कोरिया र अफगानिस्तानबाट फर्किएपछि सामुहिक कृषि फार्म

धरान : वैदेशिक रोजगारीबाट फर्किएका यहाँको बराहक्षेत्र नगरपालिका-९ ढोलबजियाका तीन युवाले सामूहिक कृषि फार्म सञ्चालन गरेका छन्।
स्थानीय अमिर निरौला, रघुवीर चन्द्रवंशी र छविलाल चौधरीले सामूहिक कृषि फार्म सञ्चालन गरेका हुन्।
स्वदेशमै स्वरोजगार र आत्मनिर्भर बन्ने उद्देश्यले व्यवसायिक कृषि सुरू गरेका उनीहरूले विदेशमा कमाएको पैसा स्वदेशमै लगानी गरी आम्दानी लिइरहेका छन्।
अमिर र रघुवीर पाँच वर्ष दक्षिण कोरिया, छविलाल अफगानिस्तानमा काम गरेर फर्किएका हुन्। उनीहरू विदेशमा पनि कृषि क्षेत्रमै कार्यरत थिए।
विदेशमा सिकेको सीपलाई सदुपयोग गरी स्वदेशमै व्यवसाय सुरू गरेका तीन मध्येका एक अमिर निरौलाले बताए।
उनीहरूले २०७४ सालमा सुन्दर कृषि फार्म दर्ता गरेका थिए। सुरूमै आधुनिक प्रविधिको प्रयोग गरेर २० बिघा जमिनमा सागपात लगाएका थिए।
जैविक मलको प्रयोग गरी सागपात उत्पादन गरी राम्रो आम्दानी लिइरहेको निरौलाले बताए।
उनले भने, ‘सुरूआतमा छ लाखको लगानीमा डेढ बिघा जमिनबाट सुरु गरेको व्यवसाय अहिले बढेको छ। सुरुआती समयमा लगानी, जमिन र बजार पहुँचको समस्या भए पनि नगरपालिकाबाट सरकारी अनुदान र विभिन्न सङ्घसंस्थाबाट सहयोगका साथै डिजिटल मार्केटिङका कारण निकै सहज भएको छ।’
विदेशको अनुभव र सीपलाई स्वदेशमै सदुपयोग गर्नसके स्वदेशमै सम्भावना रहेको रघुवीर चन्द्रवंशी बताउँछन्। उनीहरूले चार बिघा क्षेत्रफलमा काँक्रा रोपेका छन् भने तीन बिघामा टमाटर, एक बिघामा क्याप्सिकम र बाँकी १२ बिघामा बोडी, करेला, लौका, घिरौला कोभीलगायत मौसम अनुसारका सागपात लगाएका छन्।
फार्म सञ्चालकमध्येका एक अमिर निरौलाले भने, ‘वर्षमा एक करोडको तरकारी बिक्री हुन्छ, तर सागपात खेतीमा प्रयोग गर्ने मल, कर्मचारीको तलब गरी वार्षिक ७० लाख रुपैयाँ जति खर्च हुँदा सबै खर्च कटाएर २० लाखदेखि ३० लाख रुपैयाँसम्म बचत हुन्छ।’
उनका अनुसार सञ्चालक बाहेक २० जनाले फार्ममा रोजगारी प्राप्त गरेका छन्। फार्मबाट सबैभन्दा धेरै काँक्रा र टमाटर उत्पादन हुने गरेको छ। उत्पादित वस्तु खरिद गर्न व्यापारी आफैँ फार्ममा आइपुग्छन्।
गत असोजमा आएको दुई दिनको बाढीले सात बिघा डुवान हुँदा ३५ लाख रुपैयाँ बढीको क्षति भएको उनीहरूले बताए। यहाँ उत्पादित धेरैजसो सागपात झापाको दमक बिक्रीका लागि व्यापारीले लैजाने गरेको सञ्चालकमध्येका छविलाल चौधरीले बताए।
बाँकी सागपात धरानको कृषि उपज, इटहरी, इनरुवा, धनकुटा बराहक्षेत्रलगायतका स्थानीय बजारमा बिक्रीका लागि लगिने गरिन्छ। कृषि पेसामा मेहेनत धेरै लागे पनि मौसम अनुसारको सागपात उत्पादन भइरहने भएकाले खासै घाटा नहुने उनीहरूले अनुभव छ।
नगरपालिकाले अनुदानमा ‘मिनी टिलर’ उपलब्ध गराएको छ। साथै मल बीउ अनुदान स्वरुप सहयोग गरेको छ। जसले गर्दा कृषि उत्पादनमा लागत घटाउन मदत पुगेको छ।
बराह क्षेत्रमा सिँचाइ सुविधा, मलको उपलब्धता लगायतले नगरभित्र सागसब्जीको उत्पादन धेरै हुने गरेको नगरप्रमुख रमेश कार्कीले बताए। बराहक्षेत्र नगरभित्रका करिब ७० प्रतिशत घरपरिवार सागपात खेतीमा आबद्ध छन्।
उनले भने, ‘बराहक्षेत्र नगरपालिका सागपात खेतीका लागि उर्वर, प्रख्यात मानिनुका साथै बजारीकरणको समस्या नभएकाले यहाँका कृषकको आकर्षण सागपात खेतीमा बढेको हो।’
प्रत्येक वर्ष नगरपालिकाले किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले जैविक सागपातखेतीमा अनुदान, पशुपालन गर्नेलाई लगानीमा सहयोग, सिंचाइ सुविधा र उत्पादित वस्तुको बजारीकरणमा सहजीकरण, प्राविधिक परामर्शलगायतमा सहयोग गर्दै आएको छ।
चैत १६, २०८१ शनिबार ०९:५३:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।