तीनकुनेमा असफल गृह संयन्त्र : चुकेको कि नियोजित !

तीनकुनेमा असफल गृह संयन्त्र :  चुकेको कि नियोजित !
तस्विर : दिपेश श्रेष्ठ/उकेरा

काठमाडौँ : राजा फर्काउने आवरणमा शुक्रवार वितण्डा मच्चिएका स्थानहरूको अवलोकनका क्रममा एकीकृत समाजवादीको कार्यालय पुगेका गृहमन्त्री रमेश लेखकलाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रश्न गरे‘तपाईँको आदेश प्रहरीले नमानेका हुन्? हामीलाई त त्यो पो शङ्का छ।’

गृहमन्त्री लेखक मौन बसे। नजिकै रहेका प्रहरी महानिरीक्षक दीपक थापाले भने‘आदेश मानेका हौँ हजुर।’

त्यसपछि एकीकृत समाजवादीका अर्का नेताले भने‘बिहान ११ बजे नै हाम्रो पार्टीको बोर्डमा गोबर फ्याँकिदिएका थिए। हामीले प्रहरीलाई भनेका थियौँ।’

आलोकनगरमा छ एकीकृत समाजवादीको पार्टी कार्यालय। शुक्रवारै सोही पार्टीसहितको समाजवादी मोर्चाले राजावादीहरूको सक्रियताको विपक्षमा भृकुटीमण्डपमा विरोध सभा राखेका थिए।

शुक्रवार बिहान गोबर फ्याँकिएको घटनाले गणतन्त्रको पक्षमा रहेका दल र त्यसका नेता राजा ल्याउने प्रदर्शनमा सहभागीको तारोमा पर्न सक्ने सङ्केत गरेको थियो। तर प्रहरीले शुक्रवार बिहानै गोबर फ्याँकेको घटनालाई सामान्य रूपमा लिँदा दिउसो असामान्य घटना भइदियो त्यहीँ।

एक समूहले एकीकृत समाजवादीको पार्टी कार्यालयलाई आक्रमणको तारो बनायो। पार्टी कार्यालयमा रहेका सामानहरू सडकमा ल्याएर आगो लगाइदिए। त्यो बेलासम्म कार्यालयभित्र आगो लागिसकेको थिएन।

कार्यालयको फर्निचर र केही दस्ताबेज सडकमा बालेर मात्र चित्त बुझेन प्रदर्शनकारीको। केही बेरमा उनीहरूले पार्टी कार्यालयमै आगो झोसिदिए।

प्रदर्शनकारीलाई नयाँ बानेश्वर आउन नदिन राखिएको ब्यारिकेट।शान्तिपूर्ण भनिएको प्रदर्शन हिंसात्मक बन्दा त्यसको तारोमा सरकारी कार्यालय र दलका कार्यालय मात्र परेनन्, स्थानीयको घर समेत दनदनी बले। भाटभटेनी सुपर मार्केट लुटियो।

मुस्किलले पाँच हजार हाराहारीमा रहेका प्रदर्शनकारीहरूको आतङ्क डेढ घण्टामै यसरी छरियो कि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक उडानहरु नै केही समय रोकियो।

तीनकुनेमा सल्किएको आगो जडीबुटी चोकमा रहेको आयुर्वेदिक औषधी उत्पादन तथा प्रशोधन केन्द्रको प्राङ्गणमा पुगेर कारखानै ध्वस्त भयो। आगो नियन्त्रण लिन चार घण्टा लाग्यो। धन्न २५ हजार लिटर तेल भएको भवनमा आगो सल्किएन। नत्र त्यसले जडीबुटी क्षेत्रमा ल्याउने वितण्डा र जनधनको क्षति आकलन बाहिर पुग्ने थियो।

प्रहरीकै तथ्याङ्कमा तीनकुनेमा सुरु भएको हिंसात्मक प्रदर्शन र तोडफोडको शृङ्खला बढ्दा १४ ठाउँमा आगो लागेको उल्लेख छ। नौ ठाउँमा तोडफोड भयो। र, एक ठाउँमा लुटपाट भयो।

प्रदर्शनकारीलाई पानीको फोहराले नियन्त्रण गर्न  राखिएको वाटर क्यानन।शुक्रवारको घटनामा आयोजकको बदमासी देखियो नै। विरोध प्रदर्शन र त्यसले निम्त्याएको वितण्डाको शैली, परिचालित प्रहरीको सङ्ख्या, कार्यक्रमस्थल र वरिपरि भएका क्षतिले गृह र सुरक्षा संगठन पनि यो वितण्डाको भागेदारीमा अलग देखिएनन्।

केही घटनाले कतै कार्यक्रमका सहभागीहरूलाई भड्काउने नियतमा राज्य संयन्त्र नै संलग्न त थिएन भन्ने प्रश्न समेत जन्माएको छ।

शुक्रवार तीनकुनेबाट सुरु भएको वितण्डाको कारण र कारक को-को र के-के हुन्? आयोजकको नियत र गृह प्रशासनको उपस्थिति र रणनीति किन शङ्कारहित देखिएनन्?

उकेराले यसैको उत्तर खोज्न भिड नियन्त्रण र व्यवस्थापनका अनुभवी, केही अवकाशप्राप्त, केही सुरक्षा सङ्गठनमै कार्यरत सुरक्षाकर्मी, केही शुक्रवार तीनकुनेको सुरक्षामा खटिएकाहरूसँग सम्पर्क गर्यो। तीनकुनेमा अपनाएको भिड नियन्त्रण विधि र अभ्यास हेर्दा आयोजकको नियत जति कालो देखियो त्यसमा राज्यको मुहार पनि सफा देखिएन।

यो सामग्री त्यही स्थलगत अध्ययन, घटनाको तथ्यको विश्लेषण र सुरक्षाबारे जानकारहरूसँगको सम्पर्कका क्रममा आएका तथ्य र तर्कको आधारमा तयार पारिएको हो।

कार्यक्रम स्थलको चयनमै लापरबाही

तीनकुने, विरोध प्रदर्शनका लागि त्यति प्रयोग हुने स्थान हैन। पहिलो पटक यसको प्रयोग एमाले भातृ संगठन युवा संघले गरेको थियो। २०८० मंसिर ७ मा युवा संघ र दुर्गा प्रसाँई समूहले एकै दिन शक्ति प्रदर्शनका लागि सडक रोजेका थिए।

दुवै समूहले माइतीघर मण्डलामा कार्यक्रम गर्ने घोषणा गरे। स्थानीय प्रशासनले दुवै समूहलाई भेट हुन नदिने रणनीति अनुसार युवा संघलाई तीनकुने तोक्यो, प्रसाँई समूहलाई बल्खु तोक्यो।

कार्यक्रमको प्रारम्भमा भेला भएका प्रदर्शनकारीहरु।

करिब एक वर्षपछि पुन एकै दिन गणतन्त्रवादीहरू समाजवादी मोर्चाको नाममा र राजावादीहरू  ‘राजसंस्था पुनःस्थापना लागि संयुक्त जनआन्दोलन समिति’ को नाममा शक्ति प्रदर्शनमा सडकमा उत्रिए।

स्थानीय प्रशासनले यो पटक समितिलाई तीनकुनेमा स्थान तोक्यो, समाजवादी मोर्चालाई भृकुटीमण्डप।

कसलाई, कहाँ प्रदर्शन गर्न दिने वा नदिने त्यसको अनुमतिको अधिकार जिल्ला प्रशासन कार्यालयसँग छ। त्यसै अनुसार यी दुवै स्थान जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको थियो।

यसैमा सबैभन्दा ठूलो त्रुटि देखियो।

१-जहाँ वाकिटकी नै सुनिन्न

प्रदर्शनबारे जिल्ला सुरक्षा समितिमा छलफल हुँदा तीनकुने क्षेत्रमा अनुमती दिन नहुने मत समेत आएको खुल्यो। सुरक्षा संगठनको प्रतिनिधिले सुरक्षाको दृष्टिकोणले सो क्षेत्र उपयुक्त नहुने सुझाव दिएका थिए। तर प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले तर्क सुनेनन्।

प्रहरीले प्राविधिक समस्या समेत देखाएर तीनकुनेमा विरोध प्रदर्शन गर्दा सुरक्षा समन्वयमा समस्या आउने तर्क गरेको थियो।कारण दिइयो ‘तीनकुने क्षेत्रमा प्रहरीको सेट र मोबाइल दुवैको सिग्नल कमजोर हुन्छ। लाग्दैन, लागे प्रस्ट सुनिँदैन।'

‘तीनकुने क्षेत्रमा प्रहरी सेटकै सिग्नलमा समस्या देखिन्छ। युवा सङ्घको विरोध प्रदर्शनको समयमा पनि समस्या देखिएको थियो,’ एक अनुभवी सुरक्षाकर्मीले उकेरासँग भने।

शुक्रवार सो क्षेत्रको सुरक्षामा खटिएका केही सुरक्षाकर्मीसँग उकेराले सम्पर्क गर्दा उनीहरूबाट पनि त्यस्तै गुनासो सुनियो। मोबाइल अनि वाकिटकी दुवैमा सम्पर्क गर्न समस्या भएको र संवाद प्रस्ट नसुनिएको तिनको दाबी थियो।

प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले टियर ग्याँस हानेका थिए।यसबारे नागरिक उड्डयन प्राधिकरणका अधिकारीसँग जिज्ञासा राख्यौँ।  प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले दिएको जानकारीका आधारमा प्रहरीले जे समस्या देखाएका थिए त्यो प्राविधिक रूपमा पुष्टि भयो।

सुरक्षाका लागि एयरपोर्ट क्षेत्रमा कम्युनिकेसन नेभिगेसन र सर्भिलेन्स इन्स्टल भएको छ।नेभिगेसन १०८ देखि ११८ मेघाहर्जसम्म र ११८ देखि १३६ मेघाहर्जसम्म कम्युनिकेसन चलेको हुन्छ! यसको प्रभावले विमान उड्ने र उत्रने समयमा वरपरका अन्य फोनका नेटवर्क अनि रेडियो उपकरणका तरङ्गहरू प्रभावित हुन्छन्। सिग्नल सहजै टिप्दैन।

‘यी वेबहरूले अन्यत्र पनि असर गर्छ। प्रहरीको सेट र मोबाइलमा पनि त्यही रेडियो वेबले असर गरेको होला,’ भुलले भने।

२-अन्तर्राष्ट्रिय विमानस्थल

तीनकुनेमा विरोध सभा हुँदाको अर्को सुरक्षा जोखिम हो अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र।

बल प्रयोग गर्ने हो भने सडकबाट विमानस्थलको धावनमार्ग क्षेत्रमा प्रवेश गर्न गाह्रो छैन। कार्यक्रमस्थल र विमानस्थलको मूल भवनसँगको दुरी पनि करिब डेढ किलोमिटर मात्र हो।

'विमानस्थलै कब्जा हान्ने हो' भन्ने समूहलाई स्थानीय प्रशासनले विमानस्थलबाट यति नजिक कार्यक्रम आयोजनाको अनुमति दियो।

विमानस्थलमा अवतरणको बेलामा न्यून उचाइमा समेत विमान रहने भएकाले त्यस क्षेत्रमा हवाई फायर गर्नु जोखिमपूर्ण काम हो। यतिसम्मको सुरक्षा संवेदनशीलता पनि गृह प्रशासनले हेरेको देखिएन।

३-जोखिम बढाउने इन्धन डिपो

सिनामंगलमा नेपाल आयल निगमको विमानका लागि चाहिने इन्धन राख्ने डिपो छ। तीनकुनेको विरोध प्रदर्शनस्थल र डिपोको दुरी मुस्किलले एक किलोमिटर पर देखिन्छ। यी दुवै स्थान कति संवेदनशील हो भन्ने शुक्रवारकै घटनामा पनि देखियो। प्रदर्शनकारी उग्र हुँदै सिनामंगल क्षेत्रतिर लागे। इन्धन डिपोबाट त्यस्तै सय मिटरको दुरीमा उनीहरूले आगो लगाउन सुरु गरे।

आगो विमानस्थलको मुल भवनतिर सल्कियो। विमानस्थलभित्रै वा नजिकैको डिपोमा पुगेमा ठूलो जनधनको क्षति हुने जोखिम देखेर नागरिक उड्डयन प्राधिकरणले तत्काल राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान रोक्यो।

भुलका अनुसार त्यो दिन पाँच वटा आन्तरिक उडान डाइभर्ट गरियो। चार वटा अन्तर्राष्ट्रिय जहाजलाई होल्डमा राख्नुपर्यो। जब आगो नियन्त्रणमा आयो अनि मात्र सबै उडान सुरु भयो।

‘समयमै आगो नियन्त्रणमा नआएको भए ठूलो क्षति हुन्थ्यो,’ भुलले उकेरासँग भने।

विमानस्थल परिसरमा भएको आगलागी।अर्को पक्ष, तीनकुने क्षेत्र अहिले व्यापारिक हब बनिसकेको छ। व्यापारिक हब क्षेत्रमा विरोध प्रदर्शन गर्न दिँदा विरोधी समूहले सरकारको रिस वरपरका भौतिक संरचनामा पोख्दा आम नागरिकको सम्पत्तिमा क्षति पुग्ने जोखिम हुन्छ। त्यही भयो तीनकुनेमा शुक्रवार। प्रहरी छतमा बसेको बहानामा वरपरका घर तोडफोड भयो। आगो नै लगाइदिए।

४-विरोधी दल र सञ्चारमाध्यमको भवन

शुक्रवार राजावादीहरूको प्रतिकार गर्ने भन्दै सडक प्रदर्शनमा उत्रिएको माओवादी केन्द्रको कार्यालय राजावादीको कार्यक्रमस्थलबाट नजिकै नै छ। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको घर पनि नजिकै। यसको जोखिम हेरेको देखिएन सुरक्षा संयन्त्रले।

नेपालको घर खोज्दै पुगेको समूहलाई प्रहरीले बेलैमा तितरबितर नबनाएको भए अवस्था फरक हुने थियो। घरमा केही ढुङ्गा मात्र प्रहार भयो। पेरिस डाँडामा रहेको माओवादी केन्द्रको हेडक्वार्टरसम्म प्रदर्शनकारी पुगेका थिए, धन्न क्षति हुनबाट जोगियो।

दुर्गा प्रसाईँले निरन्तर सञ्चारमाध्यम विरुद्ध अभिव्यक्ति दिँदै आएका छन्। त्यो क्रम आइतबार भूमिगत अवस्थामा जारी भएको भिडियोमा पनि निरन्तर छ।

उनले रास्वपाका सभापति रवि लामिछानेले मिडिया विरुद्ध क्वाइन गरिदिएको ‘१२ भाइ’ शब्द प्रयोग गर्दै गाली गर्ने गरेका छन्। आफ्ना समर्थक भड्काउँछन्।

तीनकुनेमा टियर ग्याँस हान्दै प्रहरी।शुक्रवार केही व्यक्तिले राजावादीहरूको कार्यक्रमका लागि बनाइएको मञ्चबाटै अन्नपूर्ण पोस्ट र सेतोपाटी विरुद्ध अभिव्यक्ती दिँदै ‘भेटे नछोड्नु’सम्म भनेका थिए।

सेतोपाटीको कार्यालय कार्यक्रमस्थलबाट निकै टाढा भएकाले प्रदर्शनकारीहरू पुग्न सकेनन्। नजिकै रहेको अन्नपूर्णको कार्यालयमा तोडफोड भयो। केही प्रदर्शनकारीले आगो लगाउने प्रयास गरे। तर बेलैमा आगो निभाउन भ्याउँदा थप क्षति भएन।

कान्तिपुर टीभी आक्रमणकारीहरूको निशानामा पर्यो। कान्तिपुरको भवन अगाडि सशस्त्र प्रहरीको डफ्फा हुँदाहुँदै उनीहरूले प्रदर्शनकारीलाई रोक्न सकेनन्। नजिकै रहेको प्रहरी कार्यालयमा समेत ढुङ्गा हानियो।

५-संसद् कब्जा गर्न झन् सहज

प्रसाईँले पटक-पटक संसद् कब्जा गर्ने, सिंहदरबार हान्ने, एयरपोर्ट कब्जा गर्ने चेतावनी दिँदै आइरहेका छन् नै। आइतबारको भिडियोमा पनि उनले ‘संसद् भवन र विमानस्थल कब्जा’को प्रसङ्ग बोलेका छन्।

समितिको नाममा प्रसाँई समूहलाई जहाँ कार्यक्रम गर्न अनुमति दिइएको थियो त्यहाँबाट संसद् भवनको दुरी बढीमा केवल एक किलोमिटर छ।

त्यसमा पनि तीनकुनेबाट संसद् भवन आउन दर्जन बढी सहायक बाटाहरू छन्। तीनकुने क्षेत्रबाट बागमतीकरिडोर निस्किएर भित्री गल्ली हुँदै सहजै संसद् भवनको पछिल्लो भागमा पुग्न सकिन्छ।

संसद् भवनतिर प्रदर्शनकारीहरूलाई आउन नदिन मूल सडकमा दुई ठाउँमा मानव ब्यारिकेट बनाइयो। ती ब्यारिकेट सहजै तोडियो। पुल पारी  बलियो भौतिक संरचनासहित फलामे पाइपहरू राखेर ब्यारिकेट बनाइएको थियो। तर भित्री सडकको जोखिम थियो नै।

भित्री सडकबाट प्रदर्शनकारीहरू संसद् भवन आइपुगेको भए त्यहाँबाट सिंहदरबार जान कति नै टाढा हो र! डेढ किलोमिटरको दुरी त हो।

तर तीनकुनेबाट जसरी भित्री बाटाहरूबाट संसद् भवन अगाडिसम्म सहजै आउन सकिन्छ बानेश्वरबाट सिंहदरबार आउने एक मात्र सडकका कारण त्यति सहज भने देखिन्न।

तर सो क्षेत्रको भौगोलिक अवस्था हेर्दा संसद् भवन कब्जा गर्ने समूहलाई तीनकुनेमा भेला हुन दिनु जोखिमपूर्ण निर्णय नै थियो।

कमजोर इन्टेलिजेन्स, असफल कमान्डर

तीनकुने विरोध प्रदर्शनमा आयोजक पक्षको अराजकता छरपस्ट भयो नै। व्यक्तिको घरमा आगजनी अनि लुटपाट र तोडफोडको आतङ्क नै मच्चियो।

उकेराको खोजमा शुक्रवार त्यहाँ जस्तो अराजक घटना भयो त्यसको कारकमध्ये आयोजकको नियतसँगै सरकारी सुरक्षा संयन्त्र पनि उत्तिकै जिम्मेवार देखियो।

आयोजकले भिड नियन्त्रण गर्न सकेनन्, सुरक्षा संयन्त्रले चुस्त सुरक्षा प्रबन्ध र बलियो रणनीति बनाउन सकेनन्।

१-पूर्व सुरक्षा तयारी 

कहीँकतै, कुनै समूहले विरोध प्रदर्शनको तयारी गर्दा सबैभन्दा पहिले सक्रिय हुने र हुनुपर्ने युनिट हो इन्टेलिजेन्स। विरोध प्रदर्शनको तयारी, नेतृत्व गर्नेहरूको पृष्ठभूमि, सहभागीहरूको सङ्ख्या र अनुमानित उपस्थितिबारे सूचना सङ्कलन र विश्लेषण अनिवार्य पक्ष हो।

प्रदर्शनकारीमाथि जाइलाग्दै सशस्त्र र नेपाल प्रहरी।यसका लागि यस्तो विरोध प्रदर्शनको रणनीतिमा संलग्नमध्ये कसैसँग निकट सम्बन्ध कायम गरेर उनीहरूले बनाउने रणनीतिबारे निरन्तर सूचना सङ्कलन गरिन्छ र त्यसलाई सुरक्षा रणनीति बनाउन उपयोग गरिन्छ।

यो नभई गरिने सुरक्षा रणनीति अत्यन्त फितलो हुन्छ। तीनकुनेको विरोध प्रदर्शनमा भएको सुरक्षा चूकको एक प्रमुख कारण यो पनि देखियो।

तीनकुनेमा हुन लागेको विरोध प्रदर्शन कुनै घटना विशेष केन्द्रित थिएन, उनीहरूको लक्ष्य व्यवस्था नै बदल्ने तहको रहेको खुलिसकेको थियो। लक्ष्य संसद् भवन कब्जासम्म रहेको पनि खुलेकै पक्ष हो।

प्रदर्शनकारीले फुटाएको दमकल।उनीहरूको प्रदर्शनको शैली कस्तो हुन्छ? एक वर्ष अगाडि बल्खुमा भएको अराजक प्रदर्शनबाट देखिएकै थियो। अराजक समूहलाई भेला पार्ने र रणनीति अनुसार विध्वंस निम्त्याउन कसले परिचालन गर्छ भन्ने पनि लुकेको तथ्य थिएन।

उनीहरूको भेलामा कति जति सहभागी हुन सक्छन्?, त्यसको अनुमानका लागि फागुन २५ गतेको सहभागिताबाट एक खालको सुरक्षा खाका बनाउन सकिन्थ्यो नै।

सुरक्षा सङ्गठनकै आकलन अनुसार पनि फागुन २५ मा करिब १५ हजार जनाको उपस्थिति थियो।

फागुन २५ को उपलब्धिबाट हौसिएकाले आयोजक समिति नै बनाएर पञ्चायतकालमा सक्रिय व्यक्तिहरूलाई एकीकृत गरेका थिए। तर मूल कमान्डर उही दुर्गा प्रसाँई नै थिए। प्रसाईँको प्रदर्शनमा संलग्न हुनेहरूको पृष्ठभूमि अनि चरित्र पनि सुरक्षा सङ्गठनको राडार बाहिर थिएन।

यसका आधारमा सहजै सुरक्षा रणनीति निर्माण गर्न सकिने भए पनि त्यो पक्षमा सुरक्षा संगठन असफल देखियो।

प्रदर्शनभन्दा अगाडि निर्माण गरिने रणनीतिमा सम्भावित जोखिमलाई केवल संसद् भवनतिर आउन सक्ने बुँदामा मात्र जोड दिएको देखियो।

सुरक्षा रणनीति र व्यवस्थापन पनि सोही अनुसार गर्दा संसद् भवनतिर कुनै तनाव त भएन। तर कार्यक्रमस्थलमा भएको सुरक्षा चूकका कारण जनधनको क्षति भयो।

२- प्रवेश र बाहिरिने विन्दुको कमजोरी

सहभागीहरूलाई कार्यक्रमस्थलमा कुन-कुन विन्दुबाट आउन दिने अनि भेला भएपछि फर्कन कुन विन्दु प्रयोग गराउने भन्ने रणनीति यस्तो विरोध प्रदर्शनमा अति महत्त्वपूर्ण देखियो।

कार्यक्रम सुरु नहुँदै कार्यक्रमस्थलमा टियरग्याँसको आक्रमणले कार्यक्रममा सहभागीहरूलाई भेला हुन दिने रणनीतिमा सुरक्षा चुक देखायो। सहभागीहरू आउनेक्रममै कार्यक्रमस्थलमा सुरक्षाकर्मीबाट हस्तक्षेप भयो।

प्रदर्शनकारीहरूलाई उत्तेजित बनाएर कार्यक्रमस्थलबाट सडकमा आउने वातावरणको निर्माणका लागि यही घटना कारक देखियो।

कार्यक्रमस्थल वरपरको वातावरण तनावपूर्णहुँदा त्यहाँ भेला भएकाहरू छरिन सक्ने रुटहरू र उनीहरूले बढाउने सुरक्षा जोखिमबारे सामान्य आकलन पनि हुन सकेन।

तीनकुनेको तनाव त्यहाँ मात्र सीमित भएन। कार्यक्रमस्थलबाट उत्तरतिर सिनामंगलको रोयल किचेन अनि दक्षिणतिर कोटेश्वरको जडीबुटीसम्म त्यो आतङ्क फैलियो।

प्रहरीको बल प्रयोगबाट बिच्किएकाहरू फर्कने बेलामा तोडफोड र लुटपाट गर्दै हिँडे। त्यो कतै आकस्मिक देखियो त कतै नियोजित।

कार्यक्रमस्थलमा आउँदा र फर्कँदा सहभागीहरूले त्यो बिचमा कुनै विध्वंस नगरून् भनेर रुटमा सुरक्षा प्रबन्ध गरिएको हुन्छ। भिड नियन्त्रण र व्यवस्थापनका जानकारहरूसँगको अन्तरसंवादमा यो अनिवार्य देखियो।

शुक्रवार प्रहरीले कार्यक्रममा सहभागी हुन आउनेहरूको हकमा पनि संयम अपनाएको देखिएन। फर्काउँदा त सामान्य सुरक्षा प्रोटोकल पनि अपनाइएन।

प्रहरीको बल प्रयोगको रिस बोकेर सानो-सानो समूहमा प्रदर्शनकारी सङ्गठित भए। केही नियोजित रूपमा दलका कार्यालय, मिडियाको कार्यालयहरू र नेताका निवाससम्म खोज्दै हिँडे।

तीनकुनेको झडपपछि छरिएका प्रदर्शनकारीहरू गौशालातिर लाग्दा बाटोमा विध्वंस गर्दै फर्किए। आगो लगाए, तोडफोड गरे।

अर्को समूह कोटेश्वरतिर लाग्यो। उनीहरूको शैली पनि त्यही देखियो। भेटिएका सरकारी गाडी, मिडियाको कार्यालय, प्रहरी कार्यालय केही नछाडी तोडफोड र आगजनी गर्दै हिँडे। भाटभटेनी स्टोर लुटे।

राजा फर्किनु र नफर्किनुसँग सम्बन्धै नभएको जडीबुटी प्रशोधन प्रालिको कार्यालयमा आगो झोसेर करोडौंको क्षति गराए।

तेस्रो समूह बागमती करिडोरहुँदै गए। उनीहरूको शैली पनि उस्तै देखियो। पार्टी कार्यालयदेखि रेष्टुरेण्टसम्म छाडेनन्। कतै आगो लगाए, कतै तोडफोड गरेर चित्त बुझाए। यी सबै स्थानमा कतै प्रहरी देखिएनन्।

एक समूह जब एकीकृत समाजवादीको कार्यालय तोडफोडमा लाग्यो प्रहरी पुगेको थियो। प्रहरी टोली पुग्दा त्यहाँ आगो लागिसकेको थिएन।

तर गएका प्रहरीमाथि प्रदर्शनकारी हाबी भए। प्रदर्शनकारीको ढुंगा थेग्न सकेनन् प्रहरीले र भागे। जब प्रहरी भागे अनि प्रदर्शनकारीले पार्टी कार्यालयमा आगो झोसे।

भाटभटेनी लुटपाटको करिब ४० मिनेटपछि प्रहरी पुग्नुले पनि प्रदर्शनकारीहरूलाई प्रदर्शनस्थलबाट बाहिरिन दिने रुट अनि त्यस क्षेत्रमा उनीहरूबाट हुनसक्ने आक्रमणको सामान्य आकलन समेत भएको देखिएन।

४-प्रदर्शनकारीको मनोविज्ञानको आकलनमा चुक

प्रहरीसँग रहेको तीनकुने विध्वंसको सूची अनुसार यो फैलिएर जडिबुटीदेखि सिनामंगलसम्म पुगेको देखिन्छ।

जहाँ-जहाँ आगजनी, तोडफोड अनि लुटपाट भयो ती पहिला नै नियोजित सुरु भएको देखियो। कर्फ्यु लाग्ने घोषणा भएसँगै विरोध प्रदर्शनस्थलमा रहेकाहरू तितरबितर हुँदा तोडफोड र आगलागीको सङ्ख्या बढ्यो।

गुगलम्यापको सहयोगमा तोडफोड र आगजनी भएका स्थानहरू हेर्दा तीनकुनेमा जम्मा भएको भिड तीनतिर हिँडेको देखियो।

पहिलो तीनकुनेबाट विमानस्थलतिरको बाटो लाग्यो। त्यो समूहले पहिला अन्नपूर्ण मिडियाको कार्यालयमा तोडफोड गरेर आगो लगाउने प्रयास गर्यो। त्यहीँको गल्लीबाट समूह बागमती करिडोरतिर लाग्यो।

अर्को समूह मूल सडकबाट सिनामंगलतिर गयो। सिनामंगलमा पुगेको समूह पनि विभाजित भएर एउटा काठमाडौँ मेडिकल कलेजको बाटो हुँदै पुरानो बानेश्वरतिर लाग्यो। केएमसीमा तोडफोड गर्यो। सिनामंगलमा भएको प्रहरी बिट पनि जोगिएन।

अर्को समूह विमानस्थलतिर लाग्यो। त्यसले नागरिक उड्डयन प्राधिकरणको नयाँ भवनतिर ढुङ्गा हान्यो।

चोकमा नेपाल आयल निगमको डिपो नजिकै सडकमा रहेको फोहोरमा आगो लगाएर हिँडे। बेलैमा आगो नियन्त्रणमा आयो।

बागमती खोलाको तिरैतिर गएको अर्को समूहले रोयल किचेन रेस्टुरेन्टमा तोडफोड गरेर भागे। सिनामंगल कटेपछि तोडफोड र आगजनी भएन। तीनकुनेबाट सिनामंगलतिर लागेको समूह त्यतै निष्क्रिय भएको देखियो।

अब अर्को समूह कोटेश्वरतिर लाग्यो। कान्तिपुर टेलिभिजनको गल्ली हुँदै भित्र छिर्यो त्यो समूह। उनीहरूको पहिलो तारोमै कान्तिपुर टेलिभिजनको भवन पर्यो। ढुङ्गा हानेर सिसा फुटाए।

त्यही समूह त्यहाँबाट भित्रभित्रै हुँदै माओवादी केन्द्रको पार्टी कार्यालयतिर गयो। पेरिस डाँडा पुग्नु अगाडि सडकमा एउटा सरकारी नम्बर प्लेटको गाडी देखिएपछि उनीहरू गाडी जलाउन लागे।

त्यो गाडी थियो प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको। ब्युरोले सो क्षेत्रमा एक घर भाडामा लिएर बसेको छ। अधिकांश अप्रेसन गोप्य हुने भएकाले कार्यालयका प्रहरी सादा पोसाकमै हुन्छन्।

सडकको गाडीसँगै ब्युरोमा रहेका अन्य गाडी समेत तोडफोड र आगजनीको प्रयास भएपछि कार्यालयमा रहेका केही सादा पोसाकमा प्रहरी भिडलाई भगाउन सडकमा आए। बन्दुक निकाले। अराजक भइसकेको भिडका अगाडि उनीहरूको केही चलेन। उल्टो भाग्न थाले।

यसले प्रहरीले भिड तितरबितर पार्दा सम्भावित सुरक्षा जोखिमको आकलन गरेको देखिएन।

५-नियोजित समूहमाथि कमजोर निगरानी 

संयोग जडीबुटी कम्पनीको कार्यालयमा आगजनी मात्र देखिन्छ। नत्र कार्यक्रम आयोजकहरूले जो विरुद्ध अभिव्यक्ति दिँदै आएका थिए ती-ती आक्रमणको निशानामा परे।

दुर्गा प्रसाईँले माधव नेपाल र पुष्पकमल दाहाल विरुद्ध अभिव्यक्ति दिँदै आएका छन्। नेपाल संलग्न एकीकृत समाजवादीको पार्टी कार्यालय जल्यो। माओवादीको पार्टी कार्यालय जलाउने प्रयास भयो।

सुरक्षाकर्मीले हाइपोइन्टका लागि प्रयोग गरेको निर्माणाधिन भवन।लुटपाटकै योजना थियो भने प्रदर्शनकारीहरूले तीनकुनेबाटै लुट्दै हिँड्ने थिए। तर लुटपाट भयो कोटेश्वरको भाटभटेनीमा मात्र।

भाटभटेनीका सञ्चालक मीन गुरुङ पछिल्लो समय एमालेलाई जग्गा दान दिएको घटनाबाट बढी विवादमा तानिएका पात्र हुन्। उनी विरुद्ध समेत प्रसाईँले बोल्दै आएका थिए।

तर सुरक्षा सङ्गठनले रणनीति बनाउँदा प्रदर्शनकारीहरूबाट भाटभटेनीमा आक्रमण हुनसक्छ है भन्ने सामान्य अनुमान समेत गरेको देखिएन।

न ट्याक्टिकल, न अपरेसनल

रणनीति निर्माण अनि त्यसको कार्यान्वयन, यी दुवै नभएसम्म प्रभावकारी सुरक्षा व्यवस्था सम्भव हुन्न। रणनीति निर्माणमा नेतृत्व तहमा रहेकाहरू बढी जिम्मेवार हुन्छन्। सो रणनीति मैदानमा कार्यान्वयन गर्ने जिम्मेवारी फिल्ड कमान्डरको हुने नै भयो।सुरक्षा प्रबन्धमा पहिलो जिम्मेवार नेपाल प्रहरी नै हो। प्रहरीले नसकेको हकमा उसलाई अर्थ सैनिक बलको संरचनामा रहेको सशस्त्र प्रहरीले सघाउँछ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख छन् विश्व अधिकारी। शुक्रवार उनको प्रतिनिधिका रुपमा फिल्डको नेतृत्वमा थिए एसपी अपिल बोहोरा। काठमाडौँमा हुने विरोध प्रदर्शनमा सुरक्षा परिचालनको जिम्मेवारीमा छन् डीएसपी सुन्दर तिवारी।

कार्यक्रमस्थलको सुरक्षाको रणनीति निर्माणमा अधिकारी जिम्मेवार हुने नै भए। त्यसलाई फिल्डमा कार्यान्वयन गराउने जिम्मेवारीमा देखिए एसपी बोहोरा। पहिला नै तय भएको सुरक्षा रणनीति कार्यान्वयन गर्ने अनि आपत्कालीन रूपमा रणनीति बदल्ने भुमिकामा तिवारी थिए। शुक्रवार भएको सुरक्षा चूकमा यी तीनै प्रहरी अधिकारीको भुमिका जोडिन्छ नै।

काठमाडौँ परिसरका प्रहरी अधिकारीहरूको सरुवा गर्दा पहिलो-दोस्रो वा फिल्ड कमान्ड गर्नेमध्ये एक जना पुरानै राख्ने प्रचलन थियो। सकेसम्म अपरेसनल काम गर्ने इन्चार्जको सरुवामा अनुभवी खोजिन्छ। यस पटक यो भत्काइयो।

कार्यालय प्रमुख एससएपी, उनको सहयोगी एसपी अनि अपरेसनल कमान्डर तीनै नयाँ राखियो। त्यसको प्रभाव पहिलो विरोध प्रदर्शनमै पर्यो।

यसमा जिल्ला प्रशासन कार्यालय अनि सशस्त्र प्रहरी संगठन पनि जोडिन्छन् नै। रणनीति निर्माण र कार्यान्वयन तहमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी तिवारी पनि दोषी देखिए। अर्ध सैनिक बल मानिने सुरक्षा संगठन सशस्त्र कुन हदसम्म कमजोर भयो भन्ने प्रमाण तीनकुने प्रदर्शनमा उसको फितलो उपस्थितिले देखायो।

केन्द्रमा छन् गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक छन् दीपक थापा। अनि सशस्त्रका प्रहरी महानिरीक्षक छन् राजु अर्याल। यी तीनकै जनाको नेतृत्व कमजोर देखियो।

असफल कमान्ड पोष्ट

यस्तो प्रदर्शनको बेलामा जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीसहित सम्बन्धित जिल्लाको प्रहरी प्रमुख, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभाग अनि सेनाका प्रतिनिधि रहेको सुरक्षा कमान्ड पोस्ट बन्छ।

प्रदर्शनकारीको एक घरमा सल्काएको आगो र पृष्टभूमीमा अन्तराष्ट्रिय विमानस्थल।संवेदनशीलताको आधारमा उपत्यका वा प्रदेश तह अनि केन्द्रमा गृहमन्त्रीकै कमान्डमा यस्तै संरचनाको कमान्ड पोस्ट बन्छ।

आकस्मिक रूपमा कुनै समन्वय वा निर्णय गर्नु परेमा सहज होस् भनेर केन्द्रमा गृहमन्त्रीसहित सुरक्षा सङ्गठनका प्रमुखहरू अनि सेनाको उपत्यका पृतनाका प्रमुख बस्छन्।

कार्यक्रमस्थलमा नयाँ खालको सुरक्षा चुनौती आए तत्काल निर्णय गर्न र  आ-आफ्नो चेनअफ कमान्डमार्फत कार्यान्वयन गराउन नै कमान्ड पोस्ट राखिने हो। शुक्रवारको घटनामा पनि जिल्लादेखि केन्द्रसम्म यस्तो कमान्ड पोस्ट बनेको देखियो। तर कमान्ड पोस्ट प्रभावकारी देखिएन।

आइपर्ने सुरक्षा जोखिम अनुसार सक्षम फिल्ड कमान्डरले तत्काल निर्णय गर्छन्। तर दुर्गा प्रसाईँले गाडीले प्रहरीको मानव ब्यारिकेट भत्काउँदै अगाडि बढ्दा पनि  प्रहरी र सशस्त्रतिरका कमान्डरले उनलाई रोक्ने रणनीति अपनाउन सकेनन्। दुबै संगठनबाट फिल्डमा खटिएका कमान्डर असफल भए।

उनले प्रहरीलाई सिधै पेलेर गाडी लगेका थिए, किच्ने प्रयास गरेका थिए। कानुन उलङ्घन गरिसकेका थिए उनले। तर उनलाई नियन्त्रणमा लिएन प्रहरीले।

गाडी रोकिएपछि प्रसाईँलाई निकालेर नियन्त्रणमा हैन उल्टो कार्यक्रमस्थलतिर जान अनुमती दियो। उत्तेजित भिड उनीसँग मिसिँदै कार्यक्रमस्थलतिर लाग्यो।

केन्द्रीय कमाण्डले सही समयमा दुर्गा प्रसाँई पक्राउको निर्णय समेत गर्न सकेन। फिल्ड कमान्डरले नियन्त्रणमा लिनसक्ने। तर उनले पनि जोखिम लिन चाहेनन्।

काठमाडौँका एससएपी विश्व अधिकारी फिल्ड कमान्डरलाई अवस्था अनुसारको निर्देशन दिनु भन्दा ‘पिटर वान(प्रहरी महानिरीक्षक) ले भने अनुसार गर्ने’ भन्दै निर्देशन दिइरहेका थिए। फिल्ड कमान्डरलाई प्रत्यक्ष नेतृत्व गर्ने जिम्मेवारी उनको थियो। उनी संसद भवनसम्म मात्र पुगे। 

प्रदर्शनकारीको आक्रमणबाट ध्वस्त भएको स्थानीयको घर।फिल्डमा खटिएकाले स्वयम् निर्णय गर्ने यस्तै बेलामा हो। गाडीले ठेल्दै अगाडि बढेको अवस्थामा कमसेकम गाडीको टायरमा गोली हानेर गाडी रोक्न सकिन्थ्यो। तर त्यहाँ भएका कुनै प्रहरीले त्यति हिम्मत पनि गरेनन्।

प्रसाईँले गाडीको सिसा लगाएकै भरमा प्रहरी निष्क्रिय भइदिए। धन्न एक प्रहरीले सिसामा लाठीसम्म हान्ने हिम्मत देखाए। 

‘फिल्ड कमान्डरले जे देखेको हुन्छ, जे चुनौती अनुभव गरेको हुन्छ त्यो कमान्ड पोस्टमा बसेका अधिकारीलाई अनुभव नहुन सक्छ,’ एक जानकार सुरक्षा अधिकारीले भने ‘त्यसैले त कुनै समयमा कमान्डरले तत्काल गरेको एक्सनलाई पनि परिस्थिति अनुसार भनेर स्वीकार गरिन्छ। नियत हेरिन्छ।’

अकस्मात् नयाँ सुरक्षा चुनौती आएको खण्डमा परिचालन गर्न ब्याकअप प्लान र ब्याकअप फोर्स राखिएको हुन्छ। शुक्रवारको विरोध प्रदर्शनमा नियमितसँगै उपत्यका प्रहरी गणका प्रहरी पनि थिए। प्रहरी प्रधान कार्यालयबाट पनि थप जनशक्ति गएको थियो। सशस्त्र प्रहरी नि थिए।

तर कार्यक्रमस्थलको नजिकै घरमा ढुंगामुढाहुँदा उनीहरूले घरको सुरक्षा घेरासम्म बनाउन सकेनन्। ब्याकअप फोर्सले घर घेरेर प्रदर्शनकारीलाई घरबाट पर धकेल्न सकेको अवस्थामा कमसेकम घर आगो लाग्नबाट जोगिन सक्थ्यो। तर आगो लाग्यो नै।

प्रदर्शनकारीहरूले घरको गेट फोडेर भित्र जाँदासम्म हस्तक्षेप नै गर्न सकेनन् सुरक्षा संयन्त्रले। आगो झोसेर दनदन बल्दा पनि घरसम्म दमकल पनि लान सकेनन्। यसले नै तीनकुनेमा शुक्रवार कुन तहसम्मको कमजोर सुरक्षा रणनीति थियो भन्ने देखिन्छ नै।

दगां भड्किन नदिने जिम्मेवारी पाएको सशस्त्र प्रहरीका अधिकृतहरू समेत तीनकुने घटनामा निरीह देखिए। अर्ध सैनिक बल मानिने फोर्सको उपस्थिति प्रहरी सङ्गठनको भन्दा पनि फितलो देखियो।

प्रारम्भमै प्रदर्शनकारीहरूको ढुङ्गा लागेर केही सशस्त्र महिला प्रहरी घाइते भएका थिए। त्यति घटनाले उनीहरूलाई रक्षात्मक चरणमा पुर्याएको देखियो।

नियोजित सरकारी रणनीति कि संयोग !

सरकार विरुद्ध हुने आन्दोलनलाई कमजोर बनाउने लोकतान्त्रिक रणनीति भनेको चुस्त सुरक्षा प्रबन्ध गरेर थकाउने हो। यसमा प्रदर्शनकारीकै ज्यानको सुरक्षा समेत हेरिन्छ। अर्को रणनीति भड्काएर अराजक बनाउने र विरोधी समूहलाई नैतिक रूपमा पुन आन्दोलनको घोषणा गर्न नसक्ने चरणमा पुर्याउने हो।

कार्यक्रमस्थलमा समर्थकसहित प्रसाईँ।थकाउने हो भने चुस्त सुरक्षा प्रबन्ध हुन्छ। सरकारी र निजी जनधनको सुरक्षालाई केन्द्रमा राखिन्छ। न्यूनतम् बल प्रयोग हुन्छ।  भड्काउने हो भने घुसपैठ नै हो। यसमा जनधन दुवैको क्षति बढ्न सक्छ।

हिजो राजतन्त्रविरुद्ध दलहरू आन्दोलनमा होमिँदा भएका हिंसात्मक आन्दोलनमा पनि उनीहरूले सरकारले घुसपैठ गराएको आरोप लगाउँथे। शुक्रवार तीनकुनेमा भएको घटनामा पनि आयोजकले विज्ञप्ति निकालेर यस्तो दाबी गर्यो।

सबै दाबी सत्य हुन्नन्। तर शुक्रवार तीनकुनेमा देखिएका केही दृश्यले विरोध प्रदर्शनलाई उत्तेजित बनाउन सरकारको तर्फबाट कुनै गतिविधि भएको त छैन भन्ने शङ्का भने बढाउँछ।

पहिलो शङ्का : कार्यक्रमको आयोजकहरूको पहिलो तयारी हेर्ने हो भने तीनकुनेको खाली ठाउँमा भेला हुने, राजतन्त्रको पुनर्बहालीको पक्षमा भाषण गर्ने, प्रदर्शन गर्ने, सम्भव भए निषेधित क्षेत्र तोड्ने देखियो।

सम्बोधनसम्मको चरणमा नवराज सुवेदी लगायतकाहरु सहभागी हुने रणनीति देखियो। दोस्रो चरणमा विरोध प्रदर्शन गरेर प्रदर्शनकारीहरूलाई ब्यारिकेट तोड्न उक्साउन दुर्गा प्रसाँई, रवीन्द्र मिश्र अनि धवल शमशेर राणाले अगुवाइ गर्ने रणनीति देखियो।

तर कार्यक्रमस्थलमा भेला भएर भाषण गर्ने चरणमै मञ्चमा टियरग्याँस हान्दा सभाका सहभागीहरू तितरबितर हुन बाध्य भए। भाषणको कार्यक्रम शुरु भयो तर समापन हुन भ्याएन। टियरग्याँसको गन्धले सहभागीहरू भागाभाग भयो मञ्चमै।

कार्यक्रम सुरु नहुँदै हस्तक्षेप भएको देखियो। यसले चौरमा भेला भएकाहरू सडकमा उत्रिए। प्रदर्शनकारीहरूले बल प्रयोग गर्नु अगाडि नै टियरग्याँस हान्नु यो संयोग मात्र थियो त?

निषेधित क्षेत्रको सुरक्षाको प्रमुख जिम्मेवारी रहेको सुरक्षाकर्मी प्रदर्शनस्थलमा छरिएर बस्नु, कार्यक्रमस्थल ताकेर टियरग्याँस हानिरहनुले शंका बढाउने ठाउँ टन्नै देखायो।

दोस्रो शङ्का : प्रदर्शनकारीदेखि विरोध प्रदर्शनका आयोजकसम्मले कार्यक्रमस्थलको नजिकैको अग्लो भवनमा बसेर प्रहरीले टियरग्याँस हान्ने काम गरेको दाबी गरे। प्रदर्शनकारीले नजिकैको घर तोडफोड गर्नुको मुख्य कारण नै त्यही घरको छतमा बसेर प्रहरीले टियर ग्याँस हाने भन्ने आरोप थियो।

प्राय भिभिआइपीहरूको मुभमेन्टमा जमिनदेखि उचाइसम्मै सुरक्षा दिनुपर्ने प्रोटोकलका कारण सुरक्षा रणनीतिमा यस्तो हाइपोइन्ट सुरक्षा विधि अपनाइन्छ नै। त्यसमा मुख्य प्रहरीबाट स्पेसल टाक्स फोर्सको जनशक्ति खटिन्छन्। नत्र सशस्त्र प्रहरी र सेनाबाट खटिन्छन्।

लामै समय नेपाल प्रहरीमा भिड नियन्त्रणमा खटिएका एक अनुभवी प्रहरी अधिकृतसँग विरोध प्रदर्शनको कार्यक्रमहरूमा पनि हाइपोइन्ट सुरक्षा रणनीति अपनाइन्छ र भनेर जिज्ञासा राख्दा उनले प्रोटोकल अनुसार नमिल्ने बताए।

‘विरोध प्रदर्शनको सुरक्षा रणनीतिमा हाइपोइन्ट पर्दैन। अब अहिले अपनाएको भए अलग कुरा भयो,’ ती अधिकारीले भने ‘टियरग्याँस प्रयोग गर्ने प्रोटोकल फलो गर्ने हो भने यो जमिनको सतहबाट ६० देखि ९० डिग्रीको एंगलमा हानिन्छ। यस्तो अवस्थामा हाइपोइन्टबाट टियरग्याँस हानेको हो भने त्यो त नियोजित भन्न सकिन्छ।’

हाइपोइन्टमा सुरक्षाकर्मी खटाएको बारेमा काठमाडौँ प्रहरी कार्यालय अनि उपत्यका प्रहरी कार्यालयसँगै प्रहरी प्रधान कार्यालयका उच्च अधिकारीसँग जिज्ञासा राख्दा उनीहरूले अस्वीकार गरे। उनीहरूको समान उत्तर थियो ‘काँ त्यस्तो हुन्छ।’

तर उकेराको सम्पर्कमा आएका केही सुरक्षाकर्मीहरूले हाइपोइन्ट सेक्युरिटी डिप्लोयमेन्ट भएको दाबी गरे। तर टियरग्याँस हान्नुभन्दा पनि प्रदर्शनकारीको अवस्थाको अवलोकनका लागि प्रयोग भएको उनीहरुको दाबी थियो। हाइपोइन्टका लागि बागमती पुल नजिकै बनिरहेको निर्माणाधीन अस्पताल भवनको प्रयोग भएको देखियो।

केहीले टियरग्याँस समेत हानेको दाबी गरे पनि स्वतन्त्र पुष्टि हुने तहको तथ्य भने फेला परेन। तर प्रहरीको व्यवहार शंका रहित भने देखिएन।

तेस्रो शङ्का : भक्तपुरको घरमा रहेका दुर्गा प्रसाईँलाई सकेसम्म कार्यक्रम स्थलमा आउनै नदिने सुरक्षा रणनीति रहेको देखियो। त्यही रणनीति अनुसार कार्यक्रम सुरु हुने समय भइसक्दा पनि उनी घरबाट निस्कन सकेका थिएनन्। उनलाई सुरक्षाकर्मीले घरमै होल्ड गराइरहेका थिए।

केन्द्रीय कमान्ड पोस्टमा रहेकाहरूबीच उनलाई तीन बजेतिर मात्र कार्यक्रमस्थलमा आउन दिनेबारे छलफल पनि भएको देखियो। यता मञ्चबाट तितरबितर भएको भिडको बिचमा रविन्द्र मिश्र र धवलशमशेर राणा 'कता गएको कता, संसद भवन हान्ने हो अब' भनेर उत्तेजित बनाउनतिर लागे।

निशेधित क्षेत्र तोडेर समर्थकसहित भिडमा फर्किएका दुर्गा प्रसाईँ।यता कार्यक्रमस्थलमा टियरग्याँस हानेको सूचना पाएपछि प्रसाईँ घरमै रिसाइसकेका थिए। यता तोडफोडका घटना सुरु भएको अनि प्रसाईँसँग आउने दलबलले कार्यक्रमस्थललाई थप भड्काउन सक्ने निष्कर्ष निकाल्दै उनलाई घरमै होल्ड गर्ने रणनीतिबारे छलफल भयो।

तर ‘दुर्गालाई आउन नदिएको मेसेज कार्यक्रमस्थलमा पुग्यो भने समूह झन् अराजक हुनसक्छ’ भनेर उनलाई प्रहरीको घेराबाट बाहिर निस्कन नसक्ने गरी भक्तपुरबाट निकालियो। कार्यक्रमस्थलमा आइपुगेपछि प्रहरीले उनलाई आफ्नो घेरामा राख्न सकेन।  

उनी आफैँ गाडीको चालक सिटमा बसेर निषेधित क्षेत्रतिर हुइँक्याए। प्रहरी र सशस्त्र दुबै मानव ब्यारिकेटको अवरोध सहजै पन्छाए। प्रहरी वाल्ल पर्यो। तत्काल गर्नुपर्ने निर्णय र एक्सनमा नेपाल प्रहरी र सशस्त्र दुवै चुके।

'आओ…आओ' भन्दै भिडलाई निषेधित क्षेत्र तोड्न उक्साएर पुल पारी पुगेका उनलाई जब प्रहरीले नियन्त्रणमा लियो आदेश आयो ‘पक्राउ नगर्नु’। उनलाई छाडियो।

उनी कार्यक्रम स्थलतिर अराजक समूहसँगै आए। छरिएकालाई एकत्रित गर्ने प्रयास गरे। मञ्चबाट प्रहरीसँग धक्कामुक्की नगर्न प्रदर्शनकारीलाई आग्रह गरे। टियरग्याँस नहान्न प्रहरीलाई अनुरोध गरे। तर न प्रदर्शनकारी मञ्च अगाडि फर्किए न प्रहरीले टियरग्याँस हान्न छाड्यो। टियरग्याँसले मञ्चमा बस्न नसक्ने अवस्था भयो।

उनले 'धवल दाई' भन्दै धवल शमशेरलाई मञ्चमा बोलाए। धवल आएर माइकमा बोल्न थाल्दा उनी मञ्च पछाडिबाट ओर्लिएर दलबलसहित कार्यक्रमस्थलबाट निस्किएर इन्द्रेणी फुडल्यान्ड भित्र छिरे। केही समय त्यहीँ बसे उनी। पछि आफ्नो सुरक्षा दलबलको सुरक्षा घेरा र स्कर्टिङसहितको गाडीमा चढेर बेपत्ता भए। बेपत्तै छन्।

प्रारम्भदेखि नै कार्यक्रमलाई शान्तिपूर्ण बनाउने आयोजकहरूको नियत देखिएन। उनीहरू निषेधित क्षेत्र तोड्ने रणनीतिमै देखिए। पहिला भाषणको काम सक्ने अनि मास जम्मा पारेर निषेधित क्षेत्रतिर जाने उनीहरुको रणनीति देखियो। तर योजना अनुसार मास जम्मा हुन सकेन। एक समूह गौशालामै रोकिएको थियो।

सन्तोष राजावादीहरुको करिब २ सयको संख्यामा रहेकाहरूले प्रहरीतिर ढुंगा हान्न शुरु गरेर माहौल बिगार्न शुरु गरेका थिए। प्रहरी ब्यारिकेटको सुरक्षामा नबसेर भिडतिर मिसिँदा प्रदर्शनकारीलाई थप उत्तेजित बनायो। यसमा सरकारी पक्ष न संयमित देखियो न सजग। 

यता गृह प्रशासन र सुरक्षा संगठनमा पनि त्यही देखियो।  कार्यक्रमस्थलको चयनदेखि प्रदर्शनस्थलको सुरक्षा रणनीतिसम्ममा गम्भीर चुक देखियो गृह प्रशासनको।

तीनकुनेमा चैत १५ मा गृह प्रशासन र सुरक्षा संगठनका केही व्यवहार शङ्कास्पद पनि देखियो। ती चुक गृह प्रशासनको कमजोरीका परिणाम थियो या नियोजित?

प्रदर्शनमा आयोजकको तर्फबाट भएको गतिविधिको कानुनी परीक्षण शुरु भयो आइतबार। अब राज्य संयन्त्रबाट भएका चुक र शङ्कास्पद गतिविधिको कानुनी परीक्षण हुनु पर्ने हैन र? एक नागरिक गोली लागेर मारिएका छन्, एक नागरिक ज्यूँदै जलेर मारिए। सर्वसाधारणको करोडौं सम्पत्तिमा क्षति पुग्यो। यसको कारण खोज्ने जिम्मेवारी लोकतान्त्रिक राज्यकै हैन र!

चैत १७, २०८१ आइतबार २२:४७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।