रास्वपा पूर्वराजाबारे मौन, तीनकुनेको घटनाको न भर्त्सना न निन्दा, छानबिन आयोगको माग

रास्वपा पूर्वराजाबारे मौन, तीनकुनेको घटनाको न भर्त्सना न निन्दा, छानबिन आयोगको माग

काठमाडौँ : राजतन्त्रको माग राख्दै राजावादीका गतिविधि बढेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू मौन नै रहे। पार्टीले गर्ने निर्णयमा समेत उनीहरू राजतन्त्र फर्काउन भनेर भइरहेका गतिविधिको पक्षमा हुन् या विपक्षमा खुलेन।

पार्टीको राजनीतिक लाइन गणतन्त्र भए पनि नेताहरू राजावादीहरूको गतिविधिबारे न पक्षमा बोल्न सकेका छन् न त खुलेर विपक्षमा नै कुनै निर्णय गर्न सकेका छन्।

शुक्रवार दुई जनाको ज्यान जानेगरि तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न बसेको केन्द्रीय सचिवालय बैठकले समेत प्रस्ट निर्णय गर्न सकेन।

भर्चुअल बसेको बैठकले हिंसात्मक घटनाको न विरोध गरेको छ न समर्थनै गरेको छ। पार्टीले ह्वाट्सएप ग्रुपमा राखेको दुई निर्णयमा आयोग गठनको माग मात्र छ।

‘काठमाडौँको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा २०८१ चैत्र १५ गते घटेको घटनामा संलग्न दोषीहरूलाई कानुनी दायराभित्र ल्याई यथोचित कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्ने,’ सार्वजनिक भएको निर्णयमा लेखिएको छ ‘पार्टीको केन्द्रीय समिति बैठक २०८१ चैत्र १८ गते पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने।’

राप्रपाले पनि शनिवारै तीनकुने घटनाबारे छानबिन गर्न आयोगकै माग राखेको छ। राप्रपाले तीनकुने घटनामा दुख ब्यक्त गर्दै आफ्नो दल हिंसाको विपक्षमा रहेको सार्वजनिक गरेको थियो। 

चैत १६, २०८१ शनिबार २२:०१:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।