महिला उद्यमी शोभाको प्रसव पीडा र खुसी : कान्छो छोरा गर्भमा आएपछि ‘नो! यस्तो किन गरेको?’ भन्दै छोरी रिसाएर उल्का

महिला उद्यमी शोभाको प्रसव पीडा र खुसी : कान्छो छोरा गर्भमा आएपछि ‘नो! यस्तो किन गरेको?’ भन्दै छोरी रिसाएर उल्का

महिला उद्यमी महासंघकी अध्यक्ष हुन्- शोभा ज्ञवाली। नेपाल रिपब्लिक मिडियाको निर्देशक समेत रहेकी उनी विभिन्न संस्थामा आवद्ध भएर महिला उद्यमीहरूको वकालत समेत गर्ने गर्छिन्। १५ वर्षदेखि महासंघमा जोडिएकी उनले विभिन्न लेखसमेत लेख्ने गर्छिन्।

‘सम्पूर्ण आकाश र संघर्ष’ नामक पुस्तक पनि उनले लेखेकी छिन्। सम्पन्न घरमा जन्मिएको कारण आम महिलाहरूको संघर्षको बारेमा बुझ्न उनलाई धेरै समय लाग्यो। समाजमा महिलाहरूलाई ‘दोश्रो दर्जा’मा राखेको थाहा पाएपछि आफैँले उनीहरूको बारेमा आवाज उठाउनुपर्छ भन्ने लागेको उनी बताउँछिन्।

सानै उमेरमा विवाह गरेकी उनले त्यसपछि नै आफ्नो पढाइ र करियरलाई अघि बढाइन्। स्नातकोत्तरसम्म पढेकी उनले पछि आफ्नै मिडियामा लेख्न पनि थालिन् अनि बिस्तारै मिडिया नै हाँक्न थालिन्। उनी तीन सन्तानकी आमा समेत हुन्। उनै शोभाले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी सुनाइन्:

०००

एउटा सम्पन्न घरको छोरीबुहारीको जस्तो लाइफस्टाइल थियो मेरो। अफिस जाने, आफ्नो काममा इन्जोय गर्ने गर्थेँ। कहिलेकहिँ आफैलाई म को हुँ? के हुँ? भन्ने प्रश्न गर्थेँ। महिला उद्यमी महासंघमा आएपछि आर्थिक अवस्था निकै कमजोर भएको दिदीबहिनीहरूसँग भेट हुन थाल्यो। उनीहरूको कथा सुनेर छटपट हुन थाल्यो।

म काठमाडौंमै जन्मिएको हुँ। सबै कुरा पुगेको ठाउँमा। हाम्रो पाँच सन्तानमा म दोश्रो नम्बरमा पर्ने गर्छु। पापा(बुवा) नेपाल सरकारको सेक्सन अफिसर हुनुहुन्थ्यो। अम्मी (आमा) बनारसमा पढ्नुभएको। पछि यहाँ बाबासँग विवाह भएको। पापाको काम जहाँ हुन्थ्यो, हामी पाँच सन्तान पनि त्यहीँ गएर पढ्ने हुन्थ्यो।

मेरो १७ वर्षकै उमेरमा विवाह भयो। विवाहपछि नै स्नातकोत्तरसम्म पढेकी हुँ मैले। राम्रो घरपरिवार भनेर मेरो मागी विवाह गरिदिनुभएको हो। त्यसबेलासम्म म निकै अन्तर्मुखी स्वभावकी थिएँ। दोहोरो कुरा गर्न सकस हुन्थ्यो। ‘अप्पर क्लास’मा बिहे पछि उहाँहरूको व्यक्तित्वसँग बरोबर हुन मलाई समय नै लाग्यो।

सासु-ससुरालाई मान्न पर्छ, घरपरिवार हेर्नुपर्छ भनेर त्यसबखत आफैँ दिमागमा आइसक्थ्यो। अहिले पनि घरमा त सानै स्वरले बोल्ने गर्छु। विवाहपछि श्रीमानको धेरै साथ पाएँ। मैले जे भने पनि मान्नुहुने। घरको काम सबै व्यवस्थापन बुहारीले नै गर्नुपर्ने भन्ने हुन्थ्यो। ठूलो घरमा फेरि पाहुना पनि धेरै हुने।

बिहेपछि घरबार सम्हाल्न शुरूमा गाह्रो नै भएको थियो। तर, जति नै चुनौती भए पनि पढाइमा रोकतोक भएन। मिहिनेत पनि गरेँ। काम पनि गर्न थालेँ। हाम्रो तीन जना सन्तान छन्। त्यो बेला प्लान गर्ने के गर्ने भन्ने नै भएन। बिहे गरेको अर्को वर्ष छोरी जन्मिहालिन्। छोरी लिएर शंकरदेवमा पढ्न गएको म अहिले पनि सम्झिन्छु।

साथीहरूले कसको बच्चा ल्यायो भनेर जिस्काउँथे। तीन जना सन्तानमै पाँच वर्षको उमेर अन्तर छ। मलाई बच्चाहरू पहिलादेखि नै एकदम मनपर्ने। पढ्दै रमाउँदै काम गरेँ। पहिलोपटक गर्भवती हुँदा त्यति धेरै केहि पनि सोचिनँ।

खाना रुच्दैथ्यो। जे खानेकुरा देखे पनि उक्क आउँथ्यो। त्यसबेला राम्रो नराम्रो धेरै विचार पनि आउने रहेछ। एकपल त ‘जिन्दगी नै यस्तै रहेछ’ भन्ने पनि भएको थियो। पछि छोरा जन्मिँदासम्म त अलि बुद्धि पुगेको थियो। त्यो बेला धेरै उत्साहित हुन्थेँ। के खान मन लागेको छ पनि भन्थेँ।

दुवै छोराहरूको पालोमा मेरो अनुहारमा पनि निकै चमक आएको थियो। छोरी जन्मँदाको पल खासै याद छैन। त्यसबेला म सानै थिएँ। पहिलो पटक नौलो नै लाग्ने रहेछ। मैले मेरो सन्तानहरूलाई सक्षम बनाउनुपर्ने, हुर्काउन पर्नेमा जानेको जति सबै गरेँ।

प्रसव व्यथाको समयमा मलाई निकै पेट दुखेको जस्तो भएको थियो। त्यस्तो सारो पेट दुख्छ भन्नेसम्म मलाई थाहा थिएन। अस्पतालमा त मैले त्यहाँको सिस्टरहरूलाई अँगालो मारेर ‘मलाई माया गरन प्लिज, मलाई निकै गाह्रो भएको छ’ भनेको थिएँ।

दुईटा छोरा पाउँदा मलाई त्यति धेरै गाह्रो नै भएन। बेलुका अस्पताल गएको तीन/चार बजे सम्म त मैले बाबुलाई जन्म दिइसकेकी थिएँ। नानीको पालोमा अलि गाह्रो भएकै हो। सायद पहिलो सन्तान भएर पनि होला।

शरीरहरू पनि सुन्निएको थियो। म खाना खान सक्दिनथेँ। तौल धेरै बढेको थिएन तर पनि उभिन धेरै गाह्रो हुन्थ्यो। त्यसबेलामा ‘वर्षेनी बच्चा पाउँदा पाउँदै यस्तो भयो’ भनेर टिभीमा विज्ञापन आउँथ्यो। नाक पनि चुच्चो, अनुहारमा छायापोतो अनि दुब्लो। छोरीको पालोमा म त्यस्तै भएकी थिएँ।

त्यै भएर छोराहरूको पालोमा आफ्नो पनि निकै केयर गर्ने। त्यस अनुसारले राम्रो पनि भयो। स्वास्थ्य पनि उल्कै राम्रो भएछ। सबैलाई स्तनपान पनि राम्रोसँग गराएको छु। नानीले त स्कुल पढेर आउँदा समेत दूध खान्थी। स्तनपान गराइराख्दा रगत पनि बगिरहने हुने रहेछ। मेरो त नानी भएको चार/पाँच वर्ष सम्म रगत बगिराखेको थियो।

स्तनपान र रगत बग्नु सम्बन्धित हुन्छ भनेपछि स्तनपान धेरै गराइन। सुत्केरी स्याहार पनि मेरो सासुले एकदम राम्रो गरिदिनु भयो। कसैको पनि सुत्केरी स्याहार राम्रो भयो भने पुनर्जन्म भएको सरह हुन्छ भन्नुहुन्थ्यो। सुरूमा तेल लगाउँदा सिकसिक लाग्थ्यो। मेरो जिउ बिग्रियो भन्ने लाग्थ्यो।

तर मुवाहरूले जे भन्नुभयो त्यसलाई नाइँ भनिनँ। त्यै भएर अहिलेसम्म म बिरामी भएको नै थाहा छैन। अहिले पनि म २४ घण्टा खटेर काम गर्न सक्छु। ज्वानोको सुप, मिश्री, काडा पानी खाएँ त्यसबेला। माइती पनि गएँ। अम्मीले नि खुब माया गर्नुभयो। उहाँहरूले अत्ति धेरै माया गर्नुभएको थियो।

छोरी पाउँदा खेरि त पुतलीले पुतली पायो भन्नुहुन्थ्यो। आफूलाई पनि रमाइलो लाग्थ्यो। तेश्रो सन्तानको समयमा चैँ माइती गइनँ। किनभने हाम्रो अर्को अफिस सुरू भएको थियो। त्यै भएर हामी भिन्नै पनि बस्यौँ। ससुराले पनि आफ्नो आमा डेलिभरी गर्दागर्दै बित्नुभएको थाहा पाउनु भएर बुहारीहरूको एकदम केयर गर्नुहुन्थ्यो।

त्यै भएर घरमै बस्ने माहोल पनि भयो। तेश्रो सन्तान हुँदा छोरी भारतमा पढ्न गइसकेको थियो। उसले 'नो ! यस्तो किन गरेको? यस्तो गर्न हुन्न। मलाई भाइ थियो।’ भनेर रिसाएकी थिएँ। ‘तिमीलाई गाह्रो हुन्छ’ भन्थी। म त के भन्ने-भन्ने!

तर ठिकै छ। तीन जनालाई नै हुर्काइयो। सकियो भने त बच्चा धेरै भएकै ठिक छ। उनीहरू तीन जना आफैँ-आफैँमा भुलेर बस्थ्यो। भाइलाई दाइले हेरिदिने। दिदीले भाइलाई हेर्दिने गर्थ्यो। अहिले पनि म भन्दा बढी मेरो छोरी आफ्नो भाइहरूको बारेमा चिन्तित हुन्छे।

छोरी मसुरी इन्टर्नेशनल स्कुलमा पढ्थी। गान्धी, नेहरुले लेखेको जस्तै मैले उसको लागि पनि धेरै चिठी लेख्थे। अहिले त उ मेरो छोरी भन्दा पनि साथी जस्तै भएकी छे। ऊ मेरो गर्भमा रहँदाको पल र जन्मँदाको पल खासै केही गरे जस्तो लाग्दैन। उसको भाइहरूको समयमा त यो खान हुन्छ/हुन्न, गर्न हुन्छ/हुन्न सबै थाहा भएको थियो। 

तीनै जना सन्तानलाई पढाइमा अगाडि बढाएँ। छोरी अहिले नागरिक मिडियामै काम गर्छे। छोराले पनि भर्खर एमबीए गरेर आएको छ। कान्छो भर्खर सान डिएगोमा पढ्न गएको छ। तीनै जना सन्तानलाई मैले अस्पतालमा प्राकृतिक रूपमै जन्म दिएको हुँ।

विदेशमा पढेर यहीँ केही गर्ने भनेर आएका छन्। सानो चैँ फर्किन्छ जस्तो लाग्दैन। दुईटाले त अहिले हामीलाई एकछिन पनि छोड्दैन। के काम गर्ने भनेर छलफल गरिरहेको हुन्छ। छोरीको त बिहे पनि भइसक्यो। म सँग दुई जना छन् यता। दुवै ज्ञानी स्वभावको छ। अब हेर्दै जाउँ आफ्नो क्षेत्रमा कस्तो काम गर्छ।

मेरो अम्मी नभए पनि उहाँले गर्नुभएको माया मैले धेरै सम्झिने गर्छु। त्यै भएर कहिलेकहीँ मैले आफ्नो सन्तानलाई कम समय दिएकी जस्तो पनि लाग्छ। सानोमा उनीहरूलाई होमवर्क गराउन पर्दा निकै झर्को लाग्थ्यो। के गर्नु त्यो बेला आफैँलाई केही थाहा थिएन। त्यसरी नझर्किएको भए हुन्थ्यो भन्ने लाग्छ।

स्कुल पढ्दासम्म उनीहरूले समय दिएन भनेर गुनासो पनि गर्थे। अहिले पनि छोरीलाई माइतमा बोलाएर धेरै बेर बसौँ भन्ने लाग्छ। तर माहोल नै मिलिरहेको छैन। मनमा चैँ आफ्नो सन्तानलाई अथाह माया गरौँ जस्तो लाग्ने रहेछ। तर, मैले उनीहरूलाई धेरै माया दिन सकिन कि भन्ने लाग्छ।

चैत १८, २०८१ सोमबार ०९:५३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।