मनोचिकित्सक डा. सुदर्शनको उपचार अनुभव : असुरक्षित यौन सम्पर्क गर्दा मानसिक रोग लागेर विच्छिप्त बनेका ती पुरुष

मनोचिकित्सक डा. सुदर्शनको उपचार अनुभव : असुरक्षित यौन सम्पर्क गर्दा मानसिक रोग लागेर विच्छिप्त बनेका ती पुरुष

मनोचिकित्सक प्रा.डा. सुदर्शन नरसिंह प्रधानले चिकित्सकीय पेशाको शिलशिलामा हजारौं व्यक्तिको मन पढेका छन्। उनले औषधि उपचार गरी धेरैलाई सञ्चो बनाएका छन्। उनै मनोचिकित्सक डा. सुदर्शनले चिकित्सकीय पेशाको शिलशिलामा देखे भोगेका अनुभव उकेरासँग साटे।

आन्दोलनमा प्रहरीको यातनाका कारण मानसिक समस्याले विच्छिप्त भएपछि...
२०४६ को जनआन्दोलनको करिब १२ वर्षपछि एक जना मानसिक समयमा भएका पुरुष उपचारका लागि डा. सुदर्शनकहाँ पुगे। मानसिक समस्या भएका ती पुरुषलाई मानसिक समस्या हुनुको कारण खोतल्दै गए।

ती पुरुषलाई प्रहरी देख्यो कि मन आत्तिने अनि डरलाग्ने समस्या थियो। कुनै आन्दोलन र भीडभाड देख्यो भने ती पुरुष आत्तिहाल्थे। निन्द्रा नलाग्ने  तथा सुत्न नसक्ने, मन आत्तिने अनि राती बरबराउनेजस्ता मानसिक समस्याका लक्षण थिए।

ती पुरुष मानसिक लगायतको उपचारका लागि विभिन्न ठाउँमा पुगिसकेका थिए। तर, समस्या पूर्ण रूपमा ठिक नभएपछि भौतारिँदै डा. सुदर्शनकहाँ पुगेछन्।

ती पुरुषलाई मानसिक समस्या हुनुको कारण चाहिँ आन्दोलनको दुर्घटना रहेछ। डा. सुदर्शनकहाँ उपचार गर्न पुगेका ती पुरुष २०४६ को आन्दोलनमा दरबारमार्गमा राजदरबार अगाडि रहेको राजा महेन्द्रको शालिक भत्काउन शालिकमा चढेछन्। त्यसपछि प्रहरीले ती पुरुषलाई कुटपिट गरेर घाइते बनाएछ।

अनि ती पुरुषलाई प्रहरीले नै लगेछ। प्रहरीले ती पुरुषलाई कुटपिट गर्दै जिब्रोमा करेन्ट लगाइदिएछ। खुट्टामा काटेर नुन खुर्सानी लगाइदिए रे। जसका कारण ती पुरुष शारीरिक रुपमा घाइते मात्रै हैन मानसिक रूपमा पनि विच्छिप्त बन्न पुगेछन्।

पछि प्रहरीबाट छुटेपछि ती घाइते पुरुषको विदेशमा कृतिम जिब्रो राख्नुका साथै उपचार पनि गरिएछ। डा. सुदर्शनलाई भेट्दा घाइते ती पुरुषको खुट्टाले भर दिएको थिएन। हिँड्डुल गर्न कठिन थियो।

आन्दोलनमा परी घाइते भएका ती पुरुषलाई त्यो बेला प्रहरीले यातना समेत दिएका कारण मानसिक रूपमा विच्छिप्त बनेको डा. सुदर्शनले थाहा पाए। उनीकहाँ पुग्दा ती पुरुषलाई कडा किसिमको मानसिक समस्या ‘पोष्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर’को समस्या देखिएको थियो।

त्यसपछि डा. सुदर्शनले ती पुरुषलाई आवश्यक औषधि उपचार गरे। परामर्श दिए। नियमित फलोअपमा बोलाए। औषधि उपचारमा रहँदा ती पुरुषको मानसिक समस्या सुधार हुँदै गएको थियो। अहिले भने ती पुरुष कता छन्, डा. सुदर्शनलाई थाहा छैन।

दुर्घटना तथा यातनाको चोटले  व्यक्तिमा यसरी मानसिक समस्या हुने भएकाले संवेदनशील बन्न डा. सुदर्शनको सुझाव छ।

स्थानीयकाे कुटपिटपछि विच्छिप्त बनेका ती पुरुष...
२०४५ मा एक जना सांसदलाई भक्तपुरमा ‘घोचीघोची’ मारेको एउटा प्रसङ्ग सुनाए डा. सुदर्शनले। नेपालमा २०४५ मा भूकम्प गएको थियो। राहत वितरणमा अनियमितता भएको भन्दै स्थानीयले भक्तपुरका एक जना सांसदलाई घोचेर अनि कुटपिट गरेर मारेछन्।

सांसदसँगै रहेका अर्का एक जना व्यक्तिलाई पनि स्थानीयले कुटपिट गरेर घाइते बनाएछन्। तर, ती घाइते भएका पुरुषको ज्यान भने बाँचेछ। स्थानीयको आक्रमणमा परेर घाइते भएका ती पुरुष मानसिक रूपमा विच्छिप्त भएछन्।

ती पुरुषले धेरै जना मनोचिकित्सककहाँ गएर उपचार गराए पनि पूर्ण रूपमा समस्या ठिक भएनछ। पछि ती पुरुष पनि उपचारका लागि डा. सुदर्शनकहाँ पनि पुगेछन्।

उनले ती पुरुषको स्वास्थ्य अवस्थ हेरे। ती पुरुषमा हुलदङ्गा हुँदा मन आत्तिने, मार्न आउलान् की भनेर डराउने जस्ता समस्याका लक्षण थिए। डरले ती पुरुष घरबाट बाहिर निस्कन नमान्ने जस्ता लक्षण थिए। विच्छिप्त ती पुरुषले भक्तपुरको घर नै बेचेर काठमाडौंमा बस्न थालेछन्। अहिले पनि  काठमाडौंमा नै बस्ने र घरबाट बाहिर निस्कन रुचाउँदैनन्।

भक्तपुरमा पिटाइ खाएर ‘पोष्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर’को समस्या भएर विच्छिप्त बनेका ती पुरुषलाई डा. सुदर्शनले मानसिक स्वास्थ्यको सन्तुलनका लागि औषधि उपचार गरे। नियमित औषधि उपचारका लागि सुझाव दिए।

नियमित औषधि उपचारपछि समस्या ठिक हुँदै गएको थियो। केही वर्षअघिसम्म ती पुरुष फलोअपमा थिए। तर, अहिले करिब ७० हाराहारी उमेर पुगेका ती पुरुष भने फलोअपमा नरहेको डा. सुदर्शनले सुनाए। यसरी चोटपटकका कारण लामो समयसम्म मानसिक समस्या हुनसक्ने उनले सुनाए।

असुरक्षित यौन सम्पर्क गर्दा मानसिक रोग लागेर विच्छिप्त बनेका ती पुरुष
प्रसङ्ग करिब १५ वर्षअघिको हो। मानसिक समस्या भएका करिब ४० वर्षका पुरुषलाई परिवारले उपचारका लागि उनीकहाँ पुर्याए। डा. सुदर्शनले ती पुरुषको स्वास्थ्य अवस्था हेरे। ती विवाहित पुरुषको श्रीमती र बालबच्चा पनि थिए।

समयमा नै उपचार नपाउँदा ती पुरुषलाई कडा किसिमको मानसिक समस्या भइसकेको थियो। जसलाई चिकित्सकीय भाषामा ‘बाइपोलार डिसअर्डर’ भनिन्छ।

ती पुरुषमा ‘मै हुँ, म जस्तो ठूलो मान्छे को छ र?’ भन्ने घमण्ड गर्ने, निन्द्रा नलाग्ने, कसैले गाली गर्यो भने कुट्न जाइलागिहाल्ने जस्ता लक्षण थिए। ती पुरुषलाई देखिएका यी लक्षण ‘म्यानिया’ नामक रोगका हुन्।

उपचारमा लगेका ती पुरुषलाई अस्पताल भर्ना गरियो। डा. सुदर्शनले मानसिक समस्या हुनुको खारण खोतल्न थाले। बिरामीको ‘हिस्ट्री’ लिए। कारण खोज्दै जाँदा ती पुरुष एकभन्दा बढी महिलासँग असुरक्षित यौन सम्पर्क गरेको थाहा भयो।

असुरक्षित यौन सम्पर्कका कारण ती पुरुषलाई ‘न्यूरो सिफिलिस’ मानसिक रोगको समस्या भएको उनले पत्ता लगाए।

एक भन्दा धेरै महिलासँग असुरक्षित यौन सम्पर्क गरेका ती पुरुषलाई भिरिङ्गी (सिफिलिस) भएको रहेछ। यो असुरक्षित यौन सम्पर्कका कारण यौनाङ्गमा हुने यौनजन्य संक्रामक रोग हो। यो रोगको समस्या भएको अवस्थामा संक्रमणका कारण यौनाङ्गमा घाउ खटिरा देखा पर्छन्। समयमा नै उपचार नपाएको खण्डमा व्यक्तिको मृत्यु पनि हुनसक्छ। ती पुरुषले यस्तो यौनरोग लागे पनि उपचार गरेका रहेनछन्।

​​​​पत्ता लागाउँदै जाँदा, उपचार नपाएकाले ती पुरुषको भिरिङ्गीको समस्या मस्तिस्कसम्म पुगेको थाहा भयो। सोही समस्याका कारण उनलाई मानसिक समस्या भएछ।

समस्याको कारण पत्ता लगाएपछि उनले भिरिङ्गी र मानसिक दुवै समस्याको औषधि उपचार सुरू गरे। उपचार थालेपछि ती पुरुषको मानसिक समस्या ठिक हुँदै गयो। ती पुरुषले लामै समय औषधि सेवन गरे।

तर, केही वर्षअघि भने ती पुरुषको मृत्यु भएछ। आफूले उपचार गरेका ती पुरुषको मृत्यु भएको खबर सुन्दा डा. सुदर्शनलाई निक्कै दुःख लाग्यो।

त्यसैगरी विदेशमा काम गर्न गएका धेरै नेपालीहरू मानसिक समस्या भएर नेपाल फर्किने गरेको समेत उनले अनुभव सुनाए। विशेषगरी मलेसिया, दुबई, कतार, साउदी अरेबिया जस्ता मुलुकबाट फर्किएका धेरै मानसिक समस्या भएका नेपालीलाई उपचार गरेको उनले सुनाए।

भाषाको समस्या र डाक्टर बन्ने रहर
काठमाडौंको ठमेलस्थित भगवान बहालमा २०२२ मा जन्मिएका सुदर्शन नसिंह प्रधानलाई सानोमा विद्यालय जान मन लाग्दैनथ्यो। विद्यालय जान मन नलाग्नुको कारण चाहिँ ‘भाषा’ रहेछ।

उनलाई नेपाल भाषा (नेवारी) मात्रै बोल्न आउँथ्यो। नेपाली भाषा बोल्न नजान्दा उनलाई समस्या भयो। जेनतेन घर नजिकै रहेको लैनचौरस्थित हालको शान्ति विद्यागृहमा सुदर्शनले एक कक्षा मात्रै पढे। त्यसपछि उनले विद्यालयहरू परिवर्तन गर्दै ६ कक्षासम्म पढे। क्रमश: नेपाली भाषा सिक्दै गए।

अनि सात कक्षाबाट भने ललितपुरको मानभवनस्थित आदर्श विद्या मन्दिरमा भर्ना भएर पढ्न थाले। उनले त्यहीँबाट २०३७ मा प्रथम श्रेणीमा एसएलसी गरे भने त्रिचन्द्र कलेजबाट आइएस्सी गरे। त्यो बेला पञ्चायत विरुद्धको आन्दोलनका कारण बन्द हड्ताल भएर शैक्षिक संस्था समेत प्रभावित भए। हड्तालका कारण आइएस्सी अध्ययन सक्न उनलाई करिब चार वर्ष लाग्यो।

सुदर्शनलाई डाक्टर नै बन्ने रहर थियो। उनले त्यही अनुसारले नै तयारी गरे। अनि छनोट भएर तत्कालीन सोभियत संघको युक्रेनमा सन् १९८७ मा गएर एमडी अध्ययन गर्न थाले। भाषा अध्ययन सहित उनले सन् १९९४ मा सात वर्षे एमडी अध्यनन सकेर नेपाल फर्किए। रुसको एमडीलाई नेपालमा एमबीबीसरहको मान्यता दिइन्छ।

छनोटमा मानसिक स्वास्थ्य  र अनुसन्धानको नशा
नेपाल फर्किएपछि डा. सुदर्शनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मेडिकल अधिकृतका रूपमा करार जागिरे भएर काम गर्न थाले। त्यहाँ उनले मानसिक लगायत विभिन्न विभागमा करिब चार वर्ष काम गरे। त्यो बीचमा उनले अफ्रिकाको द्वन्द्व प्रभावित मुलुक ‘आंगोला’मा गएर करिब एक वर्ष काम गरे।

डा. सुदर्शनलाई थप अध्ययन गर्नु त छँदै थियो। तर, उनले इच्छा अनुसार नै चिकित्सा शास्त्रको स्नातकोत्तर तहको अध्ययनमा ‘मनोचिकित्सा’ विषय छनोट गरे। छनोट परीक्षा पार भएपछि उनले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा सन् १९९८ मा मानसिक स्वास्थ्य विषयमा एमडी अध्यन गर्न थाले।

सन् २००१ मा उनको तीन वर्षे एमडी अध्ययन पूरा भयो। त्रिवि शिक्षण अस्पतालमा मानसिक समस्या भएर आएका बिरामी औषधि उपचारपछि ठिक भएको देखेपछि नै यो विषय आफूल छनोट गरेको उनले अनुभव सुनाए।

एमडी अध्यययनपछि सन् २००१ बाट डा. सुदर्शन काठमाडौं विश्वविद्यालय अन्तर्गतको काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा लेक्चररका रूपमा काम गर्न थाले। त्यहाँ काम गर्दा उनी बढुवा हुँदै प्राध्यापक भए। मानसिक स्वास्थ्य विभागको प्रमुखको भूमिकामा रहेर समेत काम गरे।

काठमाडौं मेडिकल कलेजमा काम गर्दा चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउने र मानसिक समस्या भएका बिरामीको स्वास्थ्य परीक्षण तथा औषधि उपचार गर्नु डा. सुदर्शनका मुख्य काम भयो। त्यसैगरी चिकित्सा विज्ञानसँग सम्बन्धित वैज्ञानिक खोज तथा अनुसन्धान गर्नु उनको अर्को मुख्य काम हो।

अध्ययन तथा अनुसन्धानको नसामा डुबेका डा. सुदर्शनका ३० वटा भन्दा बढी अनुसन्धानात्मक आलेख विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरूमा उनले कार्यपत्र प्रस्तुत गरेको उनले अनुभव सुनाए। यो बीचमा उनी ‘साइकियाट्री एशोसियशन अफ नेपाल’ र ‘सार्क साइकियाट्री फेड्रेशन’को अध्यक्षको भूमिकामा रहेर समेत काम गरे।

त्यसैगरी विभिन्न ठाउँमा स्वास्थ्य शिविरमा गएर बिरामीको स्वास्थ्य परीक्षण तथा औषधि उपचार गर्न पनि मानोचिकित्सक डा. सदर्शन उत्तिकै सक्रिय छन्। उनी विभिन्न विद्यालय र कलेजमा गएर समेत मानसिक स्वास्थ्यका विषयमा तालिम र जनचेतना जगाउने काममा उनी सक्रिय छन्। उनले सन् २०२३ सम्म २२ वर्ष काठमाडौं मेडिकल कलेजमा काम गरे। त्यसपछि भने हाल उनी बीएण्डबी र पुनर्जिवन अस्पतालमा कार्यरत छन्।

अहिले पनि मानसिक समस्या भएका बिरामीलाई धामीझाँक्रीकहाँ लाने चलन कम नरहेको डा. सुदर्शनले अनुभव सुनाए।

आफैँले गरेको एक अनुसन्धानात्मक अध्ययन अनुसार मानसिक समस्या भएका ९५ प्रतिशतभन्दा बढी बिरामी मनोचिकित्सककहाँ पुग्नुअघि धामीझाँक्रीकहाँ पुग्ने गरेको पाइएको डा. सुदर्शनले सुनाए।

अध्ययन अनुसार मनोचिकित्सककहाँ उपचार गर्दा लाग्ने खर्च भन्दा धामीझाँक्रीकहाँ गएर उपचार गर्दा लागेको खर्च नै बढी देखिएको पाइएको उनले सुनाए। त्यतिमात्रै हैन अध्ययन अनुसार धामीझाँक्रीकहाँ गएपछि झन् मनोसमस्या भएका बिरामीले यातना समेत भोग्नुपरेको पाइएको छ।

तर, मानसिक समस्या भएका बिरामीको नियमित औषधि उपचार गर्दा पूर्ण रूपमा ठिक हुने भएकाले चिकित्सकसँगको परामर्शमा उपचार गर्न उनको सुझाव छ।

चैत १६, २०८१ शनिबार १४:३६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।