तीनकुने घटनामा पक्राउ पर्ने संख्या १ सय ११, राज्यद्रोहदेखि लुटपाटसम्मको आरोपमा अनुसन्धान

तीनकुने घटनामा पक्राउ पर्ने संख्या १ सय ११, राज्यद्रोहदेखि लुटपाटसम्मको आरोपमा अनुसन्धान

काठमाडौँ : काठमाडौँको तीनकुनेमा शुक्रवार भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेको संख्या १ सय ११ पुगेको छ। पूर्वराजाको समर्थनमा भएको प्रदर्शनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा १ सय ११ जना पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए।

शुक्रवार प्रहरीले एक सय पाँच जनालाई पक्राउ गरेको थियो। शनिवार थप ६ जना पक्राउ परेका हुन्। पक्राउ परेकाहरूलाई प्रहरी परिसर काठमाडौँ, प्रहरी वृत्त बानेश्वर, प्रहरी वृत्त गौशाला, प्रहरी प्रभाग कोटेश्वर, प्रहरी प्रभाग गोङ्गबु, प्रहरी वृत्त बालाजु र सिंहदरबारमा राखिएको छ।

‘राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन समिति’को आव्हानमा भएको आन्दोलन हिंसात्मक भएपछि प्रहरीले शुक्रवार बेलुका नै त्यसका संयोजक नवराज सुवेदीलाई घरमा नजरबन्द राखेको थियो।

शुक्रवार बेलुका नै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, समितिका प्रवक्ता स्वागत नेपाल, सेफर्ड लिम्बू र सन्तोष तामाङलाई पक्राउ गरेको थियो।

शनिवार थप धर्मगुरु भनिने पुष्कर खतिवडा, प्रसाईँ निकट रोयल टास्क फोर्स (आरटीएफ)का कमान्डर मुनीन्द्र राजभण्डारी, पशुपति खड्का र सन्तोष राजावादी समेत समातिएका छन्। आन्दोलनको कमान्डर भनिएका दुर्गा प्रसाईँ भने फरार छन्।

प्रहरीले पक्राउ परेकाहरूको संलग्नताको आधारमा राज्यद्रोह, कर्तव्य ज्यान, लुटपाट लगायतका आरोपमा प्रमाण सङ्कलन सुरु गरेको छ। आन्दोलनको आयोजना गरेकाहरूमाथि राज्यद्रोह र कर्तव्य ज्यानको अभियोग लगाउने तयारी देखिन्छ।

पक्राउ परेका अन्यको हकमा उनीहरूको संलग्नता खुल्ने प्रमाणको आधारमा अभियोग लगाउने तयारी भएको एक प्रहरी अधिकारीले जानकारी दिए।

पक्राउ आरोपीहरूको गैर कानुनी कामको पुष्टिका लागि प्रहरीले कार्यक्रमस्थलसँगै अन्य स्थानमा भएका सिसिटिभीका फुटेज, सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो, मिडियामा प्रकाशन तथा प्रसारण भएका तस्बिर र भिडियो लगायतको सङ्कलन गरिरहेको देखिन्छ।

चैत १६, २०८१ शनिबार २२:३८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।