नेपाल सुपर लिग : इन्जुरी समयमा काठमाडौँ र ललितपुरको नाटकीय बराबरी

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल)मा काठमाडौं रेजर्सले साबिक विजेता ललितपुर सिटी एफसीलाई बराबरीमा रोकेको छ। उद्घाटन खेलको पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनाए पनि दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्दै काठमाडौँले ललितपुरलाई २-२ को बराबरीमा रोक्न सफल भयो।
दशरथ रङ्गशालामा ललितपुरले सुरुवातमै अग्रता बनाएको थियो। खेलको पाँचौँ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले खाता खोलेका थिए।
ललितपुरले खेलको १५औँ मिनेटमा अग्रता दोब्बर पार्यो। दोस्रो गोल आदित्य शाक्यले गरे। एकपक्षीय बनेको खेलको २५औँ मिनेटमा गोलकिपर अभिषेक बरालसँगको वान भर्सेज वानमा इमोह इजिकियलले कडा प्रहार हाने पनि गोल हुन सकेन। पोस्टमा लागेर फर्कियो।
खेलको २८औँ मिनेटमा काठमाडौँका खेलाडी भीन्सेन्ट कोजिएलोको कर्नरमा मोहम्मद बुया टुरेको डाइभिङ हेड गरेका थिए। तर गोल हुन सकेन। पहिलो हाफ २-० को नतिजामा सकियो।
दोस्रो हाफमा काठमाडौँको कमब्याक
दोस्रो हाफमा पनि ललितपुर हाबी भएको थियो। ६२औँ मिनेटमा योगेश गुरुङको पासमा पापा बाउ केबेले पावरफुल सट खेलेका थिए तर गोलरक्षक जेफ्री बाल्टसले बचाए।
यता गोल फर्काउन काठमाडौँले संघर्ष जारी थियो। खेलको ६४औँ मिनेटमा कमल श्रेष्ठको क्रसमा जिलेश्पी जङ्ग कार्कीले गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेनन्।
खेलको ७५औँ मिनेटमा काठमाडौँका अमान्डो डियोपले हानेको बलले जाली चुम्यो। खेल २-१ मा पुग्यो। निर्धारित नब्बे मिनेटको खेल २-१ को नतिजामा सकियो।
इन्जुरी समयमा नाटकीय बराबरी
इन्ज्युरी समयमा ललितपुरका खेलाडीले डी बक्सभित्र फाउल खेल्दा काठमाडौँले पेनाल्टी पायो। इन्जुरीको पाँचौँ मिनेटमा काठमाडौँले पेनाल्टी गुमाएन। खेल २-२ मा पुग्यो। र यही नै निर्णायक बन्यो। आइतबार बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच खेल हुनेछ।
चैत १६, २०८१ शनिबार २२:२२:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।