तीनकुने घटनाको दोस्रो दिन आइजिपीको निर्देशन ‘सुरक्षा प्रबन्ध चुस्त राख्नु’

तीनकुने घटनाको दोस्रो दिन आइजिपीको निर्देशन ‘सुरक्षा प्रबन्ध चुस्त राख्नु’

काठमाडौं : तीनकुनेमा भएको विरोध प्रदर्शन नियन्त्रणमा सुरक्षा चुकहुँदा आलोचना बढेपछि प्रहरी महानिरीक्षक दीपक थापाले आपराधिक गतिविधि र अराजकता नियन्त्रणका लागि सुरक्षा प्रबन्ध चुस्त बनाउन निर्देशन दिए।

भर्चुअल माध्यमद्वारा शनिवार उनले कर्मचारीहरूलाई आ–आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन निर्देशन दिए।

आपराधिक गतिविधिको सूचना सङ्कलन तथा विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति एवम् प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुन उनले निर्देशन दिए।

आ–आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्न उनले निर्देशन दिए।

प्रहरी महानिरीक्षक थापाले सीमित स्रोतसाधनको अधिकतम प्रयोग गरी धैर्यताका साथ थप संवेदनशील भएर प्रहरी कर्मचारीहरूले आफ्नो काम कारबाही गर्नुपर्ने बताए। आम नागरिकको समस्यालाई समयमै सम्बोधन गर्ने गरी प्रहरी परिचालित हुन उनले निर्देशन दिए।

अवैध हातहतियार ओसार पसार, विस्फोटक पदार्थ ओसार पसार, तस्करी एवम् गुण्डागर्दी लगायतका अराजक गतिविधि नियन्त्रणमा प्रहरी निर्मम ढङ्गले अगाडी बढ्नुपर्ने उनले बताए।

चैत १६, २०८१ शनिबार १७:५३:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।