सत्तापक्ष-प्रतिपक्षी चर्काचर्कीकै बीच सभामुखलाई सचिवालयको सुझाव- ‘अहिले बोल्न दिँदा झन् तनाव हुन्छ’

काठमाडौं : प्रतिनिधि सभा बैठकमा सांसदहरूले प्रतिनिधि सभाले पूर्वराजालाई कारबाही गर्ने प्रस्ताव पारित गर्नुपर्ने आवाज उठाएका छन्।
बैठकमा झुक्किएर माइक खुलेको अवस्थामा एक सांसदले यस्तो प्रस्ताव गरेका हुन्। माइक खोलिएको समयमा ती सांसदले ‘आजको सदनले पूर्वराजालाई कारबाही गर्ने प्रस्ताव पारित गर्नुपर्छ। कुन दलको नेता हो आगो लगाउन उक्साउने?’ भन्दै प्रश्न गरे।
बैठक सुरू भएलगत्तै सत्ताधारी र प्रतिपक्षी दलले एकैपटक बोल्न खोजेपछि संसदमा चर्काचर्की परेको थियो त्यसपछि सभामुखले सडकमा बलेको आगो नियन्त्रणका लागि पनि सदन चल्न जरुरी रहेको भन्दै सदन चल्न दिन आग्रह गरे।
त्यसपछि उनले प्रतिपक्षी दलले विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको विषयमा सांसदहरुले सोधेको प्रश्नको जवाफ १८ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले दिने आसन ग्रहण गर्न आग्रह गरे।
उनले भने, ‘१८ गते प्रधानमन्त्रीले संसदमा आएर सम्बोधन गर्नका लागि भन्नुभएको छ। त्यसैले सभा सञ्चालन गर्नका लागि आसन ग्रहण गर्नुस्।’
उनले सडकमा आगो बलिरहेको र देशमा धेरै किसिमका घटना भइरहेको अवस्थामा जनताको प्रतिनिधिमूलक संस्था संसदलाई बन्द गर्न नहुने भन्दै चलाउन आग्रह गरे।
लामो समयको चर्काचर्कीपछि सभामुखले एक–एक जनालाई बोल्न दिने प्रस्ताव गरे पनि प्रतिपक्षी दलहरूले अस्वीकार गरेपछि बैठक सञ्चालन नै हुन सकेन।
संसद सचिवालयका कर्मचारीले सभामुखलाई चर्काचर्कीकै अवस्थामा बोल्न दिँदा तनावको स्थिति हुने भन्दै बोल्न दिन नहुने सुझाव दिएका थिए।
केही सिप नलागेपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। उक्त बैठक अहिलेसम्म बस्न सकेको छैन।
चैत १७, २०८१ आइतबार १४:३४:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।