तीनकुने घटनाबारे संसद : गणतन्त्रको गान र राजतन्त्रको स्तुति गाउनै खर्चियो विशेष समयको एक घण्टा

तीनकुने घटनाबारे संसद : गणतन्त्रको गान र राजतन्त्रको स्तुति गाउनै खर्चियो विशेष समयको एक घण्टा

काठमाडौं : सोमबारको प्रतिनिधि सभा बैठक चैत १५ गते तीनकुनेमा भएको घटनामा केन्द्रीत भयो। सत्ताधारी र प्रतिपक्षी दलहरुले घटनाको विरोध गर्दै छानविन आयोगको माग गरे।

सो क्रममा सत्ताधारी र गणतन्त्रवादी दलहरुले गणतन्त्रको गुणगान भज्दै राजतन्त्रको विरोध गर्दा राजावादी दल राप्रपाले राजसंस्थाको स्तुति गाएर गणतन्त्रका नाममा नेताहरूले गरेको ब्रम्हलुट गरेको आरोप  लगायो।

कांग्रेस सांसद विश्वप्रकाश शर्मा, एमाले सांसद योगेश भट्टराई र माओवादी सांसद् रेखा शर्माले गणतन्त्रको उपलब्धीबारे सुनाए। उनीहरुले राजतन्त्रको बेलामा भएको जीडिपी, विकास निर्माण, विद्युतीकरण, खानेपानी लगायतका विषयसँग अहिलेको विकासको तुलना गरे।

उनीहरुले पृथ्वीनारायाण शाहलाई आफूहरुले सम्मान गरे पनि त्यसपछि भएका राजाहरुले देशमा उपलब्धी गराउन नसकेको जिकिर गरे। पृथ्वीनारायण शाहको पालामा भएको जमिन समेत त्यसपछिका राजाको गुमाउनुपरेको भन्दै उनीहरुले राजतन्त्रको विरोध गरे।

यता राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले भने राजतन्त्रको बेलाका सकारात्मक कामको चर्चा गर्दै गणतन्त्रमा मुलुकलाई लागेको ऋणको तथ्याङ्क प्रस्तुत गरे। गणतन्त्रवादी दलहरूले जीडिपी र विकास निर्माणका बारेमा कुरा गर्दै गर्दा लिङ्देनले भने गणतन्त्रपछि मुलुकलाई लागेको ऋणको विषय बोले।

उता राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले १५ गतेको घटनामा एउटा पक्षलाई मात्र आरोप लगाउने अवस्था नभएको भन्दै पछाडि फर्किएका युवालाई गोली हान्नुमा प्रहरी र सुरक्षा कमजोरीबारे पनि छानबिन हुनुपर्ने माग गरे।

साथै उनले कुलमान घिसिङ सरकार र मन्त्रीप्रति लोयल नभएकाले हटाइएको भन्ने प्रधानमन्त्रीको स्पष्टिकरणमा प्रतिप्रश्न गर्दै कर्मचारी मन्त्रीप्रति लोयल हुने कि कानूनले तोको जिम्मेवारीप्रति भन्दै प्रश्न गरे।

चैत १८, २०८१ सोमबार १३:४७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।