दीपकराज गिरिले नेताहरूलाई भने- ‘पुराना राजाको माग बढ्नुमा तपाईंहरूकै शासन शैली जिम्मेवार छ’

काठमाडौं : कलाकार तथा निर्माता दीपकराज गिरीले नेताहरूकै शासन शैलीका कारण जनताले पुराना राजाको माग बढेको टिप्पणी गरेका छन्।
आइतबार विहान सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले व्यङ्ग्यात्मक शैलीमा आफू राजावादी भएको र नेताहरूकै कार्यशैलीका कारण पुराना राजाको माग बढेको टिप्पणी गरेका हुन्।
सोही क्रममा उनले केही दिनअघि बौद्धिक वर्गले निकालेको विज्ञप्तिको बारेमा समेत स्पष्ट पारेका छन्।
‘शुक्रबारको आन्दोलनको एक दिनअघि एउटा कल आयो। एउटा बौद्धिक भेला हुँदैछ, जसले हालको राजनीतिक ध्रुवीकरणबारे छलफल गर्नेछ। तपाईंको विचार राख्नुहोला भनियो। त्यहाँ गएँ। आफ्नो स्वभावअनुसार स्पष्ट र सकारात्मक विचार राखें। देशमा समस्या त छ तर प्रचार गरेजस्तो बिग्रिएको पनि छैन भन्ने विचार पोखें। चिया खाएँ र फर्किएँ। भोलिपल्ट बिहान थाहा भयो, म राजावादी भइसकेछु’, उनले उल्लेख गरे।
पछिल्लो समय नयाँ विचार र नयाँ मान्छे आउनेबित्तिकै गणतन्त्रलाई पखाला लाग्ने र प्रजातन्त्र खतरामा पर्ने अवस्था उत्पन्न भएको भन्दै त्यसप्रति समेत विरोध जनाए।
‘पछिल्लो समय बालेन आए, निर्वाचनमा उनलाई समर्थन गरें। रवि आए, उनलाई पनि समर्थन गरें। तर यहाँ नयाँ विचार र नयाँ मान्छे आउनासाथ गणतन्त्रलाई पखाला लाग्छ, प्रजातन्त्र खतरामा पर्छ,’ उनले भने, ‘यहाँ शासन व्यवस्था सञ्चालन गर्ने शैली राम्रो भएन भन्दा त्यो मान्छे गणतन्त्रविरोधी वा राजावादी हुन्छ। तपाईंहरूको अस्वस्थ प्रतिस्पर्धाले नै जनतामा निराशा आएको हो। यहाँ पुराना राजाको माग बढ्नुमा तपाईंहरूकै शासन शैली जिम्मेवार छ।’
सोही क्रममा उनले आफू सुरुवातमा नेविसंघको नेता भएर हिँडेको उल्लेख गर्दै २०६२/६३ को आन्दोलनपछि माओवादी र २०७२ पछि केपी ओलीको फ्यान भएको समेत बताए। तर अहिले आफू कुनै पनि दलको समर्थनमा नभए पनि आफ्ना विचारहरू सञ्जालमार्फत पोखिरहने बताए।
चैत १७, २०८१ आइतबार १०:२९:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।