मध्यपश्चिम विश्वविद्यालयमा छ वर्षपछि स्ववियु निर्वाचन हुँदै, सात दलसहित एक स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालयमा छ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन हुँदैछ।
कहिले आन्तरिक तयारी त कहिले अदालतको आदेशले पटक-पटक सर्दै आएको निर्वाचन भोलि हुन लागेको हो। स्ववियु नेतृत्वका लागि सात राजनीतिक दलनिकट विद्यार्थी संगठन र एक स्वतन्त्र उम्मेदवार भिड्दैछन्।
निर्वाचनमा कांग्रेस निकट नेविसंघबाट विवेक खड्का, एमाले निकट अनेरास्ववियुबाट जगतजंग शाही, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)बाट प्रकाश विक, एकीकृत समाजवादी निकट अनेरास्ववियूबाट चिनबहादुर सहकारीले उम्मेदवारी दिएका छन्।
त्यसैगरी, राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौंबाट लेलिनकुमार रेग्मी, राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट विकल्प वली, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अस्मिता सुनार र स्वतन्त्र रूपमा मिलन बिसीले सभापतिमा उम्मेदवारी दिएका छन्।
सचिव र कोषाध्यक्षमा पनि दुई जनाले स्वतन्त्र उम्मेदवारी दिँदा सदस्यमा ३३ जनाले उम्मेदवारी दिएका छन्। कुनैपनि संगठनले एकअर्कासँग गठबन्धन गरेका छैनन्।
भोलि हुने निर्वाचनका सम्पुर्ण तयारी पूरा भएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिका निर्वाचन अधिकृत खगेन्द्र अधिकाले जानकारी दिए।
‘६५ प्रतिशतभन्दा बढी भोटिङ कार्ड दिइसकेका छौँ। मतपत्र पनि तयार छ,’ उनले भने, ‘निर्वाचन स्थलको काममा जुटेका छौँ।’
निर्वाचन व्यवस्थित रूपमा अगाडि बढाइ निष्पक्ष र पारदर्शी बनाउन समिति लागिरहेको उनको भनाइ छ।
मध्यपश्चिम विश्वविद्यालयमा पहिलो स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०७३ भदौ ८ गते भएको थियो। ०७६ सालमा तत्कालीन पदाधिकारीहरूको पदावधि सकिएपछि विश्वविद्यालय स्ववियुविहीन बनेको थियो।
त्यसयता पटक-पटक निर्वाचन हुने चर्चा चले पनि अहिलेसम्म हुन सकेको थिएन। ०७९ चैत ५ गते विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तालिका तोकिए पनि हुन सकेको थिएन।
त्यस्तै ०८१ भदौ २८ हुने निर्वाचन पनि दुई दिनअघि मात्रै अदालतकै आदेशका निर्वाचन स्थगित भएको थियो।
निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको अन्तिम नामावलीमा आफूहरूको नाम समावेश नभएको भन्दै भदौ २६ गते साइन्स एण्ड टेक्नोलोजी विभागको छैटौं सेमेस्टरका असन्तुष्ट विद्यार्थीहरूले विश्वविद्यालयको कार्यकारी परिषद्लाई विपक्षी बनाइ उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए।
अदालतले उनीहरूको नाम समावेश गरी चैत २० भित्र निर्वाचन गर्न आदेश दिएपछि निर्वाचन गर्ने बाटो खुलेको हो। मध्यपश्चिम विश्वविद्यालयमा ४ हजार ३८३ मतदाता रहेका छन्। स्ववियु निर्वाचनलाई राजनीतिक दलहरूले समेत प्रतिष्ठाको विषय बनाएका छन्।
स्ववियु निर्वाचन कार्यविधिमा ३ पदाधिकारी (अध्यक्ष, सचिव र कोषाध्यक्ष) र १४ जना सदस्य मतदाताबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ। त्यस्तै ७ जना सदस्य समानुपातिक पद्धतिबाट निर्वाचित हुन्छन्।
त्यसपछि, कार्यसमितिले १४ जना निर्वाचित सदस्यहरूमध्ये एक उपाध्यक्ष र एक सहसचिव चयन गर्ने व्यवस्था रहेको छ। स्ववियु निर्वाचन कार्यविधि अनुसार अध्यक्ष, सचिव, कोषाध्यक्ष गरी तीन र बाँकी सदस्य गरी १७ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ।
चैत १७, २०८१ आइतबार १३:४२:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।