हिंसा फैलाउने राजावादी खोज्न खटियो सादा पोसाकका प्रहरी, कोही ‘अरेस्ट’, कोही ‘हाउस अरेस्ट’

हिंसा फैलाउने राजावादी खोज्न खटियो सादा पोसाकका प्रहरी, कोही ‘अरेस्ट’, कोही ‘हाउस अरेस्ट’

काठमाडौँ : राजा फर्काउन नवराज सुवेदीको संयोजकत्वमा बनेको समितिमा रहेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ।

समितिले शुक्रवार गरेको प्रदर्शन हिंसात्मक भएपछि समितिमा रहेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिन थालेको हो। उनीहरूको खोजीमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट सादा पोसाकमा प्रहरी खटिएका छन्।

प्रहरी स्रोतका अनुसार समितिका संयोजक सुवेदीको उमेरका कारण उनलाई उनकै घरमा नजरबन्द राखिएको छ। उनी ८६ वर्षका छन्।

शुक्रवार तीनकुनेमा भेला भएर प्रदर्शनकारीहरूलाई उत्तेजित बनाउन संलग्न देखिएका राप्रपाका नेता समेत रहेका धवलशमशेर राणालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले राप्रपाका उपाध्यक्ष समेत रहेका रवीन्द्र मिश्रलाई समेत पक्राउ गरिसकेको छ। समितिका प्रवक्ता रहेका स्वागत नेपालसँगै सेफोर्ड लिम्बु र सन्तोष तामाङसमेत प्रहरी नियन्त्रणमा छन्। दुर्गा प्रसाईँ भने फेला परेका छैनन्।

समितिको निर्देशक समितिमा सुवेदीसँगै अस्मिता भण्डारी, कमल थापा, केशरबहादुर बिस्ट, दुर्गा प्रसाईं, पशुपति शमशेर राणा, प्रकाशचन्द लोहनी, रमा सिंह, रवीन्द्र मिश्र, राजेन्द्र लिङदेन र हरिबहादुर थापाको नाम छ। आन्दोलन परिचालन समितिको संयोजकमा धवल थिए।

उनीहरूले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पुन राजा बनाउनुपर्ने, हिन्दु राज्यको घोषणा गर्नुपर्ने लगायतका माग राख्दै शुक्रवार विरोध प्रदर्शन गर्दा हिंसा फैलिएको थियो।

व्यक्तिगत घर र सम्पत्तिमाथि आगजनी र तोडफोड गरेका प्रदर्शनकारीहरू लुटपाटमा समेत उत्रिएका थिए। प्रदर्शनमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारी मारिए भने प्रदर्शनकारीले घरमा लगाएको आगोमा परेर एक पत्रकारको मृत्यु भयो। झडपमा ३५ जना घाइते भए।

चैत १५, २०८१ शुक्रबार २३:५६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।