रवीन्द्र, धवल र स्वागतसहित राजसंस्था पक्षधरलाई तत्काल रिहा गर्न कमल थापाको माग

रवीन्द्र, धवल र स्वागतसहित राजसंस्था पक्षधरलाई तत्काल रिहा गर्न कमल थापाको माग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा राजसंस्था पक्षहरुलाई तत्काल रिहा गर्न माग गरेका छन्।

शनिबार विहान सामाजिक सञ्जालमार्फत उनले सामान्य झडपमा प्रहरीले अनावश्यक बल प्रयोग गर्दा हिजोको हिंसात्मक अवस्था उत्पन्न भएको भन्दै उनले राजसंस्था पक्षधर सबैलाई तत्काल रिहाइको माग गरेका हुन्।

हिजोको घटनामा भएको हिंसाको समर्थन गर्न नसकिने भन्दै प्रहरीले व्यक्तिको घरमा गएर कार्यक्रम सुरु हुनुअगावै मञ्चमा ताकेर अश्रुग्यास प्रहार गर्नु, संयमता र सतर्कता अपनाउनुले राजसंस्थाको आन्दोलन तुहाउन सरकारी तहबाट षडयन्त्र भएको आशंका समेत गरेका छन्।

शुक्रबार भएको हिसात्मक घटनार्ला आधार बनाएर देशमा कायम रहेको भ्रष्ट व्यवस्था र भ्रष्ट शासकका ज्यादतीलाई लुकाउन सकिन्छ भन्नेबारे कसैले नसोच्न समेत उनले चेतावनी दिएका छन्।

‘यही घटनालाई जोडेर राजा वा राजसंस्थासहितको प्रजातन्त्रको विचारलाई बदनाम गर्ने वा दमन गर्ने सोच राखियो भने त्यसले परिस्थिति झन् जटिल बनाउने छ,’ उनले भनेका छन्, ‘जनताको परिवर्तनको चाहनालाई सम्मान गर्दै वार्ताको माध्यमबाट सबै विचार र शक्ति अटाउने निकास खोज्न सबैलाई अपिल गर्दछु।’

अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षधरलाई विचलित नहुन आह्वान गर्दै हिजोको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जोड्नु अनुपयुक्त र अनावश्यक भएको समेत बताए।

चैत १६, २०८१ शनिबार ११:२३:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।