानेर आएका छौँ र यो हामी यो देशका हरेक कर्मचारीलाई देश, नागरिक, मतदाता र करदाताप्रति लोयल भइदिन भन्छौँ, कुनै मन्त्रीप्रति होइन।’

प्रतिपक्षीले कुलमान घिसिङको बर्खास्तीको विषयलाई लिएर उठाएको प्रश्नका सन्दर्भमा जवाफ दिने क्रममा आज प्रधानमन्त्री ओलीले विभागीय मन्त्रीप्रति लोयल्टी नदेखाइएकाले उनलाई हटाइएको बताएका थिए।

‘सामान्यतः कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन वा मन्त्रीप्रति लोयल्टी राखिएन भने त्यस्तो अवस्थामा सरुवा गर्ने, जगेडामा राख्ने, स्पष्टिकरण माग्ने, नसीयत चेतावनी दिने वा पदमुक्त गर्ने गरिन्छ,’ उनले भनेका थिए, ‘यो अहिलेको सरकारले मात्र होइन, जहिलेको सरकारले पनि गर्छ। अहिले पनि भएको छ, जहिले पनि भएको छ।

चैत १८, २०८१ सोमबार १४:२६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।