पूर्वराजालाई पक्राउ गर्न सरकारलाई राप्रपा अध्यक्ष लिङदेनको चुनौती

पूर्वराजालाई पक्राउ गर्न सरकारलाई राप्रपा अध्यक्ष लिङदेनको चुनौती

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिए।

शुक्रवार तीनकुनेमा आयोजित कार्यक्रम हिंसात्मक भएसँगै दुई जनाको ज्यान गएपछि अहिले प्रहरीले सो कार्यक्रमको आयोजकहरूलाई पक्राउ गरेको छ। हिंसात्मक प्रदर्शन, तोडफोड र लुटपाटमा संलग्नहरू खोज्नेक्रममा एक सय सात जनालाई पक्राउ गरिसकेको छ।

सत्ताधारी दलदेखि प्रमुख प्रतिपक्षीहरूले समेत सो घटनाको जिम्मेवार पूर्व राजा ज्ञानेन्द्र रहेको निष्कर्ष निकालेका छन्। सामाजिक सञ्जालमा ज्ञानेन्द्रलाई पक्राउ गर्न अभियान नै सुरु भएको छ।

शनिवार राप्रपाले यही विषयमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकको राखेको थियो। बैठकको निर्णय सार्वजनिक गर्दै पत्रकारहरूले सरकारले ज्ञानेन्द्रलाई पक्राउ गर्ने गरेमा राप्रपाले के गर्छ भनेर सोध्दा उनले पक्राउ गरेर देखाउन चुनौती दिए।

‘राजाको नाम लिएपछि चुनाव जित्न सजिलो हुन्छ भनेर हामीले राजा चाहिन्छ भनेको होइन। राजा जसले बोके पनि हुन्छ, जसले ल्याए पनि हुन्छ,’ उनले भने ‘हामीले कुनै व्यक्तिगत फाइदा र व्यक्तित्व विकासको प्रयोजनका लागि राजसंस्था चाहिन्छ भनेको होइन। राजालाई विवादमा तान्नु हुन्न। राजालाई एरेस्ट गरेर देखाउनु अनि शक्ति हामी देखाउँछौँ।’

राप्रपाको घोषित आन्दोलन कायमै

राप्रपाले आगामी चैत २६ र वैशाख ७ मा राजसंस्थाको माग राख्दै विरोध प्रदर्शन र आन्दोलनको कार्यक्रम सार्वजनिक गरिसकेको छ।

शनिवारको बैठकले उच्च मनोबलसहित तयारीमा जुट्न पार्टी पङ्क्तिलाई अपिल समेत गरेको छ।

बैठकले शुक्रवार तीनकुनेमा भएको घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने भन्दै लिङदेनले आफ्नो पार्टी हिंसात्मक क्रियाकलापको विपक्षमा रहेको बताए। राप्रपाले शुक्रवार तीनकुनेमा राजावादीले गरेको प्रदर्शनका क्रममा भड्किएको हिंसाबारे छानबिन गर्न छुट्टाछुट्टै तीन आयोग गठन गर्न माग समेत गरेको छ।

घटनाबारे नागरिक छानबिन आयोग गठन गर्न, मानवअधिकारवादीलाई पनि छानबिन आयोग बनाउन र सरकारले पनि न्यायिक आयोग गठन गर्नुपर्ने बैठकले माग गरेको लिङ्देनले बताए।

राप्रपाले शुक्रवार तीनकुनेको घटनामा ज्यान गुमाएका दुई जनालाई शहीद घोषणा गर्न समेत माग गरेको छ। शुक्रवार भएको राजावादी आन्दोलनको घटनामा कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका फोटोपत्रकार सुरेश रजकको मृत्यु भएको थियो।

बैठकले पार्टीका नेता रवीन्द्र मिश्र र धवलशमशेर राणालाई पक्राउ गरेर फसाउने काम भएको दाबी समेत गरेको छ।

चैत १६, २०८१ शनिबार २१:४५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।