ज्ञानेन्द्र शाहलाई महानगरले गर्यो ७ लाख ९३ हजार जरिवाना

काठमाडौँ : तीनकुनेमा शुक्रवार भएको प्रदर्शनको क्रममा महानगरको सम्पत्ति तोडफोड गरेको, दमकल फोडेको र सार्वजनिक स्थानमा फोहोर गरेको लगायतका विषयमा काठमाडौँ महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गराउँदै पत्र पठाएको छ।
तीनकुने, जडीबुटी, कोटेश्वर, बालकुमारी र सिनामंगलको क्षेत्रमा फोहोर गरेकोमा जनही एक लाखको दरले जरिवाना तोकेको छ। काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले दमकल तोडफोड गरेकोमा एक लाख ३० हजार र आइल्यान्ड र बोटबिरुवा मासेकोमा ६३ हजार गरेर सात लाख ९३ हजार जरिवाना भएको पत्रहरू ज्ञानेन्द्रको नाममा काटेको हो।
शुक्रवार ज्ञानेन्द्र शाहलाई पुन राजा घोषणा गर्नुपर्ने मागसहित तीनकुनेमा प्रदर्शन भएको थियो। प्रदर्शन हिंसात्मक हुँदा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको थियो भने प्रदर्शनकारीले एक घरमा लगाएको आगोमा परेर एक पत्रकार मारिएका थिए।
चैत १६, २०८१ शनिबार १७:०१:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।