तीनकुने घटनाको जिम्मेवार ज्ञानेन्द्र शाह : कांग्रेस

तीनकुने घटनाको जिम्मेवार ज्ञानेन्द्र शाह : कांग्रेस

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले शुक्रवार तीनकुनेमा भएको घटनाको सबै जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएको छ।

शनिवार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले पूर्वराजा शाहकै निर्देशनमा शुक्रवारको घटना भएको निष्कर्ष निकालेको हो।

बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले राजावादीको नाममा जुन खाले गतिविधि भयो त्यसको समीक्षाबाट सबै घटना पूर्वराजा जिम्मेवार रहेको पार्टीको निष्कर्ष रहेको बताए।

पार्टी बैठकमा गृहमन्त्री रमेश लेखकले सम्पूर्ण घटना विवरण प्रस्तुत गरेको जानकारी दिँदै उनले गृहमन्त्रीको ब्रिफिङपछि पार्टी घटनाको जिम्मेवार पूर्व राजा ज्ञानेन्द्र रहेको निष्कर्षमा पुगेको उनले बताए।

‘यद्यपि जुन घटना भए यसबारे हाम्रो पार्टीले आफ्नो दृष्टिकोण राखिसकेको छ। हिजोको घटनाको भर्त्सना गरेका छौँ,’ प्रवक्ता महतले भने।

बैठकले निरङ्कुश शासनतर्फ लाने मनसायका शुक्रवारको घटना गराइएको र आयोजकहरूले जुन प्रतिबद्धता जनाएका थिए त्यो भन्दा अलग रूपमा प्रस्तुत भएकाले त्यसको जिम्मेवारी समिति गठन लगायतमा सक्रिय रहेका ज्ञानेन्द्रले लिनुपर्ने निष्कर्ष निकालेको महतले जानकारी दिए।

चैत १६, २०८१ शनिबार २१:२६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।