नेपाल सुपरलिग आजदेखि, ओपनिङ खेलअघि दुर्गेश थापाको प्रस्तुति

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करण आजदेखि दशरथ रङ्गशालामा सुरू हुँदैछ।
उद्घाटन खेलमा पहिलो संस्करणको च्याम्पियन काठमाडौं रेजर्स र साबिक विजेता ललितपुर सिटी एफसी भ्याली डर्बीमा भिड्ने छन्। खेल साँझ ६ बजे सुरु हुनेछ।
खेलअघि दुर्गेश थापाले सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ।
पछिल्लो संस्करणमा धनगढी एफसीलाई फाइनलमा हराएर ललितपुर च्याम्पियन बनेको थियो।
ललितपुरले यस पटक उपाधि रक्षा गर्ने अभियानमा इङ्ग्ल्यान्डका प्रशिक्षक सिमन ग्रे सनलाई अनुबन्ध गरेको छ।
लिड्स युनाइटेड जस्तो टिमलाई प्रशिक्षण दिइसकेका ग्रेसन केही समयअघि इन्डियन सुपर लिगमा बेङ्लुरु एफसीका प्रशिक्षक थिए।
प्रशिक्षक ग्रेसनले ललितपुरलाई पुनः च्याम्पियन बनाउने उद्देश्य लिएर करिब पाँच हजार माइलको यात्रा गरेर नेपाल आएको बताए।
साविक विजेता ललितपुर र पहिलो संस्करणकोविजेता काठमाडौं रेजर्सबिच अहिलेसम्म एनएसएलमा चार खेल भएका छन्। जसमा तीनमा काठमाडौं विजयी भएको थियो।
पहिलो संस्करणमा काठमाडौंले ललितपुरलाई दोस्रो क्वालिफायरमा हराएर फाइनलमा पुगेको थियो। त्यसपछि काठमाडौं च्याम्पियन बन्न पनि सफल भयो।
पछिल्लो संस्करणमा पनि काठमाडौंले समूह चरणको अन्तिम खेलमा ललितपुरलाई हराएर प्लेअफमा स्थान बनाएको हो। तर, ललितपुरले पछिल्लो संस्करणमा काठमाडौंलाई इलिमिनेटरबाट बिदा गरी बदला लिएको थियो।
चैत १६, २०८१ शनिबार ०८:२१:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।