गृहमन्त्रीलाई प्रश्न- ‘पूर्वराजाको सुरक्षामा खटिएका सुरक्षाकर्मी हटाउन लागिएको हो?’

गृहमन्त्रीलाई प्रश्न- ‘पूर्वराजाको सुरक्षामा खटिएका सुरक्षाकर्मी हटाउन लागिएको हो?’
फाइल तस्बिर

काठमाडौं : गृहमन्त्री रमेश लेखकले सञ्चार गृहहरूलाई विशेष सुरक्षाको प्रबन्ध गरिने बताएका छन्।

शुक्रबार राजावादीहरूको प्रदर्शनमा क्रममा तीनकुनेमा हिंसा भड्किएपछि आज त्यस क्षेत्रको निरीक्षणमा गएका गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।

‘सञ्चार गृहहरूलाई विशेष सुरक्षाको प्रबन्ध गरिनेछ। नागरिकको जिउ र धनको सुरक्षा सरकारको पहिलो दायित्व हो। यसमा कुनै पनि सम्झौता हुँदैन। आपराधिक, अवान्छित र कानून विपरीतका गतिविधि क्षम्य र सह्य हुँदैन।’

यस्ता गतिविधिमा संलग्नलाई कारबाही गर्न आफूहरू कानून बमोजिम अघि बढ्ने उनको प्रतिबद्धता छ। त्यस क्रममा उनले कान्तिपुर टेलिभिजनको कार्यालयमा पुगेर नआत्तिकन निर्भिक भएर पत्रकारिता गर्न आग्रह गरे। सोही क्रममा उनले त्यहाँ रहेका पत्रकारहरूसँग केही अन्तर्क्रिया गरे।

सो क्रममा उनले घटनाको जिम्मेवारी कार्यक्रमको घोषणा र तेतृत्व गर्नेहरूले जिम्मेवारी लिनुपर्ने गृहमन्त्री लेखकले बताए।

‘उहाँहरूले हिजो आफ्नो मूल चरित्र देखाइहाल्नुभो त,’ उनले थपे, ‘यसअघि राजाले पहिला कू गर्दा सबैभन्दा पहिलो आक्रमण कान्तिपुरमा भाको हो, मलाई सम्झना छ।’

ज्ञानेन्द्र शाहसँग दुर्गा प्रसाईंले भेटेको भोलिपल्ट हिंसात्मक अवस्था आएपछि सरकारको अनुसन्धान शाहसम्म पुग्छ कि पुग्दैन भन्ने प्रश्नमा गृहमन्त्री लेखकले अनुसन्धानमा दोषी देखिए कारबाही हुने बताए।

‘हामीले अनुसन्धान प्रारम्भ गरेका छौँ। अनुसन्धान हुन्छ, छानबिन हुन्छ। यसले के-के देखाउँछ हामी त्यही ढंगले अघि बढ्छौँ।’

उनलाई ‘पूर्वराजा ज्ञानेन्द्रको सुरक्षामा खटिएका सुरक्षाकर्मी हटाउनेबारेमा छलफल गर्नुभयो, निर्णयमा पुग्नुभाकाे छैन हो?’ भन्ने प्रश्नमा मन्त्री लेखकले अहिलेसम्म कुनै निर्णयमा नपुगेको उनले बताए। अनुसन्धान र छानबिनका आधारमा थप निर्णय गर्ने उनको भनाइ छ।

चैत १६, २०८१ शनिबार १२:०५:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।