नेपाल पुलिस क्लबले जित्यो प्रधानमन्त्री कपको उपाधि

काठमाडौं : नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
त्रिभुवन आर्मी क्लबलाई शनिबार ६ विकेटले हराउँदै पुलिसले उपाधि रक्षा गरेको हो। आर्मी छैटौं पटक प्रतियोगिताको उपविजेतामा सिमित भएको हो।
अहिलेसम्म भएका सातवटै संस्करणको प्रतियोगिताको फाइनल पुगेको आर्मीले पहिलो संस्करणबाहेक कुनै संस्करणको उपाधि चुम्न पाएको छैन।
पुलिसले भने पहिलो संस्करणको प्रतियोगितामा आर्मीसँग उपाधि बाडेको थियो। त्यसपछि २०१९ मा भएको तेस्रो संस्करण र गत वर्ष उपाधि जितेको थियो।
आर्मीले दिएको १ सय ५५ रनको लक्ष्य पुलिसले २५.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
पुलिसलाई च्याम्पियन बनाउने कुशल भुर्तेलले सर्वाधिक ६१ रन जोडे। उनले ७० बलको सामना गर्दै ७ चौका र ३ छक्का प्रहार गरे।
पहिलो विकेटका लागि कुशलले अमित श्रेष्ठसँग मिलेर ७७ रनको साझेदारी गरे। अमित ३८ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३९ रनमा आउट भए।
दिलिप नाथ ३१ रनमा अविजित रहँदा आर्मीका लागि शाहब आलमले ३ तथा नरेन साउदले १ विकेट लिए।
त्यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले बसिर अहमदको अर्धशतकको सहयोगमा ४३ ओभरमा अल आउट हुँदै १ सय ५४ रनको सम्मानजनक योगफल तयार गर्यो।
आर्मीका लागि बसिरले अविजित रहँदै सर्वाधिक ८६ रन जोडे। उनले १ सय ४ बलको सामना गर्दै ९ चौका र १ छक्का प्रहार गरे।
कप्तान विनोद भण्डारीले २९ रन बनाए। पुलिसका करण केसी र सागर ढकालले समान तीन-तीन विकेट लिँदा कप्तान दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए।
चैत १६, २०८१ शनिबार १४:५०:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।