राजावादीसँग कार्यक्रम जुधाएका प्रचण्डको दाबी ‘हामीले सभा नगरेको भए झनै ठूलो दुर्घटना हुन्थ्यो’

राजावादीसँग कार्यक्रम जुधाएका प्रचण्डको दाबी ‘हामीले सभा नगरेको भए झनै ठूलो दुर्घटना हुन्थ्यो’

काठमाडौं :  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाले शुक्रवार पचासौँ हजार जनता सडकमा उतारेर ठूलो खतरा टारेको दाबी गरे। तर सुरक्षा निकायको विश्लेषणमा समाजवादी मोर्चाको कार्यक्रममा बढीमा १२ हजार सहभागी थिए।

शनिवार प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले समाजवादी मोर्चाले कार्यक्रम राखेकै कारण धेरै धनजनको क्षति हुनबाट बचेको दाबी गरे।

‘यदि समाजवादी मोर्चाले पचासौँ हजारौँ जनता हिजो सडकमा नउतारेको भए धेरै ठुला दुर्घटना हुने खतरा थियो,’ उनले दाबी गरे ‘हामीले हिजो कार्यक्रम राखेकै कारणले धेरै धनजनको क्षति हुनबाट बच्यो।’

तर वास्तविकतामा भने एकै पटक राजावादी र गणतन्त्रवादीको कार्यक्रम हुँदा सुरक्षाकर्मी बाँडिदा धनजनको क्षति बढेको थियो।

करिब तीन हजार सुरक्षाकर्मी परिचालित भएको दुवै सभामा सहभागीलाई एक आपसमा भेट हुन नदिन सुरक्षाकर्मीहरू केन्द्रित हुँदा तीनकुनेमा भएको घटनाले क्षति बढाएको थियो। प्रचण्डले भने उल्टो दाबी गरे।

उनले कार्यक्रममा समाजवादी मोर्चामा रहेकासहित अहिले सरकारमा रहेका गणतन्त्रवादीहरू समेत सच्चिनुपर्यो बताए। निरङ्कुश राजावादी तत्त्वहरूले तीनकुनेमा विभेदशुन्य आपराधिक घटना घटाएको बताए।

उनले शुक्रवार नेपालको इतिहासमा क्रान्ति र प्रतिक्रान्ति, अग्रगमन र पक्षगमन फेरी एकचोटी नयाँ सन्दर्भसहित आपसमा टुक्रिइरहेको बताए।

‘हिजो चैत १५ गते देशमा एउटा नयाँ परिघटना देखापर्यो। एकातिर गणतन्त्रवादीहरूले आफ्नो लोकतन्त्रप्रतिको प्रतिबद्धता, आत्मसंकल्प स्थापित गर्नको लागि ठूलो सङ्ख्यामा जनसमुदायको बिचमा विरोध सभाको आयोजना गर्यो,’ उनले भने ‘समाजवादी मोर्चाको तर्फबाट हामीले आफ्नो आलोचना गर्दै अरू गणतन्त्रवादीहरू जो अहिले सरकारमा छन् उनीहरू पनि सच्चिनपर्यो। उनीहरूले  आफ्नो  क्रियाकलापलाई गणतन्त्रवादी बनाउनुपर्यो।’

चैत १६, २०८१ शनिबार १८:०७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।